अमेरिकाको सिकागो सहरका मजदुरहरूले ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’को नारासहित सुरु गरेको आन्दोलन आज मई दिवसको रूपमा विश्वभरिका श्रमिकहरूले मनाउँदै आइरहेका छौं । कम्युनिष्ट घोषणापत्र लेख्दा कमरेड कार्ल माक्र्सले श्रमिकलाई ‘उत्पादनको साधन’को रूपमा प्रस्तुत गर्दै वितरणमा श्रमिकको हिस्सा सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
आज क्रान्तिकारी श्रमजीवी वर्गले आफ्नो हिस्सा प्राप्तिको लागि संघर्षकै रूपमा मई दिवसलाई स्मरण गर्दै आइरहेका छन् । नेपालको राजनीतिक परिवर्तनमा नेपाली श्रमिक वर्गले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । २००३ सालबाट संगठित रूपमा सुरु भएको नेपालको मजदुर आन्दोलन आज समाजवादी आन्दोलनमा परिणत हुँदैछ ।
खास गरी महान जनयुद्धको जगमा सञ्चालित २०६२–६३ को जनआन्दोलन पश्चात हाम्रो संगठन अखिल नेपाल ट्रेड यूनियन महासंघले उठाएका मुद्दाहरू नै आजको क्रान्तिकारी मजदुर आन्दोलनका प्रमुख मुद्दाहरू हुन् । मजदुरको संगठिन हुन पाउने, सामूहिक सौदावाजी गर्न पाउने, रोजगार सम्झौता, न्यूनत्तम वेतन लगायतको अधिकार, सुरक्षित कार्यस्थल, मर्यादित काम, योगदानमा आधारित सामाजिक सुरक्षा जस्ता विषयहरू आज नयाँ श्रम ऐनमा समेटिएका छन् ।
श्रम ऐनको दफ्फा १४५, १०९, ३९, ५२ लगातयतको केहि मजदुर विरोधी दफाहरू हटाउन, मुख्यत रूपान्तरित ठेकेदारीमा परिणत भएको आउट सोर्सिङलाई, खारेजी गर्न एउटा श्रमिकले कम्तिमा जीवन धान्न पुग्ने न्यूनत्तम वेतनको ग्यारेन्टी गरी मर्यादित जीवनको सुनिश्चित गर्न, स्वदेशमा नै श्रम गर्ने वातावरण सृजना गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन, सामाजिक सुरक्षालाई सहज, सरल र थप प्रभावकारी बनाउन स्वदेश तथा विदेशमा कार्यरत नेपाली श्रमिकहरूको बीचमा बलिदानको जगमा उभिएको अनुशासित, सुदृढ र जुझारु ट्रेड यूनियन अखिल नेपाल ट्रेड यूनियन महासंघ नै हो ।
आउनुहोस् ! अखिल नेपाल ट्रेड यूनियन महासंघको झण्डामूनि गोलबद्ध भई नेपालको क्रान्तिकारी ट्रेड यूनियन आन्दोलनलाई थप उचाईमा पुर्याउन महासंघमा आबद्ध राष्ट्रिय संघहरूका विभिन्न पेशाजन्य समस्याहरू छन् । सरकारी स्थायी र अस्थायी कर्मचारीका बीचमा निकै ठूलो विभेद छ ।
होटल रेष्टुरेण्ट क्षेत्रमा कार्यरत श्रमिकहरूले खाईपाई आएको १० प्रतिशत सेवा शुल्क खोसिएको छ । विभिन्न संघ संस्थाहरूमा आउटसोर्सिङ्ग मार्फत् कार्यरत श्रमिकहरूको कामको सुनिश्चितता र जागिरको निरन्तरतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ । निर्माण, यातायात, कृषि जस्ता असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरूको पहिचानकै समस्याहरू छन् ।
यसर्थ, यो भन्न सकिन्छ कि बदलिएको सन्दर्भमा नेपालको श्रम बजारमाथि निकै ठूला चुनौतीका बादलहरू मडारिएका छन् र ती चुनौतीलाई अवसरमा परिणत गरेर सुनौलो इतिहास रच्ने प्रेरणा हामीलाई मई दिवसको गर्विलो इतिहासले प्रदान गरेको छ । क्रान्तिकारी अभिवादन सहित १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना व्यक्त गर्दछु ।
…. जगत सिम्खड़ा
अध्यक्ष
अंटुफ़
Baishakh 17,2081
Be the first to comment