नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदश्य क. नरवहादुर कर्माचार्य
मेरा सहृदयी मित्र तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदश्य क. निरन्जन गोविन्द वैद्यको मिति २०६१ साल मंसीर २५ गतेका दिन बि. एण्ड बि.अस्पतालमा रक्त क्यान्सरको उपचारको क्रममा निधन भएको हो ।
यसबीचमा राजनीतिक रुपले देशमा एकपछि अर्को ऐतिहासिक परिवर्तनहरु भएको भए पनि वर्गविहीन समाजवादी समाज निर्माणको उहाँको लक्ष्य पूरा गर्न अझै बाँकी छ ।
किसान आन्दोलनको नेतृत्वगर्ने र किसानहरुको बीचमा जान हरहमेशा उत्सुक हुने स्वभाव नै वैद्यको मूल विशेषता थियो । कम्युनिष्ट पार्टीको स्थापना लगत्तै गठित अखिल नेपाल किसान संघको वैद्य महामन्त्री हुनुहुन्थ्यो, उहाँकै नेतृत्वमा ऐतिहासिक रौतहट किसान आन्दोलन भएको थियो ।
वैद्य पनि पाटनकै भएकोले उहाँसँग मेरो सम्बन्ध बच्चादेखि कै हो । उहां आर्थिक रुपमा साह्रै विपन्न परिवारको मान्छे हो । स्थानीय साहु सिद्धिगोपाल वैद्यकोमा उहाँ दिनको ६ पैसा लिएर पनि काम गर्नुहुन्थ्यो । पछि आन्दोलनमा पनि हामी सँगसँगै जसो सक्रिय भएका हौं । २००४ सालको नागरिक अधिकार आन्दोलन (सत्याग्रह) को नेतृत्व वैद्यले वीरगन्जमा गर्नुभएको थियो भने मैंले काठमाण्डौमा । त्यस क्रममा हामी दुवै पक्रियौं । वैद्यलाई त निकै दिन भोकभोकै राखेछन् ।
कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भमा पनि वैद्य वीरगन्जबाट कलकत्ता जानुभएको थियो । त्यस क्रममा उहां डा. केशरजंग रायमाझीसँग बस्नुहुन्थ्यो । त्यतिबेला रायमाझी क्याम्बेल अस्पतालमा एम.बी.बी.एस. पढ्दै हुनुहुन्थ्यो । म पनि राणा विरोधी आन्दोलनलाई सुदृढ गर्ने क्रममा भारत गएको थिएँ । यहाँ गोपाल रिमालको नेतृत्वमा जसमा म पनि थिएँ, संयुक्त रुपमा राणा विरोधी (प्रजा पंचायत) आन्दोलन चलेको थियो । तर कांग्रेस आफैंभित्र एकता नभएका कारण आन्दोलन सुदृढ हुन सकेको थिएन । कांग्रेसमा बी.पी. गुट, रेग्मी गुट र प्रजातान्त्रिक गुट थियो, त्यसलाई मिलाउने प्रयत्न हाम्रो थियो । त्यस कामका लागि बनारस, कलकत्ता र पटना मेरो ओहोरदोहोर भइरहयो । यद्यपि यस काममा पनि म पुष्पलाल श्रेष्ठकै सल्लाह अन्तर्गत लागेको थिएँ कामको रिपोर्टिङ्ग उहाँलाई गरिरहेको हुन्थेँ ।
त्यतिबेला पुष्पलाल र नारायणविलास जोशी त भूमिगत नै हुनुहुन्थ्यो । पुष्पलाल पहिलेदेखि नै कलकत्तामै रहनुहुन्थ्यो । नाराणविलास पनि भूमिगत रुपमै त्यहां पुग्नुभएको रहेछ । वैद्य र म पनि पुष्पलालको सम्पर्कमै थियौं । कम्युनिष्ट पार्टी गठन गर्ने उद्देश्य सहित कलकत्तामा भेला हुनुअघि मचाहिँ डिल्लीरमण रेग्मीकोमा अयोध्यामा थिएँ । मलाई पुष्पलालले त्यहीँ तार पठाउनुभयो र म कलकत्ता गएँ ।
कलकत्तामा हामी चारैजना जुट्यौं । वैद्य, म र नाराणविलास हामी तीन जना चाहिँ कम्युनिष्ट विचारधारासँग सम्बन्धित आधारभूत सैद्धान्तिक ज्ञान लिन थाल्यौ वंगालका एक क्रान्तिकारी नेता क. वेदी वाट । पुष्पलाल भने कलकत्तामै पनि भूमिगत हुनुहुन्थ्यो ।
यसपछि हामीले योजनाबद्ध रुपमै लेनिन दिवसको अवसर पारेर २२ अप्रिल १९४९ अर्थात् २००६ वैशाख ६ गते नविन सर्कारल्याण्डस्थित श्यामबजारको एउटा घरमा बसेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको घोषणा ग¥यौं । पुष्पलालले हातैले लेखेर घोषणापत्र प्रस्तुत गर्नुभयो, जसलाई पढेर हामीले पारित ग¥यौं । त्यही दिन हामीले राणा विरोधी पर्चा पनि पास ग¥यौं । यसरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । यद्यपि प्रजातन्त्र संघका नाममा १९९७ देखि नै कम्युनिष्टहरु संगठित हुने प्रक्रिया शुरु भईसकेको थियो ।
-Jaya Karki.
Be the first to comment