युवाहरुको कुरा गर्दा पारिजातको व्यक्तित्वको एक विशेष पाटो संझन्छु- डा.महेश मास्के

डा.महेश मास्केको स्वागत मन्तव्यः पारिजात स्मिृति सभा, २०७६
पच्चिसौ पारिजात स्मिृति सभा र पारिजात स्मृति केन्द्रका अध्यक्ष श्री रायन,  सम्मानित विशिष्ट व्यक्तित्वहरु श्री आनन्ददेव भट्ट, खगेन्द्र संग्रौला, सरिता महर्जन, र रामकृष्ण दुवाल, पारिजातका जीवन र कृतिबारे शोधग्रन्थ तयार गर्नुहुने सबै , प्रमुख अतिथी श्री रामेश पारिजात स्मृअनुसंधानकर्ताहरु कृष्णादेवी मास्के स्मृति गुठिका अध्यक्ष श्री चन्द्रा श्रेष्ठज्यु, डा. विन्दु शर्मा ज्यु, मञ्चमा र सभाकक्षमा उपस्थित सबै अग्रज महानुभावहरु, पत्रकार र युवा मित्रहरु महिला तथा सज्जनवृन्द!
हरेक बर्ष बैशाखको अन्तिम शनिवार आयोजित हुने पारिजात स्मृति सभाको कार्यक्रममा यहाँहरु सबैलाई म पारिजात स्मृति केन्द्रको तर्फबाट स्वागत गर्न चाहान्छु र यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक आभार व्यक्त गर्न चाहान्छु । पारिजात स्मृति केन्द्रले स्थापनाको २५ बर्ष पुरा गरी सम्पन्न गरेको यो २५सौं कार्यक्रम हो र यो विशेष अवसरमा मैले तपाईहरुको स्वागत गर्ने अवसर पाएकोमा अत्यन्त हर्षित र गौरववान्वित छु । मलाई आज अलिकति पारिजातको बारेमा पनि बोल्नु छ । तर मलाई वहाँको बारेमा बोल्न सधै एक किसिमको अप्ठेरो भई नै रहयो । अहिले पनि छ ।
आज म जे जस्तो बने र जुन जीवनमूल्यहरु अँगाल्न पुगें, त्यस्मा पारिजातको ठूलो योगदान छ । पारिजातप्रति म कृतज्ञ छु । अब यो कृतज्ञ मनले वहाँप्रति बस्तुगत दृष्टि पु¥याओस कसरी? तर मलाई लाग्छ यस्तै कठिनाई र उहपोह आज मञ्चमा आसिन कतिपय विशिष्ट व्यक्तित्वहरुलाई पनि छ । वहाँहरु पारिजातसगैं संघर्षका उकाली ओराली हिडनु भएको मात्रै होईन पारिजातको मृत्यु पश्चात वहाँका सपनाहरुको निरन्तरताको वाहक पनि हुनुहुन्छ । त्यसैले आज मलाई यस मञ्चमा ईतिहासको एउटा अंश सलबलाई रहेको पनि अनुभूति भैरहेको छ । र त्यसैले केही पुराना दिनहरुको सम्झनाबाटै स्वागत मन्तव्यको मूल दायित्व पुरा गर्न खोजेको छ ।
पारिजात वामपन्थि आन्दोलनमा उदाउनु भएको समय नेपाली समाजलाई पञ्चायतको त्रूmर पञ्जाले गाँजेको समय थियो । सत्ताका शक्तिशाली बौद्धिकहरु थिए, प्रतिस्पर्धि कांग्रेसका पनि एक से एक थिए । वामपन्थिहरुका औँलामा गन्न सकिने बौद्धिकहरुमध्ये दुईवटा भट्टहरु थिए । गोविन्ददेव भट्ट र आनन्ददेव भट्ट नाम उस्तै उस्तै । मलाई पहिला त वहाँहरु दाजु भाई हो कि भन्ने लागेको थियो । हैन रहेछ । वहाँकै उचाईका अन्य थुप्रै व्यक्तित्वहरु सत्ताको पुरो खान पुगिसकेका थिए वा लाखापाखा लागिसकेका थिए । त्यसैले पनि होला मैले दुवै भट्टसंग घनिष्ट भएर काम गर्ने मौका पाएँ । आनन्ददेव भट्टसंग त प्राध्यापक संघको चुनावमा पुरै नेपाल भ्रमण गर्ने अवसर पाएको छु । वहाँ अध्यक्ष र म महासचिव पदको उम्मेदवार । दांङ पुग्दा साथीहरुले कविगोष्ठीको पनि आयोजना गरेका रहेछन । त्यो विहान अचानक भट्टज्यू हराउनु भयो । हामी आत्तियांै । पछि भेटिनु भो । बन्द कोठामा लुकेर नयाँ कविता रचिरहनु भएको रहेछ गोष्ठीमा सुनाउन । त्यस्ता रमाईला मानिस, आफनो विचार र निष्ठामा अटल रहि एउटा युग आफुभित्र समाहित गर्नु भएको आनन्ददेव भट्टलाई सम्मान गर्न पाउँदा आज पारिजात स्मृति केन्द्र आफै पनि सम्मानित भएको अनुभव गरेको छु ।
तीसको दशकमा बामपन्थि आन्दोलनमा बौद्धिक साहित्यिक प्रतिभाहरुको खडेरी परेको बेला पारिजात निर्धक्क प्रगतिशिल साहित्यको कमान सम्हाल्न आईपुग्नु भएको थियो । त्यतिबेला खगेन्द्र संग्रौला, निनु चापागाई वा अन्य आजका स्थापित नामहरु यो उचाईमा पुगिसकेका थिएनन्् । मैले खगेन्द्रजीको पनि निकै संगत गरेको छु । वहाँ भन्ने गर्नुहुन्थ्यो, बुझनु भो मास्केजी, मान्छे चिन्नसंगै बसेर तीन पाथी नुन खानुपर्छ । अब तिन पाथी नुन खाने कसरी ? त्यसको अर्थ रहेछ धेरै पटकको उठबस खानपिनपछि मात्रै मान्छे चिनिन्छ । मलाई लाग्छ खगेन्द्रजी र मैले तीन पाथी नुन पचायौं होला, केही बर्षमात्रै भयो हाम्रो भेटघाट पातलिएको । त्यो अवधिमा वहाँको आलोचनाबाट शायदै कोही बचे होलान । तर पारिजातको बारेमा वहाँले सदैव अपार सम्मान र गर्वको साथ बोलेको मैले सुने । खगेन्द्र संग्रौलाको शिर निहुरिने, वहाँले मानेको सांस्कृतिक कमान्डर, एक मात्र व्यक्तित्व हुनुहुन्थ्यो । पारिजात । पारिजातप्रतिका वहाँका ति भावहरु आज एक अमर गीतमा परिणत भएको छ। जस्लाई हामीले आज पनि सुन्न पाउने छौं ।
न्यून चेतनास्तर भएको बामपन्थि आन्दोलले पारिजातको प्रतिभा र मूल्यको सहि उपयोग गर्न नसकेको दुखेसो संग्रौलाले आफनै शैलीमा गरेको पनि संझन्छु । भन्नुहुन्थ्यो, “गरिबको झुपडिमा एउटा सुनको डल्ला खस्यो, उस्ले अचम्म मानेर हे¥यो, सुन हो भनेर चिन्यो, कसैले खोस्ला भनेर डरायो र बडो जतनसाथ लुकायो।” पारिजात स्मिृति केन्द्रले पनि त्यस्तै गरेको होकी जस्तो लाग्छ । तथापि २५ बर्षसम्म संरक्षण गरेको जस त दिनुपर्छ केन्द्रलाई । तर आजका युवा पुस्ताहरु जो लाखांैको संख्यामा चेतनाको मशाल बाल्न थालेका छन, अप्ठेरा प्रश्नहरु सोधेर, आफना अभिव्यक्तिहरुलाई निशंकोच अभिव्यक्ति दिएर हज्जारौ बर्षदेखि हाम्रा दिमागमा जरा गाडेर बसेका रुढ संस्कारहरुको उछित्तो काढदैछन, उनिहरुले त्यो सुनमाथि दावि त गर्ने नै छन । राजतन्त्र फाल्दाका स्कुले केटा केटीहरु आज २५–३० बर्षका लक्का जवान भैसके । परिपाटी बदलियो तर मुद्धाहरु त पुरानै छ । पारिजातको खोजी त हुनुनै छ । त्यहि बोध गरेर होला पारिजात स्मृति केन्द्रले आगामी श्रावण महिनादेखि प्रत्येक महिना पारिजात परिसंवाद कार्यक्रम चलाउने निर्णय गरेको छ । त्यसको जिम्मा डा अरुणा उप्रेति र मैले पाएका छौ ।
युवाहरुको कुरा गर्दा पारिजातको व्यक्तित्वको एक विशेष पाटो संझन्छु । वहाँको सान्निध्यमा युवाहरुको व्यक्तित्वले प्रस्फुटन हुने अवसर र वातावरण पाउँथ्यो । युवाहरुले पारिजातमा एक समकक्षी भेटथे, एउटा यस्तो मित्र जोसंग संवाद गर्न सकिन्छ । पारिजातले एउटा पत्रमा मलाई भन्नु भएको छ ः म प्रतिभा खोज्ने, प्रतिभा बनउने, प्रतिभा स्विकार्ने र प्रतिभा पुजा गर्ने स्वास्निमान्छे हँ । पारिजातको यो उदघोषको सत्यता रामेश र रायनमा पनि त्यतिकै लागु हुन्छ भन्दा गल्ति हुदैन नै । वहाँहरुको प्रतिभा खाहार्नमा, स्याहार्नमा पारिजातको कस्तो भूमिका रहयो, त्यो वहाँहरुको संस्मरणले बोल्छ । वहाँहरुको बारेमा पारिजातले, परिहासमै सहि, बारम्बार मसंग दोह¥याउने गर्नु भएको एउटा कुरामा भने पारिजात गलत सावित हुनु भएको छ । यी दुई राल्फाली प्रतिभाहरु दुईवटा प्रतिस्पर्धी कम्युनिष्ट पार्टीका सांस्कृतिक मोर्चाका नेतृत्वदायी व्यक्ति भएर निस्के । वहाँहरुविच कडा प्रतिस्पर्धा थियो, बोलचाल पनि हुन्थ्यो हुन्नथ्यो । पारिजातले भन्नु भएको थियो हेर्नुहोला डा. महेश नेपालका कम्युनिष्ट पार्टीहरुको एकता भैसकेपछि पनि यीनिहरु एक ठाउँमा उभिने छैनन है । पारिजातको यो अनुमान गलत सावित भएक्रोमा मलाई अत्यन्त खुशी लागेको छ । पारिजात जीवित हुनु भएको भए वहाँ जति खुशी को हुनुहुन्थ्यो होला र ? प्रतिस्पर्धि पार्टीहरु एकहुनु धेरै अघि रायन र रामेश एउटै मञ्चमा उभिएर नागरिक आन्दोलनको नेतृत्व गरे र एउटा ईतिहास रचे ।
आज हाम्रै कैयन साथीहरु सत्तामा पुग्नुभएको छ तर पारिजातले संघर्ष गर्नु भएका मुद्धाहरु यथावत छन, झन भर्भराउँदा भएका छन । कतिलाई लागेको छ विरोध गर्नेहरु त्यसै विरोध गर्छन । कतिलाई लाग्दो हो; अब इतिहासले विश्राम लिनु पर्छ । तर त्यस्तो त हुदैन रहेछ। विमल निभाको कविताले भने झै यामान को भारी बोकेर इतिहास त हिडिरहँदो रहेछ लुखुर लुखुर । हाम्रै देशमा हिंडेछ ,सात साल, सत्र साल, छत्तिस साल, छयालिस साल र त्रिसठ्ठी साल । फेरि अर्को त्यस्तै सालहरु नआउलान भनेर कस्ले भन्न सक्छ? इतिहासले त भविष्यको बाटो खोज्दो रहेछ । बाटो बनाउँदो रहेछ ।
शुन्यवादी चिन्तनबाट बाहिर निस्केर पारिजातले त्यस्तै अविरल यात्राको बाटोको निर्माणमा योगदान दिनु भयो । २२ बर्ष अघि भीष्म उप्रेतीको कविता पढेको थिएँ । त्यतिबेला मलाई लागेको थियो वहाँको जीवन यात्रा र सपना झल्कने यो कविता पारिजातले पो लेखेको हो की । त्यहि कविताबाट यहाँहरुलाई पुनः स्वागत गर्दै आजको मेरो मन्तव्य यहिँ टुंग्याउँदछु ।
बाटो
मैले घनघोर शुन्यलाई फोरेँ
र कोरँे
सुदूुरसम्म तन्केको हरियो योजना ।
म बाटो बनाउँन चाहान्थे
दुःखको मूलसम्म पुग्ने बाटो
भीरै भीर, जंगलै जंगल, कालो सुरुङ छेडेर ।
झम्पलहरुको आवाज गुञ्जियो
सावेल गुञ्जियो मेरो तन्मयको स्वर गुञ्जियो
र सिंगो गीत बन्यो, सिर्जना बन्यो
शुन्य फुटाउँदाको आवाज
त्यो चाँही संगित बन्यो ।
काला दाँतहरु भाँचिन थाले
अवरोधका कुरुपताह नाङ्गिदै गए
त्रासद कम्पनहरु हराउँदै गए
र बादल फाटदै गयो ।
यो बाटोमा सबभन्दा पहिले हिँडनेछ पसिना
त्यसपछि घाम,
र त्यसपछि चाहनाका लस्करहरु ।
पक्कै पनि यीनिहरु
गुलाफी पहिरनमा हुनेछन
या हरियो र नीलोको संमिश्रणमा ।
शुन्यताको ओडारले
निल्न सक्ने छैन यसलाई
न बाटो खोज्नमै अल्मलिने छ व्यर्थ समय
बाटोलाई थाहा छ पुग्नु पर्ने ठाँउ
र हस्तक्षेप गर्नुपर्ने स्थानहरु ।
त्यस पछि एकदिन
सुनौलो घोडा चढेर
आउनेछ मुक्ति ओजस्वी
यसरी बाटो मृदु कामनाको प्रदेशमा पुग्नेछ
र दिवस बन्नेछ ।
मैले घनघोर शुन्यलाई फोरे
र कोरे सुदूरसम्म तन्केको हरियो योजना ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*