
यहि असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण बागमती, मधेश र कोशी प्रदेशका पहाडी भेगमा पहिरो खस्ने तथा तराई क्षेत्रमा डुबानको समस्या तीव्र रूपमा बढ्ने देखिएको छ। आज (शनिवार) सम्म कतिपय स्थानमा वर्षाको मापन ३०० मिलिमिटरभन्दा बढी पुगेको छ, र यो क्रम अझै जारी रहने अनुमान गरिएको छ। यी चार दिनको वर्षा सामान्य नभई उच्च जोखिम बढाउने प्रकृतिको भएको देखिन्छ।
कतिपय नदीले खतराको रेखा पार गरिसकेका छन्। लगातार पानी परिरहेकाले पहिरो र बाढीको जोखिम अझ गहिरिँदै गएको छ। यस अवस्थामा म माओवादी केन्द्रका सम्पूर्ण नेता–कार्यकर्तालाई विपद् प्रभावित जनसमुदायको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन गर्दछु।
यतिखेर पार्टीको सहायक संगठन युवा कम्युनिष्ट लिग (YCL) का हजारौं कार्यकर्ता विपद प्रतिकार्यमा खटिएका छन् । म पार्टीका अन्य सबै तहहरू, विपद् व्यवस्थापन विभाग, स्वयम्सेवक समूह तथा भातृ–सहयोगी संगठनहरूलाई समेत खोज, उद्धार र राहतका काममा तत्काल जुट्न विशेष आह्वान गर्दछु। अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा हजारौं यात्रु बाटोमै अलपत्र परेका छन्। उनीहरूको खानबस्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय तहका जिम्मेवार निकायहरू र आम नागरिकलाई समेत सहयोगको आग्रह गर्दछु।
मुलुकले सामना गरिरहेको यो विशेष विपद्–परिस्थितिमा संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले युद्धस्तरमा समन्वय र नेतृत्व गर्न विशेष अनुरोध गर्दछु। साथै, सबै राजनीतिक दलहरू, सामाजिक संघ–संस्था तथा नागरिक समाजले आपसी मतभेद बिर्सेर एकताबद्ध भएर उद्धार र राहतका कार्यमा जुट्न पनि हार्दिक अपिल गर्दछु।
Be the first to comment