अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना- अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आठ घण्टा कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदूरहरुले गरेको संघर्षलाई स्मरण गर्दै नेपाल लगायत विश्वभरका मजदूरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन । अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस ऐतिहासिक दिनमा म नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गर्दछु ।
नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन् । किसान, मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम छ । सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको ऐतिहासिक कार्यभार हो ।
आज भ्रष्टाचार, बेथिति, अनियमितता, बिचौलिया र दलाल पुँजीवादसँग निरन्तर संघर्ष गर्नुपरिरहेको अवस्था छ । यो सन्दर्भमा निरन्तर श्रमजीवी वर्गको नेतृत्वदायी प्रतिनिधित्व गर्दै सबै खाले बेथितिका विरुद्ध संघर्ष गर्दै निरन्तर अघि बढ्नु हाम्रो आधारभूत कार्यभार हो । अहिले एकातिर प्रतिगामी तत्वहरुसँग संघर्ष गर्नुपर्ने अवस्था छ भने अर्कोतिर यथास्थितिवादका विरुद्ध श्रमजीवी वर्ग आफ्नो मौलिक पहिचानसहित अघि बढ्नुपर्ने आवश्यकता छ ।
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्ठताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो । बदलिएको राजनीतिक परिवर्तनअनुरुप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रुपमा समर्पित बनौं । यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौं । यही नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सच्चाई हुनेछ ।
अन्त्यमा, पुनः अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा शुभकामना व्यक्त गर्दछु ।
१८ वैशाख, २०८२ (१ मई २०२५)
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*