नेपाली कम्युनिष्ट पार्टी पहिलो शक्ति बन्छ नेता सापकोटा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै सरोकारवाला पक्षसँग आग्रह गरेको छ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपा निर्वाचन परिचालन समितिले देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न र राष्ट्रिय एकता सुदृढ गर्न निर्वाचनको विशेष महत्त्व रहेको औंल्याएको हो।

निर्वाचन प्रचार समितिका संयोजक अग्निप्रसाद सापकोटाले सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगलाई उच्चतम इमानदारी र जिम्मेवारी प्रदर्शन गर्न आह्वान गरे। सबै पक्षको सामूहिक प्रयासले नै मुलुक निर्वाचनको निर्णायक मोडमा आइपुगेको उल्लेख गर्दै उनले नेकपाप्रति जनताको विश्वास र भरोसा चुलिँदै गएको बताए ।

देशलाई सही दिशामा नेतृत्व दिन सक्ने एक मात्र सक्षम शक्ति नेकपा भएको दाबी गर्दै सापकोटाले पछिल्ला रिपोर्टहरूका आधारमा आफ्नो पार्टी निर्वाचनमा पहिलो बन्ने स्पष्ट रहेको बताए।

यसैक्रममा नेकपाले निर्वाचन आचारसंहिता उल्लंघनका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केही सीमित सञ्चारमाध्यमहरूले पत्रकारिताको न्यूनतम मर्यादा र आचारसंहिता विपरीत भ्रामक सूचना फैलाएर पार्टीलाई अवमूल्यन गर्न खोजेको आरोप नेकपाले लगाएको छ। नेता सापकोटाले निर्वाचनको गरिमामा आँच नआउने गरी समाचार प्रशारण तथा प्रकाशन गर्न पनि आम सञ्चार माध्याम नचुक्ने विश्वास समेत व्यक्त गरे ।

उनले भने , ‘नेपाली प्रेसले परिवर्तनको पक्षमा योगदान दिँदै आएको र त्यसलाई अझ सशक्त ढंगले अघि बढाउने कुरामा मैले जोड दिन चाहेको छु । आज विहानको समेत रिर्पोट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ ।

नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आईराखेको छ देशभरीबाट ।’

निर्वाचन विथोल्न चाहने शक्तिहरू अझै सक्रिय रहेकाले तोकिएको समयमै सफलतापूर्वक चुनाव गराउन निर्वाचन आयोगले प्रभावकारी भूमिका खेल्नुपर्नेमा सापकोटाले जोड दिए।

नेकपाले मतदाताहरूलाई राजनीतिक दलहरूको विगत र वर्तमानको भूमिका, विचारधारा र एजेन्डाको गहिरो मूल्यांकन गर्न समेत अनुरोध गरेको छ। इतिहासका उपलब्धिहरूको रक्षा गर्दै परिवर्तन, स्थायित्व र समृद्धिको पक्षमा उभिन र विवेकपूर्ण निर्णय लिन नेकपाले आम नागरिकसँग अपिल गरेको छ।

नेता सापकोटाले निर्वाचनमा आचारसंहिता कार्यान्वयनको विषयमा गम्भिर हुन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराए।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*