आशिका तामाङ ले भनेको ‘धरपकड’ घटना के हो ?
धादिङ । धादिङ–१ की उम्मेदवार आशिका तामाङ ले आफ्ना कार्यकर्तामाथि धरपकड भएको तथा गाडीमाथि आक्रमण भएको आरोप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि उक्त घटनाबारे विभिन्न टिकाटिप्पणी सुरु भएको छ।
सो विषयमा जानकारी दिँदै सञ्चारकर्मी विवेक अर्याल ले घटनाको वास्तविकता फरक रहेको बताएका छन्। उनका अनुसार नेकपाका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे केवलपुर क्षेत्रमा घरदैलो कार्यक्रम सकेर फर्कँदै थिए भने आशिका तामाङ आफ्नो समूहसहित केवलपुरतर्फ जाँदै थिइन्।
यस क्रममा फोकटपुर भन्ने स्थानमा दुवै पक्षको जम्का भेट भएको थियो। सडक साँघुरो भएका कारण आशिका समर्थकको गाडी बाटोमै फसेको बताइएको छ।
घटनास्थलमा रहेका नेकपा कार्यकर्ताहरूले मोटरसाइकलबाट ओर्लेर फसेको गाडी धकेलेर निकाल्न सहयोग गरेको बताइएको छ। सो क्रममा दुवै पक्षका समर्थकहरूले आ–आफ्नो चुनाव चिह्नको नारा लगाएका थिए।
उक्त घटनाका क्रममा उम्मेदवार पाण्डे गाडीबाट ओर्लेर आशिका समूहलाई शुभकामना दिँदै सहानुभूति व्यक्त गरेको भिडियोसमेत देखिएको बताइएको छ।
उम्मेदवार पाण्डेका अनुसार घटनास्थलमा कुनै झडप वा धरपकड नभएको र फसेको गाडी निकाल्न सहयोग मात्र गरिएको हो।
“हामी संयमित छौं, त्यहाँ केही भएको थिएन। फसेको गाडी साथीहरूले धकेलेर निकालिदिएका हुन्। आशिका जीले किन मिडिया ट्रायल गर्दै हुनुहुन्छ भन्नेमा म अचम्ममा परेको छु,” पाण्डेको भनाइ उद्धृत गरिएको छ।


Be the first to comment