- को हुन् भक्तपुर १ का उम्मेदवार हरिराम लवजूू ?
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टी भक्तपुर क्षेत्र नं. १ ले आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनलाई लक्षित गर्दै आफ्नो औपचारिक प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टीबाट प्रत्यक्ष तर्फका उम्मेदवार हरिराम लवजूले प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
पार्टीले देशमा विकसित पछिल्लो राजनीतिक परिस्थितिका कारण २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै हुन लागेको उल्लेख गर्दै वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गरेको हो । पार्टीले जारी गरेको वक्तव्यमा नेकपा एमाले र नेपाली कांग्रेस को दुई तिहाइको गठबन्धन सरकारको “खराब कर्म, दम्भ, अहङ्कार र असक्षमता” का कारण जनस्तरमा तीव्र असन्तुष्टि र आक्रोश बढेको दाबी गरिएको छ ।
वक्तव्य अनुसार गत भदौ २३ गते नवयुवा (जेन–जी) पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल फुकुवा तथा राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायतका मागसहित सडक आन्दोलन गरेको उल्लेख गरिएको छ । समयमै वार्ता–संवादमार्फत निकास दिन नसक्दा भदौ २३ र २४ गतेका घटनामा ७६ जना युवाले ज्यान गुमाउनुपरेको तथा सयौँ घाइते भएको दाबी पार्टीले गरेको छ ।
यस घटनापछि जनआक्रोश चुलिएको र उक्त आक्रोशलाई “मलिन तत्वहरूले हिंसात्मक रूप दिँदै” सिंहदरबार, सर्वोच्च अदालत तथा संसद भवन लगायतका राज्यका महत्वपूर्ण संरचनामा क्षति पु¥याएको आरोप पनि वक्तव्यमा उल्लेख गरिएको छ । निजी क्षेत्रले अरबौँको नोक्सानी व्यहोर्नुपरेको र राज्यविहीनताको अवस्था सिर्जना भएको दाबी समेत गरिएको छ । पार्टीले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी तथा जनजाति आन्दोलन र नवयुवा आन्दोलनका क्रममा शहिद भएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ती आन्दोलनमार्फत उठाइएका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको मार्ग हुँदै समाजवादतर्फ देशलाई अग्रसर गराउने सङ्कल्पसहित प्रस्तुत प्रतिबद्धता पत्रलाई आगामी निर्वाचनको मुख्य राजनीतिक एजेन्डा बनाइने नेकपा भक्तपुर – १ ले जनाएको छ ।
को हुन् भक्तपुर १ का उम्मेदवार हरिराम लवजूू ?
नेपाली कम्युनिस्ट पार्टी भक्तपुर क्षेत्र नम्बर १ का उम्मेदवार हरिराम लवजूको जन्म २०३० साल मंसिर १८ गते भक्तपुर नगरपालिकाको वडा नं. ३, तचपाल टोल, दत्तात्रयमा भएको थियो । लवजू पिता रामभक्त लवजू र माता नानी कुमारी लवजूका सुपुत्र हुन् । उनी बाल्यकालदेखि नै समाजप्रति जिम्मेवार र न्यायप्रेमी स्वभावका थिए ।
कानुन, मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा तीन दशकभन्दा लामो योगदान दिएका अधिवक्ता लवजू जनआन्दोलनका घाइतेदेखि समाज परिवर्तनका सचेत अभियन्तासम्मको यात्रामा खारिएका व्यक्तित्व मानिन्छन् । लवजूले कानुन शास्त्रमा स्नातकोत्तर (मानव अधिकार र लैंगिक न्याय) काठमाडौं स्कुल अफ लबाट तथा राजनीति शास्त्रमा स्नातकोत्तर (अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध) उपाधि हासिल गरेका छन् ।
लवजू नेपाल बार काउन्सिलको पाँचौँ परीक्षामा उनी देशका १० उत्कृष्टमध्ये तेस्रो हुन सफल भएका थिए साथै, राष्ट्रिय न्याय प्रतिष्ठानबाट उनले ४८ घण्टे प्रशिक्षक प्रशिक्षण तालिम र भारतको बैंगलोरबाट मानव अधिकार तथा शरणार्थीसम्बन्धी सार्क तथा राष्ट्रस्तरीय अन्तर्राष्ट्रिय कोर्ससमेत गरेका छन् ।
विगत २६ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न लवजूले करिब १० वर्ष प्राध्यापन पनि गरेका छन् । उनले बिबिएस दोस्रो वर्षमा वाणिज्य कानुन तथा बिएड तेस्रो वर्ष र एमएड दोस्रो वर्षमा सामाजिक न्याय र शिक्षा विषय प्राध्यापन गरेका थिए ।
कानुन र शैक्षिक क्षेत्र संगै लवजूको सरकारी क्षेत्रमा समेत अनुभव रहेको पाईन्छ उनी पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा स्व. पोष्ट बहादुर बोगटी र रामकुमार श्रेष्ठ मन्त्री रहँदा करिब २२ महिना कानुनी सल्लाहकारको रुपमा रहेका थिए ।
लवजूको राजनीतिक यात्रा पनि निकै संघर्षमय देखिन्छ २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनमा नेपाल बन्दको जुलुसमा सहभागी हुँदा २०४६ फागुन ८ गते उनी गोली लागी गम्भीर घाइते भएका थिए त्यसपछि उपचारकै क्रममा उनलाई प्रहरीले पक्राउ गरि सार्वजनिक अपराध मुद्दामा ३४ दिन प्रहरी हिरासत र झण्डै एक महिना केन्द्रीय कारागारमा राजबन्दीका रूपमा राखिएको थियो । पछि सरकारले मुद्दा फिर्ता लिएपछि उनी जेलमुक्त भएका थिए ।
त्यसपछि २०५२ सालदेखि मानव अधिकार, लैंगिक न्याय र नागरिक सहभागितामा निरन्तर सक्रिय लवजूले नेपाल मानव अधिकार संगठन र राष्ट्रिय मानव अधिकार आयोगमार्फत देशका विभिन्न जिल्लामा अनुगमन गर्दै पीडितका पक्षमा आवाज उठाएका थिए । त्यस्तै २०६३ सालमा उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सदस्यता लिई हाल उनी पार्टीको बागमती प्रदेश समिति सदस्य रहदै आएका छन् । साथै, प्रगतिशील कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य तथा पार्टी पेशागत संगठनका जिल्ला कमिटी सदस्य रहिसकेका छन् । साथै लवजू नेपाल बार एसोसिएसन, मानव अधिकारसम्बन्धी संस्थाहरू, सिद्धि स्मृति प्रतिष्ठान, सहकारी संस्थाहरू र नेपाल रेडक्रस सोसाइटीमा आबद्ध छन् ।


Be the first to comment