जर्मन कवि बेर्टोल्ट ब्रेष्टको कविता

अनुबाद: मुकेश कुमार चालीसे

एक मजदुरले चिकित्सकलाई लेखेको चिट्ठी
हामीलाई थहा छ आफ्नो बिरामीको कारण
त्यो एउटा ससानो खालको शव्द हो
जसलाई सबैले जान्दछन्
तर कसैले भन्दैनन्
जब हामी बिरामी हुन्छौँ
त्यसबेला भन्ने गरिन्छ
सिर्फ तिम्लेमात्र हाम्लाई बचाउन सक्छौ
जनतामाथि थोपरिएका करको रकमले बनेका
टूल्ठूला चिकित्सा शास्त्रका बिद्यालयमा
एकदम धेरै रुपियाँ खर्च गरेर
छदेखि दस वर्षसम्म
चिकित्सा बिज्ञानको शिक्षा पाएका छौ तिमीहरूले
त्यसैले तिमीहरूले
हाम्लाई अवश्य निको पार्न सक्छौ ।
के साञ्च्चीकै हाम्लाई निरोगी
तुल्याउन सक्छौ त !
तिमीहरूलाई भेट्न आउँदाको बखत
शरीरमा बाँकीरहेको फाटेटालेको लुगा पन्छाएर
कानमा पर्ने गरी सुन्छौ तिमीहरू
हाम्रा नाङ्गा ज्यानका आवाजहरू
अनि खोज्छौ शरीर भित्र रोगका कारण
तर यदी
तिम्रो दृष्टि शरीरमा झुण्डिएका भ्वाङप्वालमा परे भने
शायद तिन्ले पो तिम्लाई धेरै कारण भन्न सक्लान्
किन झुत्रा–झाम्रा बन्छन्
हाम्रा शरीर र लुगाहरू
दुबैको एउटैमात्र कारण छ
त्यो एक ससानो शव्द नै हो
त्यस्लाई सबैले जान्दछन्
तर भन्न कोही अघि सर्दैनन् ।
तिमी भन्छौ काँधमा उठेको जुरो र टेढोपन प्रष्ट देखिन्छ
कुपोषण र सेपीलो ठाउँले गर्दा हो
डाक्साब हजुर,
तिमी नै भनत् त्यो अङ्ग किन त्यस्तो भो ?
दिनरात घोटिएर पेटपाल्न धेरै काम गर्नै परेर
र बहुत कम खानाले गर्दा
हाम्लाई दुब्लो पातलो बनाइदिएको छ
तर तिम्ले हाम्लाई दिने पर्चामा लेख्छौ
“शारीरिक तौल थप बढाउनु” पुगेन
त्यो भनेको त यस्तो लाग्छ हाम्लाई
दबदबे सिमसारको घाँसलाई
सुकेर खङ्ग्रङ्ग भएस् भन्ने आसिष जस्तै भएन र ।
डाक्साब हजुर,
हामी जस्ता तन्नमलाई जाँच्नका लागि
तिम्ले कति समय दिने सोचेका होलाउ ?
हामीलाई थहा छैन र
तिम्रा घरका भूइँमा ओछ्याउने एउटा गलैँचाको मूल्य
पाँच हजार हामीजस्ता बिरामीको फिस बराबर होला
हो, तिम्ले निर्धक्क भन्न सक्छौ होला
यस्तो हुनुमा आफ्नो दोष रत्ती छैन्
हाम्रा घरका भित्तामा
टाँसिएका झालापाताले पनि
यही कथा दोहो¥याई दोहो¥याई भन्छन्
तर हाम्लाई थहा छ हाम्रा रोगका कारणहरू
त्यो एउटा ससानो जस्तो शव्द हो
त्यस्लाई सबैले जान्दछन्
तर कसैले भन्न अघि सर्दैनन्
त्यो हो “गरीबी”

(मजदूर बिगुल, मे २०२१बाट अनुदित)

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*