मसँग विकास निर्माणको अनुभव छ, कानुन बनाएको अनुभव छ-रेणु दाहाल

चितवन : नेपाली कम्युनिष्ट पार्टीबाट चितवन–३ का प्रतिनिधिसभा उम्मेदवार रेणु दाहालले आफू विकास निर्माण, कानुन निर्माण र संविधान कार्यान्वयनको अनुभव भएको योग्य उम्मेदवार भएको जिकिर गर्नुभएको छ ।

भरतपुर-२६, ज्योतिनगरमा चुनाबी घरदैलो कार्यक्रममा बोल्दै नेतृ दाहालले आफ्नो काम र व्यवहारले नै योग्यताको प्रमाण दिएको बताउनुभयो । दाहालले भन्नुभयो, “मसँग विकास निर्माणको अनुभव छ, कानुन बनाएको अनुभव छ, संविधान बनाउने र त्यसको सही कार्यान्वयन गरेको अनुभव पनि छ । त्यसैले म क्षेत्र नं. ३ का लागि सबैभन्दा योग्य उम्मेदवार हुँ भन्ने मेरो दाबी हो ।”

उहाँले आफूले जनताको पक्षमा इमान्दारीपूर्वक काम गरेको र कहिल्यै राष्ट्रघात वा जनहितविपरीतका काम नगरेको स्पष्ट पार्नुभयो । उहाँले आफूविरुद्ध भ्रष्टाचार, बेथिति वा कमिसनको आरोप लगाउन नसकिने दाबी गर्दै भन्नुभयो, “हाम्रा विरोधीहरूले पनि एक शब्द ‘कमिसन’को ‘क’ समेत आरोप लगाउन सक्ने अवस्था छैन ।” जनताको सुख-दुःखमा साथ दिँदै सेवकका रूपमा काम गरेको उहाँको भनाइ थियो ।

दाहालले विगतमा आफूलाई ‘प्रचण्डको छोरी’ भनेर अवमूल्यन गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै अहिले त्यो अवस्था परिवर्तन भएको बताउनुभयो । संघीय संसदमा निर्वाचित भएमा आफ्नो जवाफ भाषणबाट होइन, कामबाट दिने प्रतिज्ञा गर्दै दाहालले जनताको समर्थन र मतबाट राष्ट्रिय राजनीतिमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*