
समता, स्वतन्त्रता र उत्पीडनबाट मुक्तिको आकांक्षासहित सुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको सम्मानस्वरूप प्रत्येक वर्ष ८ मार्चमा मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आठ मार्च समानताको अधिकारका लागि संघर्षको मोर्चामा होमिएका विश्वभरिका महिलाका लागि गौरव र प्रेरणाको दिन हो । यो दिनले आधा आकाश ओगटेका महिलालाई पुरुषसरह हरेक तहमा समान सहभागिता, स्वामित्व र सम्मानका लागि प्रेरित गर्दै आएको छ । साँचो अर्थमा महिलाहरुको मुक्ति र समानताका लागि राज्यसत्ताका हरेक तहमा जनसंख्याका आधारमा प्रतिनिधित्व तथा श्रोत र साधनमा समेत उनीहरुको स्वामित्व सुनिश्चित भएमा मात्रै सम्भव छ । यही मान्यताका आधारमा नेपालमा समेत महिलाले आन्दोलन गर्दै आएको र ऐतिहासिक संघर्षको जगमा निर्मित संविधानले महिला अधिकारलाई सुनिश्चित गर्दै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अंगहरूमा समानुपातिक प्रतिनिधित्व स्थापित गरेको छ । यद्यपि व्यवहारतः महिलामाथिको हिंसा, विभेद, दमन अझै अन्त्य हुन सकेको छैन ।
राजनीतिक अधिकार प्राप्त भए पनि आर्थिकरुपमा समानता कायम नभएसम्म र उत्पादनका सबैखाले साधनमाथि महिलाहरुको स्वामित्व सुनिश्चित नहुँदासम्म वास्तविक अर्थमा महिला मुक्ति सम्भव छैन । त्यसैले महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन र जनसंख्याका आधारमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै आर्थिकरुपमा समेत अधिकार प्राप्तिका लागि अघि बढ्न म सबैमा आह्वान गर्दछु ।
हाम्रो पार्टी सुशासन, सामाजिक न्याय र समृद्धि हासि गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्ने बाटोमा अघि बढिरहेको छ । हामी यतिबेला जनतासँग माओवादी, तराई मधेस जागरण अभियानमा छौं । यो अभियानले महिला लगायत आम उत्पीडित वर्ग र समुदायका संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न थप जागरुक, संगठित र आन्दोलित गर्ने हाम्रो विश्वास छ ।
अन्त्यमा, ८ मार्चले महिलामाथि भइरहेका संरचनात्मक हिंसा, दमन, शोषण र विभेदको अन्त्यका लागि प्राप्त अधिकारको कार्यान्वयनतर्फ सचेत र संगठितरुपमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।
२४ फागुन, २०८१
पुष्पकमल दाहाल “प्रचण्ड”
अध्यक्ष
नेकपा माओवादी केन्द्र, केन्द्रीय कार्यालय
Be the first to comment