पहिलो साहित्यिक अभिव्यक्ति –पारिजात

अब म कविता लेख्छु भनेर मैले कविता कहिल्यै लेखिन । मनोभावनालाई बाध्ये भएर अभिव्यक्त गर्न परेपछि मैले कविता लेखेँ । कविता मेरा निम्ति मनोभावनाको लिखित अभिव्यक्ति हो जुन अभिव्यक्ति कथा र निबन्ध भन्दा बेग्लै किसिमले आफूभित्र स्फूरण हुन्छ । कविता भएर अभिव्यक्ति हुन मनोभावनालाई आज म यसरी परिभाषा गर्छु, कविता एउटा बोध मात्र हो जो भाषा र शैलीमा उनिएर आकृतिमा आउँछ । व्यक्तिलाई शौन्दयर्, घृणा, त्रास, प्रेम आदि विभिन्न अनुभूतिहरुको केवल सुक्ष्म बोध भए पुग्छ । यस बोधको व्याख्या पक्षले पनि भाषा र शैलीको भर पर्दछ । भाषा र शैलीलाई मस्तिष्कले संचालन गर्छ त्यसैले छान्न पर्छ , मिलाउन पर्छ, सजाउन पर्छ जसको निम्ति प्रतिभा चाहिन्छ,क्षमता चाहिन्छ। सुक्ष्मबोध गर्न सक्नेले मात्र पनि कविता लेख्न सक्तैन साथै भाषा र शैली मिलाउन सक्ने क्षमतावानले मात्रै पनि कविता लेख्न सक्तैन, कविताले लेखनमा बोध र प्रतिभा दुबैको राम्रो संयोजन हुन पर्छ । यस बाहेक ती मानवीय बोधहरुमा आफू बाँचेको युग र समाजको प्रतिकृया बोधले पनि स्पष्ट काम गरिरहेको हुन्छ । आज म कवितालाई यसरी परिभाषा गर्छु ।
सानै छँदा देखी मलाई कवितामा विशेष रुचि थियो । दार्जिलिंग म पढेको स्कूलमा पनि दोश्रो कक्षादेखी नै हिन्दी भाषा अनिवार्य थियो, यदाकदा दोहा कविता पढ्न पाइन्थ्यो, राम्रो लाग्थ्यो । म चौथो कक्षाको छात्रा रहेको बेला हाम्रो गाउँमा एउटा हस्तलिखित पत्रिका निस्कने भयो र मैले पनि एउटा कविता टाक्रा टुक्री मिलाएर पद्यकोेरुपमा ल्याएँ जो मेरो मनको कुरा पटक्कै थिएन । यो कविता छन्दहीन भएको हुँदा सम्पादक मण्डलबाट अस्वीकार गरियो । म उदास भएँ । कारण छन्द सिक्न सक्ने शैक्षिक स्तर थिएन त्यो । त्यसपछि कथा तिर लागेँ, ति कथाहरु पनि कहिले जासुसी जस्तो कहिले दन्त्यकथा जस्तो हुन थाले, कसैलाई देखाउन आँट गरिन । पछि लेख्ने प्रयास नै छोडिदिएँ मात्र स्वतन्त्र अध्ययनतिर लागेँ । कक्षा सातदेखी भने नेपालीमा देवकोटा, (मुनामदन र अरु पनि कविताहरु) लेखनाथ (ऋतु विचार र अरुहरु) हिन्दीमा बच्चन, निराला, सुमित्रानन्दन आदि र अंग्रेजीमा वर्डस्वर्थ, शेली, किट्स, टेनिसन आदिका कविताहरु पाठ्यपुस्तक अन्तरगत पढ्न पाइयो । परिरणाम स्वरुप कविता क्षेत्रप्रति रुचि र दृष्टिकोण एकैसाथ फराकिंदै गयो तथापि कविता लेख्न भने सकिएन । कविताप्रतिको मेरो रुचि र बेला मौका भावुक हुने स्वभाव देखेर साथीहरु मलाई कविजी भनी उडाउँथे । भाषा केही परिष्कृत र लेख्ने तरीका केही आकर्षक बनाएकी थिएँ, यसै आधारमा कहिले कहीं साथीहरु मलाई उनीहरुको प्रेमपत्र लेखाउँथे । मेरा आफ्नै पनि प्रेमपत्रहरु कम भावुक हुँदैनथे तर मेरा साथीहरुलाई मैले आफ्ना प्रेमपत्रहरु भने कहिल्यै देखाईंन ।

बि.सं. २०१० सालमा एक मात्र दाइ शिवकुमार वाइवाको आकस्मिक मृत्यु भएपछि मेरा बाबु काठमाण्डौ आउनु भो र २०१२ साल असार महिनामा सुकन्या (बहिनी) पनि काठमाण्डौ आई । (स्नेही पाठकहरु यो मेरो सिलसिलाबद्ध आत्माकथा होइन, त्यसै भित्रका फुटकर संस्मरण मात्र हुन) यहाँको वातावरण दार्जिलिंग भन्दा भिन्न थियो । यो त्यो वातावरण थियो जहाँ म भित्रको कवित्वले बाहिर आउँछु भनी मलाई एकनास कर लगाईरहन्थ्यो, तर मेरो वर्गीय चरित्र, मेरो पारिवारिक पृष्ठभूमि, मेरो अन्तरमुखी स्वभाव तथा अति कलिलो उमेरमा झेल्नु परेको प्रेमसम्बन्धी मेरो त्रास्दीय गल्ती र त्यसैको प्रतिक्रृया स्वरुप आएको असन्तुष्टि, मौन रुवाई, अपराध बोध र दुस्वप्नहरुले निरन्तर चिथोरी रहेको मेरो मानसकिताले गर्दा जीवनप्रति कुनै अर्थपूर्ण दृष्टिकोण लिन समर्थ भैरहेको थिईंन । लाग्थ्यो, मेरो तेरह वर्षको उमेर एकपल्ट फर्केर आए हुने, त्यो त अझ पनि लाग्छ । आखिर कविता लेख्न शुरु गरेँ र ती कविताहरु निराश र दःुखद जीवनमा अभिव्यक्ति मात्र थिए जस्लाई आज म कविता मान्न तयार छैन । कविताको पाठक सुकन्या मात्र हुन्थी ।
त्यो समय झण्डै २०१३ सालको शुरुमा हुनुपर्छ । आइ.ए. को परीक्षाको तयारी गर्दा सुकन्याले एकपल्ट सल्लाह गरी कि चित्तरन्जन नेपालीज्यूलाई बोलाएर नेपाली भाषाको निम्ति केही निर्देशन मागौं, कारण व्याकारण त हाम्रो ठीकै छ तर सप्रसङ्ग व्याख्या हाम्रो राम्रो हुन सक्तैन । कारण, हामी दार्जिलिंगमा पढेका हौं । कुरा मुनासिव थियो । ऊ पढाईप्रति सचेत र मेहनति छात्रा थिई र म पढ्दै नपढी जाँच पास गर्ने दुस्साहस गर्ने अग्घोरी । ऊ पाठ्यपुस्तक र लेक्चर दुवैको भर गर्ने म लेक्चरकोको मात्र । जे होस कुरा तय भयो र हाम्रो आग्रह अनुसार उहाँ हामीलाई नेपाली विषयको निर्देशन दिन आउन थाल्नु भयो । पुतली सडकका डेरामा यसरी पढाई शुरु भयो । एक दिन गोपालप्रसाद रिमालको एउटा कविता व्याख्या गर्दागर्दै उहाँले भन्नुभयो कि कविजीको एउटी युवतीसित लभ परेको थियो । यो लभ सुन्नासाथ सुकन्या र मेरो एकाग्रता काहाँ भाग्यो कहाँ । एकै साथ हामी दुबैका आँखा र ओठहरुमा हाँसो नाच्न थाल्यो, कोशिस गर्दा पनि हाँसो नियन्त्रण हुन सकेन । हामी खुलेर हाँसिदिउँ । हाम्रो स्थिति देखेर उहाँ एकछिन त जिल्लिनु भयो, पालो पालो सुकन्या र मेरो अनुहार हेर्न थाल्नु भयो । आखिर उहाँ पनि हाँस्नु भो, सोच्नु भयो होला ठिटीहरुको जात यस्तै हुन् । यसै पढाइको सिलसिलामा सुकन्या र मैले सल्लाह गरिकन एकदिन मैले लेखेका दुईवटा कविता साहस जुटाएर उहाँलाई देखायौं । कविता पढेपछि उहाँ प्रभावित हुनुभयो र भन्नु भोे–“यी कविता नयाँ हातको जस्ता छैनन् हात बसिसकेका कविताहरु हुन् ।” त्यतिखेर म खुशीमा तरङ्गित भैरहेको थिएँ । त्यस कविता मध्येको एउटा लाइन … “कस्को हो त्यो छायाँ मलाई इशारा गर्ने ?” मा उहाँले इशारा गर्ने काटेर बोलाउने बनाई दिनुभो र तत्काल छपाई दिन्छु भनी खल्तीमा राख्नुभयो । लेख्न नछाड्नुस कविता राम्रो छ भनी प्रोत्साहन दिनु भयो । पछि त्यो कविता भवानी भिक्षुद्धारा सम्पादित “धरती” मा छापियो ।
त्यसपछि त म भावनाको संसारमा विचरण गर्न थालेँ । जताततै कविता देख्न थालेँ । कहिले आफैँमा हराउने, सोच्न थालेपछि मटरमार चुरोटको सर्को माथि सर्को तान्ने, बस यस्ती भएँ म त । मेरो यो हाउभाउ देखेपछि मेरा बाबु, जस्ले मलाई भन्न थाल्नुभो– थ्इग् क्भ्ल्त्क्ष्ःभ्ल्त्ब्ी ँइइी (तँ भावुक मुर्ख) राती विस्तारामा पसिसकेपछि नजिकैबाट बाँसुरीको मीठो धुन बज्थ्यो र तरङ्गित भएर मेरो कानसम्म आइपुग्थ्यो । बाँसुरी मेरो मन परेको बाजा त्यसैले म विचलित हुन्थे, अनधकारमा त्यही धूनलाई पछ्याउँदै जान मन लाग्थ्यो र उठेर कविता लेख्थेँ–“तिम्रो स्वर लहरी सागरको छाल सरी उर्लिरहेछ ।”

साभारः ज्ञानगुनका कुरा
भाग २२
पारिजातः स्मृति अङ्क
पेज १ देखी ३ सम्म
सम्पादक शेषराज सिवाकोटी
प्रकाशन मिति २०५० जेठ ५ गते

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*