काठमाडौँ, ११ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताउनुभएको छ ।
आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको बताउनुभयो ।
“आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सोही अनुरुप श्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, मधेश, सुदूरपश्चिम लगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रुपान्तरणकारी, ठूला, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको छ ।” उहाँले प्रदेशगत विनियोजनको तथ्याङ्क हेर्दा कर्णाली मधेश प्रदेशलगायतका भौगौलिक क्षेत्रहरूमा तुलनात्मकरुपमा पर्याप्त बजेट विनियोजन रहेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले संविधान बमोजिम तीव्र आर्थिक वृद्धि र सन्तुलित तथा दिगो विकासका लागि दूरगामी सोच सहितको विकास योजनाको तर्जुमा, कार्यान्वयनमा सहजीकरण एवं अनुगमन तथा मूल्याङ्कन गरी अनुसन्धान र विश्लेषणका आधारमा सरकारलाई सुझाव प्रदान गर्नु राष्ट्रिय योजना आयोगको प्रमुख कार्यक्षेत्र रहेको र सोही कार्यका लागि आवश्यक बजेट विनियोजन गरएको बताउनुभयो ।
नेपालका नदीनाला नेपालकै सम्पत्ति हुन् : प्रधानमन्त्री
काठमाडौँ, ११ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका नदीनाला नेपालकै सम्पत्ति भएको र नेपालले नै उपभोग गर्ने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो, “नेपालका नदीनाला नेपालकै हुन्, नेपालकै सम्पत्ति हुन्, नेपालले नै उपभोग गर्ने हो, यसमा स्पष्ट हुनुपर्छ ।”
आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको विनियोजनका सम्बन्धमा सांसदहरूले राख्नुभएको पूरक प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय र आर्थिक सुशासनका सम्बन्धमा राम्रा कामहरू भएको स्पष्ट पार्नुभयो ।
आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समन्यायिक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीब्रतर विकासमार्फत आर्थिक, सामाजिक, भौगौलिक विषमतालाई अन्त्य गर्नेगरी सरकार आगाडि बढेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “हामी अनुदानमै जाने हो । सहुलियतपूर्ण ऋणको सन्दर्भमा एक वा एक दशमलव पाँचभन्दा बढीमा नजाने भन्ने नै हो ।”
रू तीन करोडभन्दा साना आयोजना सङ्घले कार्यान्वयन नगर्ने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालय र योजना आयोगले त्यस्ता आयोजनाहरू तल हस्तान्तरण सहयोग गर्ने बताउनुभयो ।
–––
Be the first to comment