भानुभक्तीय आलोचनाको परम्परा – गोकुल सिन्हा

 (भानुभक्त विशेषाङ्क बि.सं. २०२८ बाट)
…………
भानुभक्त र रामायण, रामायण र भानुभक्त, हाम्रा निम्ति पर्यायवाची शब्द भइसकेका छन् र यिनका बारेमा आज तक जे जति लेखिए तिनमा रामायणको भन्दा भानुभक्तकै आलोचना अधिकाँश पाइन्छ । कृतिगत सन्धान भन्दा ब्यक्तिगत चियाइ साहित्यको पक्षमा यसैले पनि सायत भानुभक्तको निम्ति मात्र आक्षेप नभई आलोचना हुन सकेको छ । यद्यपि जीवन पक्ष धूमिल हुँदैमा काव्य पक्ष दुर्बल हुन्छ भन्ने केही छैन, तैपनि भानुभक्त नेपाली जगतका एक “फेनोमेना” नै भइदिएकाले उनको जीवन इतिबृत्ति यति आलोच्य भएको हो । परन्तु हर्षको कुरो यो भइरहेछ आधुनिक आलोचकहरु उनको जीवन पक्षको साथसाथै काव्य पक्षको पनि यथा आलोचना गर्न पट्टि लागेका छन् । भानुभक्तको व्यक्तित्व राम्ररी ठम्याउनाले उनका कृतिहरुमा एउटा आयाम थपिन्छ । ब्यक्ति बिना कृति जन्मिन्न अनि भानुभक्त नै महाकाव्य हुन् । -(१)
भानुभक्तीय आलोचनाको धारा यसरी काव्यगत र व्यक्तिगत संधानको संगम बनि बहेको छ जस्मा काव्य पक्ष प्रायशः अद्धितीय र अखण्डनीय ठहरिए पनि जीवन र व्यक्तित्व पक्ष धेरै विवादस्पद छ । यो उनलाई समयको नजीकबाट चिन्ने कोही नहुनाले हो । कालावधिको तेइस बर्ष टाढाबाट मोतीराम भट्टले हेरे र बंशानुक्रमको तीन पुस्ता तलबाट नरनाथ आचार्यले हेरे । अनि भानुभक्तको जीवन चरित्रको निम्ति यिनै दुई पुस्तक आजसम्म एकार्काका सम्पुरक बन्न सकेका छन् । यी दुई पुस्तकहरुका प्रकाशन कालान्तरका सत्तरी बर्षवीच जे जस्तो व्यक्तित्व खुट्याए ती मोतीराम भट्टको पुस्तकमाथि धेरथोर आधारित छन् ।
भानुभक्तले कलम उठाउँदा नेपालमा अशिक्षित र मूर्खहरुमात्र थिए होइन। विरोधीहरुमात्र थिए पनि होइन तर समय नै त्यो त्यस्तो थियो अनि हुन्छ पनि र भानुभक्तको सिलोक पछि गएर यो स्तरमा पुग्छ भन्ने सर्वकालज्ञ कोही पनि भएनन् र तिनताक तुलनात्मक अध्ययन गर्ने साधन पनि साध्य थिएन । यसैले उनका समकालिकहरुलाई कृतघ्नताको दोषारोपण गर्दै भानुभक्तलाई हिलाको कमल नै बनाउने स्थिति देखिन्न । यद्यपि उनताका संस्कृतज्ञहरु भाषाप्रति नाक चेप्राउँथे, नेपाली भाषै होइन भन्थे, भाषामा श्लोक गर्नेहरु पाखे गनिन्थे । भाषा श्लोक लेख्दा र पढ्दा पण्डितहरुका इज्जत र धर्म जान्थ्यो, दरबारी र शहरीया शिक्षित समुदायले भाषा कविका कटु आलोचना गर्थे इत्यादि गुनासोहरु पोख्दै प्राय जम्मै जसो आलोचकहरुले भानुभक्तलाई टिठ्याएका भएता पनि लिखित रुपमा अर्थात प्रामाणिक तवरमा कुनै विरोध ज्ञापन र कटुआलोचना प्राप्य छैन । भानुभक्तका जीवन परिधिभित्रका कुनै विरोध ज्ञापन र कटु आलोचना प्राप्य छैन । भानुभक्तका जीवन परिधिभित्रका कुनै पठित अपठित व्यक्ति उनका विपक्षी देखिन्नन् । सुब्बा धर्मदत्त र कलाधर बाह्मण, गजाधार सोती र तारापति कोही अप्रिय थिएनन् । यिनीहरुले यिनका श्लोकहरु रुचाउँथे, सुन्थे र पचाउँथे । ओकालाङका जैसी ब्राह्मण र मखनटोलका खनाल पण्डित , पाल्पाका पुरोहित र पाल्पाकै सुब्बा सबैले यिनको ज्ञान र गुणको यथा कदर गरेका दशीहरु छन् । चीफ साहेब कृष्णबहादुर राणासम्म यिनको भाषा श्लोकले प्रभावित हुन्थे । ढुण्डिराज पौड्याल र बिरेन्द्र केशरी अज्र्याल जस्ता पण्डितहरुले पनि भानुभक्तको प्रशंसै गरेका थिए । पाल्पाका छबिलाल पण्डितले त लिखित रुपमै आलोचना गरे –
“भानुभक्त भनी भयो प्रशिद्ध नरमा जसको त नाउँ पनि ।
तिनको घर तनहू छ ब्यासी चुँदि हो गाउँ छ रम्घा भनी ।।
प्रख्यात् छन् सब लोकमा ति गुणि हुन् विद्धान कवि खुब थिया ।
यो प्रश्नोत्तर बुझ्नलाई सजिलो भाषा बनाई दिया ।।१।।”
पं. विश्वनाथद्धारा भक्तमालाको प्रथम पन्द्र श्लोकको साथै “जागिर छैन धनी म छैन घरको …तथा रोज् रोज् दर्शन पाउछु चरणको …” आदि श्लोकहरुका संस्कृत अनुवाद हुनु संस्कृतज्ञहरुबाट प्रशंसित नहुनु होइन । बालकृष्ण समको भक्त भानुभक्तमा विरोधी शशिनाथ घरिले यसो भन्छन् – “तपाईका भानुभक्तलाई मैले आजसम्म एउटा उच्छृंखल गाइने ठहराएको थिएं आज उनको योग्य श्रद्धा, अटल विश्वास, परम भक्ति सबैसित राम्ररी परिचय भो । भानुभक्त सांच्चि नै प्रतिभाशाली भानु रहेछन् ।”
यसबाट कवि भानुभक्त आफ्ना समकालिकहरुबाट उत्ति हतोत्साहित थिएनन् कि भन्ने लाग्छ । तर जे होस भानुभक्तका जीवनकालमा कवि भानुभक्त उत्ति नै चिनिएनन् जति आवश्यकता थियो । परन्तु समकालिकहरुद्धारा यथा समालोचना मात्र होइन स्वदेशीहरुद्धारा उनको प्रतिस्थापना पनि चाहिंदो मात्रमा हुन नसकेकै बुझिन्छ । अनि यो हुनै पर्ने केही छैन-(२)?
आदिकविका आदि आलोचक भए मोती राम भट्ट । अनि यो पनि स्मरणीय छ कि यही आलोचना नेपाली समालोचनाको क्षेत्रमा पहिलो उठान थियो । भानुभक्तको मृत्युहुँदा मोतीरामले तेश्रो वर्ष टेकेका भएतापनि उनले भानुभक्तलाई चिन्दा तेइस वर्ष बितिसकेको थियो । यसैले उनको दृष्टि पनि समकालिक बन्न सकेन तैपनि मोतीराम भानुका अग्रगण्य आलोचक बने । आफू प्रतिभा सम्पन्न कवि, नाटककार र गद्यकार पनि भएकाले यिनले साहित्यको मर्म बुझेका थिए । भानुभक्तको जीवन चरित्र मोतीराम भट्टका् भानुभक्तमाथि एकमात्र पुस्तक भएता पनि यसमा सर्वाङ्गिण समीक्षा छ । कविको जीवनीमात्र नभएर यो कविताको परिचय पनि भएको छ । समालोचनात्मक दृष्टिकोण अनुसार कविको स्वरुप कवि भानुभक्तको परिचय र उनको काव्यालोकन सबै यसमा सन्निहित छन् । कविको स्वरुप बताउँदै उनी लेख्छन् “कवि दुई प्रकारका हुन्छन् । पैल्हा स्वभाविक अर्थात सहज कवि, दोश्रो संसर्गी अथवा कृत्रिम कवि । स्वभाविक कविको बराबर कृत्रिम कवि कदापि हुन सक्तैन । सहज कविको कविताका बराबर संसर्गी कविता कहिल्यै हुन्न । सहज कवितामा अर्थ र शब्दको अलंकार सरासर देखिन्छ । जो सहज कवि छ उस्ले कविता गर्दा लेख्न हुने नहुने कुराको केही विचार राख्दैन अर्थात कसैको परवाह मान्दैन, यस्तो कविता गरे ज्यान जाला भन्ने भय कति मनमा मान्दैन । यस्तो स्वभाव संसर्गी कविमा कदापि हुन्न ।” यसबाट मोतीराम भट्टले समालोचनाको प्रबृत्ति पनि बुझेका थिए नै भन्ने बुझिन्छ । परन्तु अनन्य भक्ति र स्वभाविक श्रद्धातिरेक यिनले भानुभक्तका सिर्जनाभित्र अन्तरनिहित काव्यगुण र रचना प्रकृयाहरुको गौण आलोचना मात्र गरी मुलतः वैयक्तिक गुणगान गर्न पटि आफ्नो प्रतिभा ढल्काए । तैपनि काव्यान्तरगत भाषा, शैली र अभिव्यक्तिको राम्रो पहिचान भएको छ । मोतीराम भट्ट यसरी भानुभक्तको परिचायक र आलोचक हुनाको साथ साथै उनका कृतिहरुका सम्पादक, प्रकाशक र प्रचारक पनि भए ।
बि.सं १९४१ मा भारत जीवन प्रेसबाट सबभन्दा पहिले भानुभक्तीय रामायणको बालकाण्ड यिनले प्रकाश गरे र पछिल्लो साल डम्बरु बल्लभ, देवराज र बद्रीनाथसित मिली आफ्नो संकलन, सम्पादनमा समग्र सात काण्ड रामायण काशीबाट छपाए । यो आदि संस्करणका भूमिका लेखक पनि भट्ट नै थिए ।
यसपछि बि.सं १९४८ मा भानुभक्तको जीवन चरित्र लेखेर मोतीराम भट्टले नेपाली संसारमा अर्को सूर्य थपिदिए अनि सूर्य वाक्य लेखिदिए यसमा– “धनन्जय आचार्यका एक अपूर्व रत्न जस्ता छोरा जन्मे । छोरा भएदेखी यस्तै हुनु ।
यिनको नाम भानुभक्त हो ।
नेपाली भाषाको उन्नतिको उदय पनि यसै वर्ष भयो भनि जान्नु ।
नेपाली भाषामा हुन त धेरै नामी कविहरु भानुभक्तभन्दा पहिले भए तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरुमा आदिकवि भानुभक्त नै हुन।”
भानुभक्तको जीवनीको आलेखन गर्दै ठाउँठाउँ काव्यगत गुणको पनि मूल्याँकन गर्दै गएका छन् ।
मोतीराम भट्टले लगाएका गुण र पहिल्याएको बाटो नेपालीलाई अनन्त भएको छ । ….
Note: (1). Every great writer, it has well said, brings one absolutely new into the world- himself; and it is just because he puts this one new thing into what he writes that his work bears its own special hallmark, and has something about it which makes it unlike the work done by anyone else. W.H. Hudson, An Outline History of English Literature.
(2). A poet’s contemporaries and his fellow countrymen are not good judges of his poetry- Croce.
… Jaya Karki…………………………
आलोचनाको परम्परा भानु पेज नम्बर २४–२७ सम्म
भानुभक्त विशेषाङ्क बर्ष– आठ, किरण– १६ असोज २०२८ साल
भानु प्रकाशन
डिल्लीबजार, काठमाण्डौ
प्रधान सम्पादक– भवानीप्रसाद घिमिरे

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*