बेलौरीमा , कञ्चनपुर, साउन २६ – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको र अबको मुख्य कार्य राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक रूपान्तरणमा रूपान्तरण गर्नु रहेको बताएका छन्।
बेलौरी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न, आवास, यातायात, सूचना–सञ्चार, बिजुली, खानेपानी र खेलकुदलगायतका आधारभूत आवश्यकता पूरा गर्दै समृद्ध नेपाल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

श्रेष्ठले सुशासनलाई विकास र समृद्धिको पूर्वशर्त बताउँदै भ्रष्टाचार नियन्त्रण, कानुनको शासन र पारदर्शी प्रशासन बिना लक्ष्य हासिल हुन नसक्ने स्पष्ट पारे। उनले आफु सरकारमा रहँदा सुशासन र समृद्धिको अभियान सुरु गरेर राम्रो काम गरेको उल्लेख गर्दै, “अहिलेको सरकार भने भ्रष्टाचार र निरंकुश प्रवृत्तिलाई बढावा दिइरहेको देखिन्छ, जसले राष्ट्रलाई संकटतर्फ धकेलिरहेको छ,” भने।


Be the first to comment