ललितपुरका पत्रकारहरुको स्वास्थ्य परीक्षण सम्पन्न

ललितपुर,  नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा ललितपुरका पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ । जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालको संयोजनमा जिल्लामा क्रियाशिल पत्रकारहरूलाई लक्षित गरेर शुक्रबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा जिल्लामा क्रियाशील ७७ जना पत्रकारहरुमा विभिन्न किसिमका नसर्ने रोगहरूको परीक्षण, भिडियो एक्सरे, मुटु तथा मिर्गौला परीक्षण, आँखा, दन्त, मधुमेह, आरएफटी, एलएफटी, सिबिसी, स्त्री लगायत रोगको निःशुल्क परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ६० वर्ष नाघेका पत्रकारलाई निःशुल्क चस्मा वितरण गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा।भुवन पौडेलले ‘मे मेजरमेन्ट मन्थ’ अभियान अन्तर्गत पत्रकारहरुको लागि नसर्ने रोगहरुको परीक्षणलाई जोड दिइएको बताए । उनले सूचना तथा समाचार सम्प्रेषणमा निरन्तर क्रियाशील पत्रकारहरुको स्वास्थ्यलाई ध्यान दिँदै यो शिविर आयोजना गरिएको बताए । ‘विश्वमा १० जनाको मृत्यु हुँदा ८ जनाको मृत्यु नसर्ने रोगबाट हुने गरेको तथ्यांक छ, त्यसैले नसर्ने रोगको जोखिम कम गर्न अनिवार्य भएको छ, स्वास्थ्य जाँच सबै नागरिकका लागि अति महत्वपूर्ण हो, त्यसमा पनि निरन्तर पत्रकारितामा लाग्नेहरुलाई स्वस्थ राख्नका लागि पनि पत्रकार महासंघको आग्रहमा हामीले यो शिविर राखेका हौं’डाक्टर पौडेलले भने ।

बज्रबराही चापागाउँ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।अंकुर पौडेलले सबै नागरिक जस्तै पत्रकारहरू पनि आफ्नो स्वास्थ्यमा सचेत हुन आवश्यक रहेको बताउँदै रोग लागिसकेपछि उपचार गराउनेतीर ध्यान दिनुभन्दा रोग लाग्न नदिनका लागि सचेत हुनुपर्ने बताए । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोकाले स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न गरेकोमा ललितपुर शाखा, जनस्वास्थ्य कार्यालय, ललितपुर र बज्रबराही चापागाउँ अस्पतालप्रति धन्यवाद व्यक्त गरे ।

उनले महासंघको समन्वय पत्रकारहरुलाई लक्षित गरेर भएको शिविर उदाहरणीय रहेको भन्दै अन्य जिल्लाहरूले पनि यस्ता गतिविधि अघि बढाउनु उपयुक्त हुने बताए । ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले पत्रकारको स्वास्थ्य परीक्षणका लागि शिविर निक्कै प्रभावकारी भएको र पत्रकारहरूले यसबाट लाभ लिन सफल भएको बताए । परीक्षण गरेका पत्रकारहरूमध्ये अधिकांशमा सुगर र प्रेसरको समस्या देखिएको पाइएको उनले जानकारी गराए । परीक्षण गरिएका ७७ मध्ये २७ जनामा सुगरको लक्षण र १० जनामा प्रेसरको लक्षण देखिएको बज्रबराही चापागाउँ अस्पतालका स्वास्थ्यकर्मी डा।अमरदिप साहले जानकारी दिए ।

समाजका लागि सूचना र समाचार सम्प्रेषण गर्न खबरदारी गर्न दिनरात खटिरहँदा पत्रकारले आफ्नो स्वास्थ्यमा पनि ख्याल गर्न आवश्यक रहेको उनको भनाइ छ । परीक्षणमा संलग्न चिकित्सकले स्वस्थ जीवनशैली अपनाउन, खानपानमा ध्यान दिन, शारीरिक व्यायम गर्न सल्लाह दिएका छन्। नियमित कम्प्युटरमा काम गर्दा पत्रकारको दृष्टिमा समस्या देखिएको भन्दै उनीहरुले चस्मा लगाउन पनि सुझाव दिएका छन्। त्यसैगरि पिसाबमा समस्या देखिएकाहरुलाई प्रसस्त पानी पिउन, सुगर र प्रेसर देखिएकाहरूलाई खानपानमा ध्यान दिँदै व्यायम गर्न चिकित्सकको सुझाव छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*