३२ साउन ०८०, काठमाडौं । सरकारले बिहीबार श्रमजीवी मजदुरको न्यूनतम पारिश्रमिक राजपत्रमा प्रकाशित गरेको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघको निरन्तरताको दबाब र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको पहलले २०८० साउन १ गतेबाट लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक २ हजार ३०० रुपैयाँ बढाएर मासिक १७ हजार ३०० पु–याएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अब चिया बगान बाहेकका श्रमिकको हकमा मासिक पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमा दुईदुई वर्षमा बढ्नुपर्ने पारिश्रमिक तेस्रो वर्षबाट लागू हुने गरी पारिश्रमिक ९ हजार ३८५ र मंहगी भत्ता ५ हजार ६१५ रुपैयाँ गरी १५ हजार गराएको थियो ।
वर्तमान सरकारले आधारभूत पारिश्रमिक १० हजार ८२० र महंगी भत्ता ६ हजार ४८० रुपैयाँ गरी १७ हजार ३०० पु¥याएको हो ।
मन्त्रालयका अनुसार अब श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपैयाँ पुगेको छ । यसअघि यो रकम ५७७ रुपैयाँ रहेको थियो । आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ प्रतिघण्टा पुगेको छ । यसअघि यो रकम ७७ रुपैयाँ प्रतिघण्टा रहेको थियो ।
यस्तै सरकारले चिया बगानका श्रमिकको हकमा भने मासिक पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । साथै दैनिक पारिश्रमिक ५ सय रुपैयाँ गराइएको छ भने प्रतिघण्टा श्रमिकले ६६ रुपैयाँ पाउने छन् ।
Be the first to comment