मौलिक विशेषता बोकेको गोःरा पर्वको हार्दिक शुभकामना-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

हार्दिक शुभकामना !

सामाजिक, सांस्कृतिक तथा प्राकृतिक मौलिक विशेषता बोकेको गोःरा पर्वको अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हिमालय पर्वतीय श्रृङ्खलाअन्तर्गत ऐतिहासिकरूपमा मानसखण्ड भनेर परिचित सुदूरपश्चिम, कर्णाली तथा भारतको कुमाउँ तथा गढवाल क्षेत्रको मुख्य सांस्कृतिक चाडको विशेषता बोकेको गोःरा पर्वले सामाजिक एकता तथा सांस्कृतिक अन्तर्घुलनलाई अझै प्रगाढ बनाउन सक्नेछ भन्ने कामना गर्दछु ।
हिन्दु धार्मिक कथ्यहरूका आधारमा महेश्वर र गौरीबीच विवाहको प्रसङ्गबाट यो पर्व परिचित भएपनि पर्यावरणीय दृष्टिले किसानहरूले वर्षायाममा कृषि कर्म पूरा गरेर फुर्सदको समयमा सांस्कृतिक चाडहरू बनाउने क्रममा गोःरा स्थापित हुँदै आएको छ । यसका साथै भाद्र शुक्लअष्टमीदेखि पूर्णिमासम्म गोःराको सन्दर्भ पारेर खेलिने डेउडा र यस अवधिमा हुने अन्य सांस्कृतिक गतिविधिहरूले गोःराको सम्पन्नतापूर्ण सांस्कृतिक ओजलाई झनै बढाउने गरेका छन् । यस पर्वमा समाजका सम्पूर्ण सदस्यहरू घरपरिवारमा एकत्रित हुने र सामूहिकरूपमा समुदायपिच्छे मुख्य चाडका रूपमा मनाउने परिपाटीले सामाजिक सद्भाव, समुदायको एकता तथा आपसी सहकार्यसहित सामाजिक सम्बन्धलाई जीवन्त बनाउन विशेष भूमिका खेलेको छ । शहरीकरणको विकास र बसाइसराइको बढ्दो प्रभावसँगै यो पर्व सुदूरपश्चिममा मात्र नभएर स्वदेश तथा विदेशका विभिन्न भूभागमा उत्तिकै महत्वका साथ मनाउन थालिएको छ ।
बहुजातीय, बहुभाषिक एवं बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक अनुभूति सबै तहमा गराउन यस्ता पर्वहरूले महत्वपूर्ण योगदान गर्ने विश्वाससहित फेरि एकपटक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।
७ भाद्र, २०८०

पुष्पकमल दाहाल ‘प्रचण्ड’
प्रधानमन्त्री

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*