प्रेस विज्ञप्ति
हामी अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुमबासी संघसहित ४ जनसंगठनहरू इजरायलद्वारा प्यालेस्टाइन तथा लेबनानसहित मध्यपूर्वका विभिन्न देशमा भइरहेको सैन्य हस्तक्षेप तथा नरसंहार र त्यसलाई सैन्य, कुटनीतिक तथा आर्थिक सहयोग गर्ने सबै साम्राज्यवादी देशहरूको अमानवीय हर्कतको तीव्र निन्दा तथा भर्त्सना गर्दछौँ ।
मध्यपूर्वका प्यालेस्टाइन, लेबनान, यमन, सिरिया, इरानसहित विभिन्न देशका निशस्त्र नागरिकहरूमाथि २०२३ अक्टोबर ७ तारिखबाट इजरायलद्वारा भइरहेको भीषण सैन्य आक्रमणबाट ४३ हजारभन्दा धेरै नागरिकको हत्या भएको छ, जसमध्ये करिब १७ हजार बालबालिका रहेका छन् । १० हजारभन्दा धेरै बन्धक तथा बेपत्ता छन् । १ लाख ५ हजारभन्दा धेरै घाइते भएका छन् । ७ लाखभन्दा धेरै प्यालेस्टाइनीहरू विस्थापित भएका छन् । अस्पताल, अस्थायी शिविरहरू, विद्यालय, धार्मिक स्थलहरू लगायतका गैरसैनिक स्थलहरूमाथि बमवर्षा गरिएको छ । बालबालिका, बृद्ध र महिलाहरूमाथि बर्बर आक्रमण गरिएको छ । भौतिक संरचनाहरू ध्वस्त गरिएको छ । गाजा र पश्चिम किनारका सहरहरूलाई खण्डहरमा बदलिएको छ भने लेबबानको राजधानीसहित विभिन्न सहरहरूमा तीव्र आक्रमण भएको छ । गाजा र पश्चिम किनारमा खाना, पानी, स्वास्थ्य तथा राहत सामग्री लैजान अवरोध गरिएको छ । गर्भवती, सुत्केरी, नवजात शिशु र घाइतेहरूले उपचारको अभावमा मृत्यूवरण गर्नुपरेको छ । पत्रकारहरू, उद्धारकर्मीहरू, स्वास्थ्यकर्मीहरू र लेबनानमा रहेका शान्ति सेनामाथि समेत आक्रमण गरिएको छ । इजरायलद्वारा हजारौँको संख्यामा विभिन्न देशका नागरिकहरूलाई कब्जामा लिई बन्धक बनाइएको छ । मानव अधिकारको व्यापक उलंघन भएको छ । इजरायलको यस्तो मानवताविरोधी नरसंहारलाई प्रजातन्त्र र मानवअधिकारका स्वघोषित पहरेदारहरूद्वारा समर्थन प्राप्त भइरहेको छ । युद्ध रोक्न संयुक्त राष्ट्र संघ, सुरक्षा परिषद् र स्वघोषित महाशक्ति राष्ट्रहरूबाट कुनै पहल भएको छैन । यसबाट विश्वव्यापीरूपमा पुँजीवादी लोकतन्त्र र साम्राज्यवादको सक्कली रूप उदाङ्गो भएको छ ।
हामी इजरायल र उसको समर्थन गर्ने सम्पूर्ण साम्राज्यवादी शक्तिहरूलाई अविलम्ब मध्यपूर्वमा चलिरहेको युद्ध तथा नरसंहार रोक्न, इजरायललाई सबै आर्थिक तथा सैन्य सहयोग रोक्न, वार्ताद्वारा समस्याको स्थायी समाधान गर्न, मानवअधिकार स्थापना गर्न, इजरायलद्वारा अतिक्रमित प्यालेस्टाइनी भूमि तत्काल खाली गर्न र संयुक्त राष्ट्र संघको पूर्ण सदस्यतासहित प्यालेस्टाइनलाई पूर्ण स्वतन्त्रता प्रदान गर्न जोडदार माग गर्दछौँ । यसका लागि संयुक्त राष्ट्र संघ, प्रभावशाली राष्ट्रहरू र शान्तिका पक्षधर विश्व जनसमुदायलाई आवश्यक पहल गर्न र मध्यपूर्वमा शान्ति स्थापना गर्दै मानवजातिलाई तेस्रो विश्व युद्धबाट बचाउन अपिल गर्न चाहन्छौँ । हमासद्वारा कब्जामा लिइएका नेपाली विद्यार्थी विपिन जोशीसहित इजरायल र हमासद्वारा बन्धक बनाइएका सबै नागरिकहरूको निःशर्त रिहाइको माग गर्दछौँ । हामी प्यालेस्टाइनी जनताको मुक्ति र सार्वभौम देशको रूपमा स्वतन्त्र प्यालेस्टाइनको स्थापना नभएसम्म प्यालेस्टाइनी जनताको मुक्ति संघर्षको पक्षमा दृढ समर्थन तथा ऐक्यबद्धता जाहेर गर्दछौँ।
प्रेस विज्ञप्ति – प्यालेस्टाइन बारे ४ माओवादी जनसंगठन
हार्दिक क्रान्तिकारी अभिवादनसहित । मितिः २०८१ कार्तिक १ गते
…………………………… ……………………………
चित्रबहादुर श्रेष्ठ जगतबहादुर सिम्खडा
अध्यक्ष अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) अध्यक्ष अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)
………………………….. ……………………………
दलजित श्रीपाली अमर परियार
अध्यक्ष अध्यक्ष
नेपाल दलित मुक्ति मोर्चा अखिल नेपाल सुकुम्बासी संघ
Be the first to comment