माघी तथा मकर संक्रान्तिको शुभकामना-पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक

थारु समुदायको मुख्य पर्व माघी तथा समस्त हिन्दू एवं मगर, छन्त्याल लगायत अन्य समुदायहरूले हर्षोल्लासका साथ मनाउने माघे संक्रान्ति (मकर संक्रान्ति) को पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
माघी र माघे संक्रान्ति हाम्रो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक नेपाली समाजका जीवन्त पहिचान हुन्। यी पर्वहरूले विविधताभित्र एकता, आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावको सन्देश बोकेका छन्। उत्तरायणको सुरुवातसँगै दिन लम्बिँदै र रात छोटिँदै जाँदा जस्तै, हाम्रो राष्ट्रिय जीवनमा पनि अन्धकार हटोस्, उज्यालो, प्रगति र समृद्धिको नयाँ युग सुरु होस् भन्ने मेरो हार्दिक कामना छ।

 


आज तराईका मैदानदेखि पहाड र हिमालसम्मका नेपालीहरू परिवारजनसँगै बसेर खिचडी, घिउ, चाकु, तरकारीका स्वादिष्ट परिकारहरू साटासाट गर्दै, सुख–दुःख बाँड्दै यो चाड मनाइरहनुभएको छ। यो आपसी आत्मीयता, एकता र सामूहिकताले नै हाम्रो समाजलाई थप सुदृढ र बलियो बनाउँछ।
यो अवसरले हामीलाई अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको महान् जिम्मेवारीलाई इमानदारीपूर्वक वहन गर्न प्रेरित गर्नेछ। उपलब्धिहरूको रक्षा गर्दै संविधानको पूर्ण कार्यान्वयन, राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपालको सपना साकार पार्न हामी सबै मिलेर अघि बढौँ।धन्यवाद।
१ माघ, २०८२
ने.सं.११४६, पोहेलागा द्वादशी

…………………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*