-
जय कार्की
(दृश्यहरु गीत सुहाउँदो सामान्य दृश्य मिलाए काफी हुन्छ आपसमा दुई (पहिलो र दोश्रो साथी) साथीवीचको सांगितिक सम्बाद यसप्रकार छन्)
डम्बर:
साथीभाईले सोध्छन मलाई
किन निन्याउरो देख्छु साथी
गाथमा आराम छैन कि ?
भन्छन् बेलैमा गर निको भैहाल्छौ नि ।
टिकारामः
नगर सुर्ता र चिन्ता ज्यानभन्दा ठूलो अरु केही छैन
ज्यानभन्दा ठूलो अरु केही छैन साथी
डम्बरः
होइन साथी छैन भएको कुनै बिसन्चो
स्वस्थ छु म, स्वस्थ नै छ मेरो तन
तर पनि अचेल सुकिलो छैन मेरो मन
डम्बरः
जित्नेले हाँक्छन् यो संसार
गुनासो छैन मेरो केही पनि ।
मन मेरो अमिलो भएको गाँठी कुरो
अर्कै हो बताउँ कसरी ?
साथी बताउँ कसरी ?
भन्नलाई पनि मन खान्छ कुटुक्क!
मन खान्छ कुटुक्क!
सुन्नेलाई पनि लाग्छ सारै नै नमीठो
यही दुविधाको रोग हो साथी मेरो ।
यही रोग हो साथी मेरो ।
नभनुँ मनभित्र गुँडुल्की परिआउँछ ।
भनुम् त पोल खोल्यो भन्लान भन्ने डर छ
यही हो डर मेरो साथी …।
यही हो डर मेरो साथी
टिकारामः
गरिब छौं साथी ! धन बाँड्न सकिन्न
मन बाँड्न सक्छौं मन बाँडौ
दुःख छ हामीसित, त्यही दुःख बाँडौं
मन हल्का हुन्छ नि साथी
मन हल्का हुन्छ नि साथी
नबस साथी चिंता र दुखलाई गुँडुल्की पारी
फुकाई देउ आज ति चिन्ताका पन्तुरा सबै
हिम्मत कसी ।
ए मेरो साथी
डम्बर :
ठीकै छ साथी म भन्छु सरसर्ती
गोप्य कुरा खोल्यो भनि नरिसाउनु है साथी
ठगिएका छौं हामी लुटिएका छौ अति
ती राजसी ठाँठका ठग र ठालुबाट
उसैको बिक्छ बोली
उसैको बिक्छ ढाँट र छली
उही हसुर्छ कालो धन
उही उठाउँछ मनपरीे रकम
उही हो जनताको उत्पीडक
उही लड्छ निर्वाचन
उही जान्छ जनताको वीचमा
नपुग्ने सपना बाँडी हिंड्छ
साँखुल्ले पल्टिन्छ
उही पछारिन्छ प्रतिष्पर्धामा
जमानत गराउँछ जफत
मान्दैन लाज र सरम
पचाई दमन गर्छ हामीलाई
नैतिकता छैन एक थोपो त्योसंग
उल्टै मपाईं पल्टि जोरी खोज्छ हामीसंग
हेरन साथी हेर ए मेरो कामरेड!
जमानत सक्तैन जोगाउन आफु
तरैपनि धम्क्याउँछ उल्टै
भन्छ खुस्काई दिन्छु तिमेरुको च्यापु!
अनैतिकताको पाराकष्टा यहीं देखियो
हाली मुहाली रजगज उसैको भेटियो
हार्दा पनि उही नायक
पछारिँदा पनि उही नायक
यस्तो उदाहरण कहिं छ संसारमा?
किन चाहियो यो बेबकुफ असफल पात्र
यस्ताको हुकुम र आदेश कस्ले पालना गर्छ?
यही हो साथी मन मेरो अमिलो भएको
भनन भन ए मेरा प्रिय सखा
यस्तालाई घोक्रेठ्याक लगाउने के होला औषधी मूलो ?
कामरेड बताईदेउ मलाई लौन एकरत्ति नमानी झर्को
टिकारामः
मान्दिन साथी झर्को !
समश्या यो साझा हो तपाईं हामी सबैको
जे सुनायौ तिमीले यो प्रबृत्ति हो क्यान्सर समाजको
एक्ला एक्लै लडेर निस्कन्न समाधान साथी !
भ्रष्ट तत्वका विरुद्ध लडौं बलिष्ठ मोर्चा नै कसी।
सबैलाई बोलाउँ,सबैलाई गुहारौं
जति छन पींडित ती सबैलाई
(दृश्यमा बोलाए बमोजिमको क्रमश समुहको प्रबेश)
डम्बर र टिकाः आउनुस बुबा !
आउनुस मुमा!
हामीलाई विजयको आशिर्वाद दिनुस
आउनुस दिदी!
आउनुस बहिनी!
आउनुस दाजु!
आउनुस प्यारा भाई !
आउनुस श्रमिक कामरेड!
आउनुस किसान साथी!
आउनसु दलित साथी ।
आउनुस सबै थिचिएका
पिसिएका जन सबै ! सबै!!
कम्मर कसि लडौं हामी ।
दुष्टात्मा र भ्रष्टाचारीलाई
एकजुट भई लखेटौं ।
अनिमात्र सान्तिको सास फेर्न पाउँछौं
आउनुस आमा!
आउनुस बुबा!
आउनुस आदरणीय समाजसेवी सबै ! सबै !
आउनुस आउनुस सबै न्यायप्रेमी जनता
बाँधिउँ एकजुटतामा दुष्टमाथि विजय हासिल गर्न
अनि मात्र सान्तिको सास फेर्न सक्छौं
अनि मात्रै स्वतन्त्रताको सास फेर्न सक्छौं
अनि मात्रै
तपाई, हामी सबै सबैले
खुशियालीको गीत गाउँन सक्छौं !
अनि मात्र समाजको मुहार फेर्न सक्छौं
लौ अब बाटो लागौं
दुष्टलाई तह लगाउन ढिला नगरौं…
आउ सबै सबै मिलीजुली
अनैतिकताको पर्खाल
गल्र्याम गुर्लुम ढालौं ।
गल्र्याम गुर्लुम ढालौं ।।
ढालौं, ढालौं गल्र्याम् गुर्लुम् ढालौं …
(सबै मन्चमा एकीकृत भई बिजय हाँसिलको लागि लामबद्ध भई गति फटाहलाई तह लाउन गाउँदै बाटो लाग्छन्)
समाप्त
फागुन ८ गते २०७९ साल


Be the first to comment