प्रधानमन्त्री प्रचण्ड आज ङारीबाट छन्दु प्रस्थान गर्दै

ङारी चीन ११ असोज : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको छन्दु जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड तिब्बतको ङारी हुँदै ल्हासा र ल्हासाबाट आज छन्दु जान लाग्नुभएको हो ।
उहाँ आज बिहान स्थानीय समयअनुसार ९ः४५ बजे ङारीकाे अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छन्दुका लागि प्रस्थान गर्नुहुने कार्यक्रम रहेको छ ।
उहाँ स्थानीय समयअनुसार अपराह्न १४ः३० बजे छन्दु पुग्नुहुने छ । छन्दुमा रहँदा उहाँले पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।
त्यसपछि उहाँसँग साँझ चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तीय किमिटीका सचिव वाङ सियाओले भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । आजै साँझ प्रधानमन्त्रीको सम्मानमा सचिव सियाओले रात्रिभोजको पनि आयोजना गर्नुहुने कार्यक्रम रहेको छ ।
बुधबार चीनको छोङछिङबाट ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहाल हिजो कैलाश मानसरोवरको अवलोकन भ्रमणका लागि जानुभएको थियो । प्रधानमन्त्री दाहालले ल्हासामा रहँदा विभिन्न द्धिपक्षीय भेटवार्ता गर्नुभएको थियो ।
प्रधानमन्त्री दाहाल र उहाँको भ्रमण दलका सदस्यहरु शनिबार छन्दुबाटै काठमाडौँ फर्किनुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहनुभएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*