काठमाडौँ । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले नेकपा (माओवादी केन्द्र)को भदौ २६ मा उद्घाटन गरिएको तीन महिने अभियान अन्तर्गत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन र संगठन निर्माण कार्यलाई सँगसँगै लैजाने भएको छ । महासंघको भदौ १८ गते काठमाडौंमा बसेको उपलब्ध पदाधिकारीको बैठकले स्थानीय तहसम्म पार्टीले निश्चित गरेको जिम्मेवारी र कार्यक्षेत्रमा रहेर तीनमहिने अभियानसँगसँगै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन साथै संगठन निर्माण कार्यलाई जोड्ने निर्णय गरेको हो । उक्त बैठकको निर्णयअनुसार महासंघले मंगलबार प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा सरोकारवालाहरुसँग योगदानमा आधारित सामाजिक सुरक्षा आजको आवश्यकता, अनिवार्य कायान्वयनमा हामी सबैको प्रतिबद्धता विषयक राष्ट्रिय विचार गोष्ठीको आयोजना गरेको छ ।
उक्त गोष्ठीमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले जनतासँग माओवादीः विशेष रुपान्तरण अभियानसँगसँगै अन्टुफले सामाजिक सुरक्षा कार्यान्वयनका सवालमा सरोकारवालासँग छलफल गराएर राम्रो सुरुवात गरेको बताए । उपमहासचिव अनन्तले रोजगारदाता र श्रमिक एकै ठाउँमा बस्नु लोकतन्त्रको सुन्दर रहेको बताउँदै अन्टुफले सरकार, रोजगारदाता, राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतिनिधिका साथै सबै ट्रेड युनियनहरुलाई एउटै मञ्चमा उपस्थिति गराएर राम्रो काम सुरुवात गरेको बताए । लोकतन्त्रको सुन्दर पक्ष रोजगारदाता र श्रमिक एकै ठाउँमा बस्नु हो, उनले भने, श्रमिकलाई श्रम बेच्न र रोजगारदातालाई श्रम किन्नु नै छ भने स्वरोजगारले आफ्नो श्रम खर्च गर्दा श्रमको मूल्य पाउनुपर्छ साथै रोजगारदाताले पनि श्रम खरिद गर्दा निश्चत मुनाफा हुनुपर्दछ यसर्थ अन्टुफले सरोकारवाला सबै पक्षलाई राखेर कार्यक्रमको आयोजना गरेर राम्रो सन्देश दिएको छ । उपमहासचिव पुनले राज्यको शक्ति राजनीतिक दल, विभिन्न जनसंगठन र जनता नै भएको बताउँदै शक्ति सन्तुलन बिग्रन नहुनेमा जोड दिँदै सरकारले पूँजी निर्माण गर्ने, लगानी गर्ने र स्वदेशमै रोजगार सिर्जना गर्नेतर्फ ध्यान दिनु पर्ने बताए ।
सामाजिक सुरक्षा कोषका निर्देशक कृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गरेको उक्त विचार गोष्ठीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुराज घिमिरे, सार्टुकका महासचिव लक्ष्मण बस्नेत, आइएलओ प्रतिनिधि निता न्यौपाने, ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवर, एफएनसीसीआईका बाबुकाजी कार्की, सिएनआईका महेन्द्र रिजाल, जिफन्टका उपाध्यक्ष विदुर कार्की, एकीकृत ट्रेड युनियनका विष्णु लम्साल, यातायात व्यवसायी विजय स्वाँर, फेस नेपालका चन्द्रदेव भट्ट, जेटीयुसीसीका महासचिव चिरागमान कुँवरले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न प्रतिबद्धता जनाएका थिए ।
१९ भदौ ०८०
Be the first to comment