शुभकामना
हिन्दू धर्मावलम्बीको महान चाड विजया दशमीका अवसरमा स्वदेश तथा देशबाहिर रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
यतिखेर हामी नेपाली जनताका महान् संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दाहरूलाई गम्भीर आत्मसमीक्षा सहित सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा छौँ। हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन्। यो परिस्थितिमा महान जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरेको जिम्मेवारीलाई निरन्तरता दिँदै वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध रहेको छ।
हाम्रो पार्टीले जेन जिका मागलाई समर्थन गर्दै र पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ। हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा सहित आगामी मंसिरमा विशेष महाधिवेशनमार्फत जेन–जी सहित युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरे बमोजिम गृहकार्य भइरहेको छ। वर्तमान जटिलतालाई चिरेर सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैंजस्ता सांस्कृतिक अन्तर्घुलनका पर्वहरूले प्रेरणा दिने विश्वास व्यक्त गर्दछु।
अन्तमा, विजया दशमी २०८२ ले हामी सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन, र शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रदान गर्ने विश्वास लिँदै दशैं लगायतका पर्वहरूलाई सामाजिक एकता र अग्रगमनका पक्षमा संकल्प सहित मनाउन आह्वान गर्दछु।
१३ असोज २०८२, सोमवार
नेपाल संवत्: ११४५ कौलाथ्व सप्तमी
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
महाधिवेशन आयोजक समिति


Be the first to comment