
“श्रीलंकामा मिडवाइफहरुको सामुदायिक स्वास्थ्य योगदान: नेपालका लागि प्रेरणा”- कोमल माया लामा
अखिल नेपाल स्वास्थ्य सेविका श्रमिक संघ (ANHVWU)
सामुदायिक स्वास्थ्य राष्ट्रिय विकासको आधार हो। नेपालले पनि सामुदायिक र मातृशिशु मृत्यु दर घटाउनमा उल्लेख्य प्रगती गरेको छ। यसका लागि स्वास्थ्य कर्मीहरु विशेष गरी सामुदायिक स्वास्थ्य कर्मी, स्वयम् सेविकाहरु र मिडवाइफहरुले अग्रणी भूमिका निर्वाह गर्छन्। संगठनको संगठन कर्ताको रुपमा हालै श्रीलंकामा आयोजित ३ दिने योजना बैठक र संगठन निर्माण कार्यशालामा सहभागी हुँदा मैले त्यहाँका मिडवाइफहरुले सामुदायिक स्वास्थ्यमा गरेको अमूल्य योगदान प्रत्यक्ष देखेँ। यो लेखमा उनीहरुको भूमिका, चुनौती, र नेपालका लागि सिकाइलाई संकेतीकृत गर्ने प्रयास गरेकी छु।
श्रीलंकाको स्वास्थ्य प्रणाली र मिडवाइफहरुको स्थान:
श्रीलंकाले सामुदायिक स्वास्थ्यमा ठूलो प्रगति गरेको छ। विशेष गरी मातृ-शिशु स्वास्थ्यमा उल्लेखनीय सुधार (२०२३ मा मातृ मृत्यु दर प्रति १ लाख जन्ममा ३०) को पृष्ठभूमिमा मिडवाइफहरुको योगदान महत्त्वपूर्ण छ। श्रीलंकाको “फ्यामिली हेल्थ वर्कर” कार्यक्रम अन्तर्गत मिडवाइफहरुले गाउँ-गाउँमा स्वास्थ्य सेवा पुर्याउँछन्। उनीहरु सरकारी संस्था, स्थानीय निकाय, र समुदाय बीच सेतुको भूमिका खेल्छन्।
सामुदायिक स्वास्थ्यमा मिडवाइफहरुको योगदान:
मिडवाइफहरूको भूमिका मातृ-शिशु स्वास्थ्य सुधार गर्न महत्वपूर्ण छ। उनीहरूले गर्भावस्थादेखि प्रसव र प्रसवपछिको हेरचाहसम्म सेवा प्रदान गर्छन्। सुरक्षित प्रसव सुनिश्चित गर्न टास्क शिफ्टिंग प्रणाली लागू गरिएको छ। जस अनुसार सामान्य केसहरू समुदायमै व्यवस्थापन गरिन्छ भने उच्च जोखिमयुक्त केसहरू मात्र अस्पताल पठाइन्छ। ग्रामीण क्षेत्रमा मातृ-शिशु स्वास्थ्य सेवाको पहुँच बढाउन मोबाइल क्लिनिक र घरमै पुग्ने प्रणाली जस्ता उपायहरू अपनाइएका छन्। साथै, रोग रोकथाम र स्वास्थ्य शिक्षामा मिडवाइफहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। मलेरिया, डेंगु, र COVID-19 जस्ता संक्रामक रोगहरूको नियन्त्रणका लागि व्यापक जनचेतना कार्यक्रम सञ्चालन गरिन्छ। विशेष गरी, “स्वस्थ गर्भावस्था” कार्यक्रमअन्तर्गत गर्भवती महिलालाई पोषण, सरसफाइ, र नियमित टीकाकरणबारे सचेत गराइन्छ। यी प्रयासहरूले मातृ तथा नवजात शिशुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने गरेका छन्। सामुदायिक विश्वास जित्न मिडवाइफहरू सांस्कृतिक संवेदनशीलताको साथ काम गर्छन्। उनीहरू स्थानीय भाषा, परम्परा, र धार्मिक मान्यतालाई सम्मानपूर्वक सेवा दिन्छन्, जसले समुदायसँगको सम्बन्ध मजबुत बनाउँछ। मन्दिर, विद्यालय, तथा सार्वजनिक स्थलहरूमा स्वास्थ्यसम्बन्धी कार्यशाला सञ्चालन गरेर स्थानीय जनसंख्यालाई सचेत गराइन्छ। स्वास्थ्य सेवा प्रविधिमैत्री बनाउन डिजिटल उपकरणहरूको प्रयोग भइरहेको छ। e-Health प्रणाली मार्फत गर्भवती महिलाहरूको स्वास्थ्य अवस्था ट्र्याक गरिन्छ भने SMS सेवा प्रयोग गरी नियमित स्वास्थ्य परामर्श तथा अनुस्मारक पठाइन्छ। प्रविधिको प्रयोगले सेवा प्रभावकारी बनाएको छ। जसले मातृ-शिशु मृत्यु दर घटाउन मद्दत पुर्याएको छ। यी पहलहरूले समुदायमा स्वस्थ भविष्य निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
श्रीलंकाको सामुदायिक स्वास्थ्य प्रणालीबाट सिक्न सकिने नेपालका लागि महत्त्वपूर्ण पाठ:
त्यहाँको सरकारी मिडवाईफ स्टाफ एसोशिएसन र श्रमिक नेतृ सिस्टर देविका कोडिथुवाक्कुको चर्चा विना यो सिकाई अधुरो छ । श्रीलंकाको सरकारी मिडवाईफ स्टाफ एसोशिएसन स्वास्थ्य क्षेत्रमा एक प्रभावशाली युनियनको रूपमा स्थापित छ। श्रीलंका भरि करिब ९ हजार मिडवाईफहरू कार्यरत रहेकोमा, यस संगठनमा झन्डै ९९ प्रतिशत सदस्यता रहेको छ। यो संगठनको नेतृत्व सिस्टर देविका कोडिथुवाक्कुले गरिरहेकी छिन्। जसको नेतृत्वशैलीबाट म अत्यन्त प्रभावित भएकी छु। सिस्टर देविकाबाट मैले नेतृत्वको महत्त्वपूर्ण पाठ सिक्ने अवसर पाएँ। एक सक्षम नेताले कसरी आफ्नो संगठनलाई सशक्त बनाउने, सदस्यहरूको हकहित सुनिश्चित गर्ने र उनीहरूलाई प्रेरित गर्ने भन्ने कुरामा उहाँ प्रेरणादायी उदाहरण हुनुहुन्छ। उहाँले आफ्नै संगठनभित्र धेरै नयाँ ‘देविकाहरु’ उत्पादन गर्न सफल भएकी छिन्। जसले मिडवाईफहरूको हकहित र स्तर वृद्धिको निम्ति निरन्तर संघर्ष गरिरहेका छन्।
सिस्टर देविकाले नर्सिङ स्टाफहरूसँग बैमनस्यता नराखी मिडवाईफहरूको स्तर अभिवृद्धि गर्न श्रीलंकाको सम्बन्धित संस्थासँग सहकार्य गर्दै १८ महिनाको स्नातक कार्यक्रम (ग्राजुएट प्रोग्राम) सञ्चालन गर्नुभएको छ। साथै उहाँले स्वास्थ्य क्षेत्रका अन्य पेशाकर्मीहरूको संगठनहरूसँग सहकार्य गर्दै बृहत् सञ्जाल निर्माण गरेर समन्वयात्मक कार्यको उत्कृष्ट नमूना प्रस्तुत गर्नुभएको छ।
सरकार, प्रशासन, राजनीतिक दलहरू वा अन्य सरोकारवालाहरूले सामुदायिक स्वास्थ्य सेवामा कार्यरत मिडवाईफहरूको योगदानलाई उपेक्षा गरेमा वा उनीहरूको सेवामाथि अन्याय गर्ने प्रयास गरेमा देशभरका ९ हजार मिडवाईफहरूले स्वास्थ्य सेवा ठप्प पार्नसक्ने सामर्थ्य राख्छन्। यस संगठनको सशक्त एकताको प्रभाव श्रीलंकाको स्वास्थ्य क्षेत्रमा दूरगामी देख्न सकिन्छ।
श्रीलंकाको मिडवाइफरी प्रणालीले नेपाललाई सामुदायिक स्वास्थ्य सुधारका लागि महत्त्वपूर्ण पाठ सिकाएको छ।
पहिलो: सामुदायिक नेटवर्कलाई बलियो बनाउने कुरामा हामीले ध्यान दिनुपर्छ। श्रीलंकाले स्थानीय नेताहरूसँग सहकार्य गर्दै स्वास्थ्य सेवामा पहुँच बढाएको छ। जुन नेपालमा पनि लागू गर्न सकिन्छ। समुदायमा सक्रिय नेताहरू, महिला समूह, र स्थानीय सरकारसँगको सहकार्यले स्वास्थ्य सेवाको प्रभावकारिता वृद्धि गर्न सकिन्छ।
दोस्रो: प्रविधिको एकीकरण अत्यावश्यक छ। डिजिटल प्लेटफर्महरू जस्तै e-Health, मोबाइल एप्स, र SMS सेवाहरू प्रयोग गरेर दुर्गम क्षेत्रका गर्भवती महिला तथा सुत्केरी आमाहरूलाई नियमित स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ। श्रीलंकाले प्रविधिको माध्यमबाट गर्भवती महिलाको निगरानी तथा स्वास्थ्य डेटाको व्यवस्थापन प्रभावकारी रूपमा गरिरहेको छ। जसबाट नेपालले सिकेर आफ्नै प्रणाली सुधार गर्न सक्छ।
तेस्रो: युनियनको भूमिकालाई थप सशक्त बनाउन आवश्यक छ। मिडवाइफहरूको अधिकार, सुरक्षा, र व्यावसायिक प्रशिक्षण सुनिश्चित गर्न युनियनहरूले सरकारसँग वार्ता, नीति निर्माणमा संलग्नता, र श्रमिक अधिकार संरक्षणका लागि बलियो आवाज उठाउनुपर्छ। श्रीलंकाको जस्तै नेपालमा पनि स्वास्थ्य कर्मीहरू बीच एकता बढाउँदै उनीहरूको पेशागत हकहित संरक्षणमा जोड दिन आवश्यक छ।
चौथो: निरन्तर शिक्षा र क्षमता अभिवृद्धि अनिवार्य छ। स्वयम् सेविको स्वरुपलाई आईएलओको मान्यता बमोजिम पुर्णकालिन रोजगारमा सेवा, सर्त र सुविधा सहित परिर्वतन गरी सामुदायिक स्वास्थ्यकर्मीको रुपमा विकास गर्दै श्रीलंकाले मिडवाइफहरूको लागि वार्षिक तालिम कार्यक्रम सञ्चालन गरेर उनीहरूको सीप अभिवृद्धि गरिरहेको छ। नेपालमा पनि स्वास्थ्य कर्मीहरूलाई अद्यावधिक तालिम दिने, प्रमाणपत्र कार्यक्रमहरू आयोजना गर्ने र अन्तर्राष्ट्रिय अनुभव आदान-प्रदान गर्ने प्रणाली विकास गर्नुपर्छ।
नेपालले श्रीलंकाको सफल अभ्यासहरूबाट सिकेर आफ्नै स्वास्थ्य प्रणालीलाई सुधार गर्दै मातृ-शिशु मृत्यु दर घटाउने, सामुदायिक स्वास्थ्य सुधार गर्ने र मिडवाइफहरूको पेशागत सुरक्षामा सुधार गर्न सक्दछ। अब यी रणनीतिहरूलाई नीति र कार्यान्वयनमा रूपान्तरण गर्न आवश्यक छ।
निष्कर्ष:
गाँठीकुरा के हो भने: श्रमिकहरू राज्यको अभिन्न अंग हुन् किनभने तिनीहरू समाजको आधारभूत संरचना निर्माण, सेवा प्रवाह र आर्थिक उत्पादनमा मुख्य भूमिका खेल्छन्। राज्यले तिनीहरूको श्रममार्फत कर संकलन, सार्वजनिक सेवा सञ्चालन र नीति कार्यान्वयन गर्छ। श्रमिक वर्ग बिना राज्यको प्रशासनिक, आर्थिक र सामाजिक प्रणाली सुचारु रूपमा सञ्चालन हुन सक्दैन। सामुदायिक स्वास्थ्य क्षेत्र पनि यस अवधारणाबाट कदापि बाहिर रहन सक्दैन। श्रीलंकाको अनुभवले नै देखाउँछ कि मिडवाइफहरु सामुदायिक स्वास्थ्यका स्तम्भ हुन्। जो नेपालको सवालमा सामुदायिक स्वास्थ्य स्वयम् सेविको रुपमा लगभग ५१ हजारको संख्यामा रहेका छन्। युनियनहरुले संगठनात्मक सशक्तिकरण, नीतिगत सहयोग र अन्तर्राष्ट्रिय सहकार्यबाट यसलाई अझ प्रभावकारी बनाउन सकिन्छ। नेपालले यी सबकलाई आत्मसाथ गरेर मातृ-शिशु स्वास्थ्यमा ठूलो फड्को मार्न सक्छ। भोलेन्टीयर अवधारणाबाट ३० औ बर्षअघि सुरु भएको यो अवधारणा विस्तारै पूर्ण रोजगार र मर्यादित रोजगार तर्फ अघि बढ्दै गएको छ। श्रम, अधिकार र क्षमता अभिबृद्धिको माग क्रमस विभिन्न तहको सरकारको योगदान र जिम्मेवारी तर्फ केन्द्रीत छ। केही बर्ष लाग्ला तर परिवर्तन हाम्रै पालामा संभव छ ।
दक्षिण एशियामा सामुदायिक स्वास्थ्य कार्यकर्ता (CHW) प्रणालीको भूमिका र भविष्यको रणनीति:
कार्यशालामा युनिकेयरका प्रमुख ब्रदर एलेन साब्ले, युनीएप्रोका महासचिव ब्रदर राजेन्द्र आचार्य, युनीएप्रो केयरका निर्देशक ब्रदर तिलक खड्का र युनिकेयर ग्लोबल सिनियरकोअर्डिनेटर सिस्टर जेनेथ आर्मस्टरगको प्रशिक्षण एवं सहजीकरणबाट हामीले यस हाम्रो दृष्टिकोण र लक्ष्य स्पष्ट रुपमा परिभाषित गर्न सिक्यौं। सामुदायिक स्वास्थ्य कार्यकर्ताहरु (CHW) स्वास्थ्य प्रणालीका आधारशिला हुन्। जसले ग्रामीण तथा न्यून संसाधनयुक्त क्षेत्रमा मातृ-शिशु स्वास्थ्य, रोग रोकथाम, र स्वास्थ्य शिक्षा प्रवाह गर्छन्। हाम्रो लक्ष्य भनेको यी कार्यकर्ताहरुको क्षमता अभिवृद्धि गर्दै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु हो।
हामीले दक्षिण एशियामा CHW प्रणालीको संरचना र कार्यशैलीलाई गहिराइपूर्वक बुझेका छौं। श्रीलंकाका मिडवाइफहरु स्रोतको अभाव, कर्मचारीको कमी, र सांस्कृतिक अवरोधहरुको सामना गरिरहेका छन्। यद्यपि, युनियनहरुले नेतृत्व विकास, सरकारसँग वार्ता, र अन्तर्राष्ट्रिय संस्थाहरु (WHO, UNICEF) सँगको सहकार्य मार्फत समाधान खोजिरहेका छन्। यस्ता रणनीतिहरु अन्य देशहरुमा पनि उपयोगी हुन सक्छन्।
हाम्रो आन्दोलनलाई सफल बनाउने उपायहरू मध्ये SMART लक्ष्य (विशिष्ट, मापन योग्य, प्राप्त गर्न सकिने, यथार्थपरक, र समयमै पूरा गर्न सकिने) निर्धारण प्रमुख थियो। हामीले रणनीतिक योजनाहरू बनाउँदा संगठनात्मक क्षमता, प्रणाली सुधार, र नीति निर्माणमा प्रभाव पार्ने उपायहरु अपनाउनु पर्ने महसुस गर्यौं।
रणनीतिक योजना बनाउँदा मुख्य चुनौतीहरू भने स्रोत अभाव, श्रमिक अधिकार संरक्षण, र सरकारको सहयोग प्राप्त गर्ने तरिका थिए। यिनलाई समाधान गर्न नेतृत्व विकास, नीति निर्माणमा सहभागी हुने, र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने उपायहरु महत्वपूर्ण छन्।
ब्राजिलका सामुदायिक स्वास्थ्य सेवीहरुको योगदान र मर्यादित श्रम तर्फको सफलताको यात्रा :
दक्षिण अमेरिकी राष्ट्र ब्राजिलबाट जुम प्रविधिमा आधारित रहेर ब्रदरले सुनाउनु भएको संघर्षको कथा पनि कम रोचक र प्रेरणादायी छैन । ब्राजिलमा सामुदायिक स्वास्थ्य कार्यकर्ता (CHW) 1990 को दशकदेखि सक्रिय भए। ट्रेड युनियनहरू, विशेष गरी AMASM/ SINDACS-AL /CNTSS र FENASCE, को संघर्षले उनीहरूको पेशागत पहिचान, कानूनी सुरक्षा, र तलब वृद्धि सुनिश्चित गर्यो। औपचारिकीकरणको प्रारम्भमा उनीहरूले 2014 मा राष्ट्रिय न्यूनतम तलब पाउन सफल भए भने 2022 मा दुई गुणा वृद्धि गरे। युनियनहरुको निरन्तर संघर्ष र सांगठनिक अभियानले पेशागत स्थायित्व, कानूनी अधिकार र सामाजिक सुरक्षाको सुनिश्चितता दिलाएको छ। साच्चै भन्नुपर्दा ब्राजिलको राज्यले अन्ततोगोत्वा लगभग २ लाख ८६ हजार सामुदायिक स्वास्थ्यकर्मीहरु माथी न्याय गर्न सफल भएको छ ।
अन्त्यमा: कार्यशालाले सशक्त संगठन निर्माण, रणनीतिक योजना, र नेतृत्व विकास को अभ्यास गराउन सहयोग गर्यो। अब हामी यी ज्ञानहरुलाई प्रयोग गर्दै सामुदायिक स्वास्थ्य कार्यकर्ताहरुको हकहितका लागि बलियो कदम चाल्न तत्पर छौं।
“स्वस्थ समाजको निर्माण सामुदायिक स्वास्थ्य कर्मीको हातमा नै छ।“
Be the first to comment