संयोजक प्रचण्डद्धारा २३औँ विश्व पर्वत (माउन्टेन दिवसको अवसरमा व्यक्त शुभकामना) २३औँ विश्व पर्वत (माउन्टेन) दिवसको शुभकामना

नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डद्धारा २३औँ विश्व पर्वत (माउन्टेन दिवसको अवसरमा व्यक्त शुभकामना)
२३औँ विश्व पर्वत (माउन्टेन) दिवसको शुभकामना

आज २३औँ विश्व पर्वत दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। पर्वतहरू प्रकृतिका अमूल्य धरोहर हुन्।जसले जल, वन, जैविक विविधता र लाखौँ मानिसको जीविकोपार्जनलाई आधार प्रदान गर्छन्। तर जलवायु परिवर्तनका कारण हिमशृङ्खलाहरू तीव्र गतिमा पग्लिरहेका छन्, पहाड–पर्वतहरूको पारिस्थितिक प्रणाली असन्तुलित बन्दै गएको छ। यसको प्रत्यक्ष असर नेपालजस्ता अल्पविकसित राष्ट्रहरूमा बाढी, खडेरी, माटो क्षयीकरण र खाद्य असुरक्षाको रूपमा देखा परेको छ।
यस वर्षको विषयवस्तु “हिमनदीहरूले जल, खाद्यान्न र जीविकोपार्जनका लागि महत्त्व राख्छन्” ले जलवायु सङ्कटको गम्भीरता झनै प्रस्ट पारेको छ। ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित हाम्रो देश जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा छ। हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवनमा पैदा भएको जोखिम आजको यथार्थ हो। अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम हो, जुन जलवायु न्यायको प्रश्नसँग गाँसिएको छ।
हाम्रो पार्टी नेतृत्वमा सरकार रहेको समयमा, जलवायु परिर्वतन तथा पर्वतीय पारिस्थितिकीका मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एजेन्डामा प्रमुख रूपमा उठाउने विशेष पहल गरिएको थियो। सो क्रममा ‘पर्वत, मानिस र जलवायु’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादको उद्घाटन गर्दै हिमालय क्षेत्रका देशहरूबीच ‘एकताबद्ध पर्वतीय आवाज’ निर्माण गर्न आवश्यक रहेको कुरा प्रस्ट रूपमा अघि सारियो। नेपालका तर्फबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा पर्वतीय पारिस्थितिकी प्रणालीको महत्त्व स्थापित गर्न र जलवायु न्यायको विषय कोप–२८ मा सम्बोधन गराउन गरेका प्रयास सफल भए। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण अत्यन्त महत्वपूर्ण र प्रेरणादायी रह्यो।
यी सबै प्रयास जलवायु न्यायका लागि नेपालजस्ता राष्ट्रहरूको आवाजलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्‍याउने दिशामा महत्वपूर्ण कदम सावित भएका छन्। तर काम अझै पूरा भएको छैन। पर्वत संरक्षण, जलवायु अनुकूलन र न्यूनीकरणका लागि आवश्यक कोष सुनिश्चित गराउन नेपालले निरन्तर अन्तर्राष्ट्रिय समुदायमा अपील गर्दै आएको छ।पर्वतहरू सुरक्षित नभएसम्म दीर्घकालीन समृद्धि र स्थिरताको कल्पना गर्न सकिँदैन भन्ने हाम्रो आवाज स्पष्ट राख्दै आएका छौं। अल्पविकसित राष्ट्रहरूको चासोलाई प्राथमिकतामा राख्नु आजको अनिवार्य आवश्यकता हो।
अन्त्यमा, विश्व पर्वत दिवसले पर्यावरण संरक्षण, पर्वतीय पारिस्थितिकीको दीर्घकालीन सुरक्षा र जलवायु न्यायका लागि हामी सबैलाई नयाँ ऊर्जा र सङ्कल्प प्रदान गरोस्। प्रत्येक नेपाली नागरिकले स्वच्छ, सुरक्षित र दिगो पर्वतीय वातावरणमा सम्मानजनक जीवन बाँच्न पाउने आधार सुनिश्चित होस् भन्ने कामना गर्दछु।
२५ मंसिर २०८२
ने.सं.११४६, थिंलागा सप्तमी
…………………………….
पुष्पकमल दाहाल ‘प्रचण्ड’
पूर्वप्रधानमन्त्री
एंव
संयोजक
नेपाली कम्युनिष्ट पार्टी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*