सर्वहारा संस्कृतिको बारेमा भ्लादिमिर इल्यिच लेनिन (१६)/भ्ला. इ. लेनिन नेपाली संकलित रचना भाग ८ / –जय कार्की
आठ अक्टोबरको इजभेस्तिया (१७) बाट के थाहा पाइयो भने हिजो हामी दुई जनाले कुराकानी गरेर जुन निष्कर्षमा पुगेका थियौं साथी लुनाचास्र्कीले प्रोलेत्कुुल्तको महाधिवेशनमा त्यसको ठीक उल्टो कुरा गर्नु भएछ ।
एकदम छिटो प्रस्तावको मस्यौदा केन्द्रीय समितिमा पारित गराउनु परेको छ र प्रोलेत्कुल्तको यसै अधिवेशनमा केन्द्रीय समितिको तर्फबाट सार्वजनिक शिक्षा कमिसारियटको बोर्डमा र प्रोलेत्कुल्तको महाधिवेशनमा आजै यो प्रस्ताव पारित गराउनु परेको छ, किनभने महाधिवेशन आज समाप्त हुँदैछ ।
प्रस्तावको मस्यौदा (१८)
१. मजदूर तथा किसानहरुको सोभियत गणतन्त्रमा शिक्षा कार्यको सम्पूर्ण प्रबन्ध, सामान्य रुपले राजनैतिक ज्ञान आर्जनको क्षेत्रमा र साथसाथै विशेषरुपले कलाको क्षेत्रमा, त्यस वर्गसंघर्षको भावनाले ओतप्रोत हुनु पर्दछ, जुन संघर्ष सर्वहारा वर्गले आफ्नो अधिनायकवादको उदेश्यपूर्तिको लागि चलाउादैछ अर्थात बुर्जुवावर्गको तख्ता उल्टाउनको लागि, वर्गहरुको उन्मूलन गर्नकोलागि र मानवद्धारा मानवको हुने सब प्रकारको शोषणहरुो अन्त्य गर्नको लागि चलाउदै छ ।
२. तसर्थ, सर्वहारावर्गले आफ्नो अग्रदल कम्युनिष्ट पार्टीको तर्फबाट र साथसाथै आम रुपले आमरुपले विभिन्न सर्वहारा संगठनहरुको तर्फबाट सामूहिक रुपले सार्वजनिक शिक्षाको प्रत्येक कार्यमा बढी भन्दा बढि सक्रिय तथा बढी भन्दा बढी प्रमुख भाग लिनुपर्दछ ।
३. आधुनिक इतिहासको सम्पुर्ण अनुभव र विशेष गरेर “कम्युनिष्ट घोषणापत्र” निस्केदेखी विश्वभरिका राष्ट्रहरुका सर्वहारावर्गको आधा शताब्दि भन्दा लामो इतिहासले अकाट्यरुपमा के कुरा प्रमाणित गरिसकेको छ भने माक्र्सवादी विश्वदृष्टिकोणले मात्र क्रान्तिकारी सर्वहारावर्गको स्वार्थ, दृष्टिकोण एवम् संस्कृतिको उचित अभिव्यक्ति गर्न सक्दछ ।
४. माक्र्सवादले क्रान्तिकारी सर्वहारावर्गको विचारधाराको रुपमा विश्वव्यापी ऐतिहासिक मान्यता प्राप्त गर्न किन समर्थ भएको छ भने माक्र्सवादले पूँजिवादी युगका अमूल्य उपलब्धिहरुको बहिस्कार गर्नुको सट्टा दुई हजार बर्षभन्दा लामो मानव विचारधारा र संस्कृतिको विकासको दौरानमा जे पनि अमूल्य उपलब्धिहरु भए ती सब कुरा स्वीकार गर्यो र यिनलाई परिष्कृत तुल्यायो । सर्वहारा अधिनायकवादको व्यवहारिक अनभवद्धारा प्रेरित जुन सब प्रकारका शोषणहरुको विरुद्ध सर्वहारावर्गको अन्तिम संघर्ष हुनेछ र यसै आधारमा, यसै दिशामा हुने भावी कार्यलाई मात्र वास्तविक सर्वहारा संस्कृतिको विकास मान्न सकिन्छ ।
५. आफनो विशेष संस्कृतिको सिर्जना गर्ने, आफ्नै विशेष संगठनहरुभित्र गुम्सिएर बस्ने, सार्वजनिक शिक्षा जन कमिसारियट र प्रोलेत्कुल्तका कार्य क्षेत्रहरुको बीचमा सीमा रेखा कोर्ने अथवा सार्वजनिक शिक्षा जन कमिसारियटद्धारा संचालित संस्थाहरुभित्र प्रोलेत्कुल्तको “स्वायत्तता” स्थापना गर्ने जस्ता प्रयत्नहरुलाई प्रोलेत्कुल्तको अखिल रसियाली महाधिवेशनले आफ्नो सैद्धान्तिक दृष्टिकोणको दृढतासाथ अनुसरण गर्दै सैद्धान्तिक रुपले गलत तथा व्यावहारिक दृष्टिकोणले हानिकारक ठान्दछ र जोरदाररुपमा भत्र्सना गर्दछ । यसको उल्टो महाधिवेशनले प्रोलेत्कुल्तका सब संस्थाहरुलाई के निर्देशन दिन्छ भने उनीहरुले ठूलो कर्तव्य निष्ठासहित सार्वजनिक शिक्षा जन कमिसारियटद्धारा संचालित संस्थाहरुको एक श्रृंखला अन्तर्गत आफै सहायक संस्थाहरुको रुपमा काम गरुन् र सोभियत सत्ता (विशेष रुपले सार्वजनिक शिक्षा जन कमिसारियट) रसियाली कम्युनिष्ट पार्टीको आम निर्देशन अनुुसार आफ्नो कामलाई सर्वहारा अधिनायकवादको कार्यको एक भाग ठानेर पूरा गरुन् ।
… …
साथी लुनाचास्र्की भन्नुहुन्छ वहाँको भनाईको गलत अर्थ लगाए । त्यसो भए प्रस्ताव अझ बढी आवश्यक ठहरियो ।
टिप्पणीहरुः
१७. रसियाली कम्युनिष्ट बोल्शेभिक पार्टीको केन्द्रीय समितिको इजभेष्तिया (समाचारपत्र) केन्द्रीय समितिको सूचना बुलेटिन, जसमा पार्टी जीवनका समस्याहरुमाथि प्रकाश पारिएको हुन्थ्यो । आर्ठौ पार्टी महाधिवेशनको निर्णय अनुसार सन १९१९ को मे महिना देखी इजभेष्तियाको प्रकाशन शुरु भएको थियो ।
१८.लेनिनले सर्वहारा संस्कृतिको बारेमा प्रस्तावको मस्यौदा ५–१२ अक्टोबर १९२० मा मास्कोमा हुनु पर्ने पहिलो अखिल रसियाली प्रोलेत्कुल्त महाधिवेशनको सिलसिलामा तयार गर्नु भएको थियो । महाधिबेशनमा भाग लिने कम्युनिष्ट गुटलाई केन्द्र तथा जिल्लाहरुमा प्रोलेत्कुल्त निकायहरु शिक्षा जन कमिसारियाटको मातहत रहनुपर्छ भन्ने संगठनात्मक प्रस्ताव पारित गराउने निर्देशन दिइएको थियो । लेनिनको प्रत्यक्ष निर्देशन अनुसार तयार पारिएको यो प्रस्ताव प्रोलेत्कुल्तको महाधिवेशनले एकैमतले पारित गरेको थियो ।
अक्टोबर १९२० मा लेखिएको
भ्ला. इ. लेनिन संकलित रचना संग्रह
पाँचौं संस्करण, खण्ड ४१, पृष्ठ ३३६–३३७ ,
तयार पार्ने :जय कार्की
भ्ला. इ. लेनिन नेपाली संकलित रचना भाग ८ प्रगति प्रकाशन मास्को कार्तिक १४ गते २०८० साल
Be the first to comment