आज ७७औँ विश्व मानवाधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
मानवाधिकारको साँचो अर्थ आत्मसम्मानपूर्ण जीवन बाँच्न पाउने हरेक व्यक्तिको जन्मसिद्ध अधिकारको प्रत्याभूति हो। तर बिडम्बना, हाम्रो समाजको ठूलो हिस्सा (दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, थारू, पिछडिएका क्षेत्र तथा सम्पूर्ण उत्पीडित–उपेक्षित समुदाय) लामो समयदेखि राज्यसत्ताबाटै संरक्षित विभेद र उत्पीडनको शिकार बन्दै आएका छन्।
नागरिकले समानतापूर्वक बाँच्न पाउने वातावरण, जातीय, लैङ्गिक, क्षेत्रीय, धार्मिक तथा सांस्कृतिक सहित सबै खाले विभेदको अन्त्य र राज्यका हरेक निकायमा दलित, महिला, जनजाति, मुस्लिम, थारू लगायतका समुदायको अर्थपूर्ण सहभागिता बिना समावेशी लोकतन्त्र अधुरो रहन्छ र मानवाधिकारको सार्थक प्रत्याभूति सम्भव हुँदैन।
ऐतिहासिक विभेद र उत्पीडनविरुद्धको महान् जनयुद्ध, १९ दिने जनआन्दोलन तथा विभिन्न अधिकारमुखि आन्दोलनहरूको बलमा प्राप्त भएको हाम्रो संविधानले यी अधिकारहरूलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। तर अधिकार कागजमा मात्र सीमित हुनुहुँदैन ।ती अधिकारहरूको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती र दायित्व हो।
यसका साथै, द्वन्द्वकालका पीडितहरूले न्याय, सत्यको खोजी र परिपूरण पाउनु मानवाधिकारको अविभाज्य विषय हो। संक्रमणकालीन न्यायलाई चाँडोभन्दा चाँडो टुङ्गोमा पुर्याएर पीडितहरूको घाउमा मलम लगाउने कामलाई हामी कुनै पनि हालतमा पछि सार्न सक्दैनौँ। यो हाम्रो राजनीतिक र नैतिक दुवै दायित्व हो।
सामाजिक न्याय बिना कुनै पनि समाज सभ्य, समृद्ध र साँच्चै लोकतान्त्रिक बन्न सक्दैन। त्यसैले समावेशी लोकतन्त्र, सामाजिक न्याय र मानवाधिकारको पूर्ण कार्यान्वयनलाई हामी सबैको साझा सङ्कल्प बनाउनु आजको अपरिहार्य आवश्यकता हो।
अन्तमा, यस विश्व मानवाधिकार दिवसले हामी सबैलाई विभेद, अन्याय र दमनविरुद्ध एकजुट भएर लड्ने नयाँ ऊर्जा र प्रेरणा दिने विश्वाससहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२४ मंसिर २०८२
ने.सं.११४६, थिंलागा षष्ठी


Be the first to comment