- बिसाइदेउ अन्धविश्वासको भारी- जय कार्की
कविता
…………………..
“भगवानले रक्षा गरुन्”
” मीठो समाचार सुन्ने
योग छ राशीफलमा” भनेकै दिन .
भग्नावेशमा ढलिमली गरेको
मृत आस्थाले के रक्षा गथ्र्यो?
मैले झन एकपछि आर्को
भयानक त्रासद् समाचार
सुनिरहनु पर्यो,
गाउँबाट माताको देहवसानको खबर मडारिदै आयो
घोप्टेभीरमा बिमान ठोकिएको खबर बतास्सिएर गयो
जोगीमाराबाट त्रिशुलीमा मस्त निद्रामा रहेका पसिन्जर
बस खसेर बेपत्ताको खबर निस्सादैं आयो ।
तैपनि मलाई “भगवानले रक्षा गरुन” भन्ने
सन्देश आउन अझै छाडेको छैन
ए ! भगवान तँ आफै भन्
“म पत्याउँ कसरी ?”
अन्ध विश्वासीहरुले तेरो नाम र तेरो शालिकमाथि
गरे ठूलै बद्मासी ?
तेरो नाम भँजाई
बोकाए सारा जनलाई
आस्थाको खोल ओढाई
शोषण,दमन, अस्पृयता र
अन्ध विश्वासको भारी !
……………………
– जय कार्की
२०७९ साल पौष २ गते
काठमाण्डौ


Be the first to comment