डाक्टरलाई श्रमिकको सम्बोधन – बर्तोल्त ब्रेख्त

यो कुरा हामीलाई राम्ररी थाहा छ
हामी के कारण बिमारी पर्छौँ
एउटा छोटो शब्दले बताउन सक्छ
बिमारीको कारण
र, सबैलाई थाहा छ त्यो शब्द
तर जब हामी बिमारी पर्छौँं
तपाईं डाक्टरहरू नै रोग निको पार्ने मान्छे हो
भनेर हामीलाई बताइन्छ
जनताको पैसाबाट बनेका
ठूला ठूला मेडिकल कलेजमा
दस वर्षसम्म, धेरै पैसा खर्च गरेर
डाक्टरी शिक्षा पाउनुभएको हो तपाईंहरूले
र, आफूले ज्ञान प्राप्त गर्नका लागि
धेरै लगानी गरेको हुनाले
तपाईंले अवश्य पनि हामीलाई बिसेक पार्न सक्नुहोला
तर के साँच्चै, तपाईंले हामीलाई बिसेक पार्नुहोला ?
जब हामी तपाईंकोमा उपचार गराउन आउँछौँ
मैला र च्यातिएका कपडा लगाएर आउँछौँ
र, हाम्रो रोगको कारण पत्ता लगाउन
तपाईं हाम्रो नाङ्गो शरीरको आवाज सुन्नुहुन्छ
खासमा हाम्रो झुत्रो कपडालाई देख्दै पनि
तपाईंले धेरै थाहा पाउनुपर्ने हो हाम्रो रोगको कारण
किन जर्जर हुन्छन्, हाम्रा कपडा र शरीर ?
वास्तवमा दुबैका एउटै मात्र कारण छन्
त्यही एउटा छोटो शब्द हो यी दुबैका कारण,
र, सबैलाई थाहा छ त्यो शब्द
तर पनि कसैले उच्चारण गर्दैन त्यो शब्द
तपाईं भन्नुहुन्छ हाम्रो काँध दुख्नुको कारण चिसो ओस हो
र, हाम्रो घरको भित्तामा पनि त्यही ओसको टाटो बनेको छ
त्यसो भए डाक्टरसाब बताउनुहोस्, कहाँबाट आउँछ त्यस्तो ओस ?
डाक्टरसाब, धेरै काम गर्नुपर्छ हामीले
तर पनि पेटभरि खान पाउँदैनौँ
त्यसले गर्दा हामीलाई कुपोषण हुन्छ र शरीर कमजोर बन्छ
तर ‘तौल बढाउ’ भनेर तपाईं हामीलाई प्रेस्किप्सन थमाउनुहुन्छ
तपाईंहरूको त भरै छैन,
तपाईंहरू त ‘माछालाई पनि रुख चढ’ भनेर सल्लाह दिनुहोला
डाक्टरसाब्, तपाईंसँग हामीजस्ता मान्छेका लागि
कति नै समय होला र ?
र, हामीलाई यो पनि थाहा छ कि
तपाईंको घरको एउटा फ्ल्याटमा हालेको कार्पेटको मूल्य
पाँचहजार बिरामीलाई जाँचेको फिस बराबर छ
निःसन्देह, तपाईंहरू कार्पेटका बारे आफ्नो निर्दोषिता देखाउनुहोला
र, सायद, हाम्रो घरको भित्ताको ओसको टाटोले पनि त्यही कथा दोहोर्यउला
तर हामीलाई थाहा छ हाम्रो बिमारीको कारण
एउटा छोटो शब्द हो हाम्रो बिमारीको कारण
त्यो शब्द सबैले जानेका छन्
तर कसैले पनि उच्चारण गर्दैनन्
त्यो शब्द हो ‘गरिबी’ ।
……………………………
– खेम थपलियाको मुहार पुस्तिकाबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*