कविता: बिचार-श्रृंखला-जय कार्की

छुद्र र अहंकारी बिचारको श्रृंखलालाई भत्काउनु पर्छ
अलग अलग खडा गरेको चुलो चौकोलाई बन्द गर्नुपर्छ
बैचारिक मन्थनको निस्कर्षमा एकताको सूत्र खोज्नु पर्छ
टुक्राटुक्रामा बिभाजित मन मस्तिष्कलाई जोड्न कम्मर कस्नु पर्छ ।

नैराश्यताको बिस्कुन सुकाउन
अब छोड्नु पर्छ
एक अर्को प्रति धारे हात लगाउन छोडी
के के मिलेन आपसमा बसि सुल्झाउनु पर्छ
निष्फल दन्तबजानमा उत्रिन हच्किनु पर्छ

हार्ने र भाग्ने होईंन,
फ़ुट्ने र भाँचिने होईंन
अब बलियो एकतामा जुटने हो ।
एक कड़ी खुस्कीए
अर्कों कडी जोड्ने हो।
बिजय पताका नफहराई
अब नछोड़ने हो !
नछोड्ने हो

समाजबादको आसा मात्र देखाउने होइन
स्रमजीबी बर्गलाई फुस्रो स्वर्गमात्र देखाउने होइन
आकाशको फल आखा तरि मर पार्ने होइन
चर्को भाषण र रित्तो आश्वासनले भोको पेट भर्दैन

जे गुम्नु थियो
गुमिसक्यो
अब किन पछि हट्ने ?
जितकै लागि
अब अन्तिम पटक
डटेर लड्ने हो
हिम्मत बटुलेर अन्तिम पटक फेरि लड्ने हो
निर्दिष्ट लक्ष्य पूरा गरि छाड्ने हो

मुक्ति आन्दोलनको लक्ष्य मात्र देखाउने होइन
मुक्ति आन्दोलनको निर्दिष्ट लक्ष्यमा पुगी छाड्ने हो
निर्दिष्ट लक्ष्यमा पुगि छाड्ने हो ।

Jaya Karki
Jetha 7,2080

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*