अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना! अध्यक्ष जगतबहादुर सिंखडा

आज, १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको गौरवमय अवसरमा, अखिल नेपाल ट्रेड युनियन महासंघ स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी वर्गलाई क्रान्तिकारी अभिवादन व्यक्त गर्दछ। वर्गसङ्घर्षको रातो झण्डालाई बुलन्द गर्दै, आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको महान् उद्घोषसहित सिकागोका श्रमिकहरूले गरेको ऐतिहासिक बलिदानको स्मरण गर्दछौँ।

यो गौरवपूर्ण आन्दोलनको प्रेरणामा हामीले फेरि एकपटक आवाज उठाउने दिन आएको छ – आवाज श्रमको सम्मानको, अधिकारको प्रत्याभूतिको, शोषणविरुद्धको विद्रोहको।

साथै, नेपालको श्रमजीवी वर्गको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुक्तिका लागि आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति भावपूर्ण क्रान्तिकारी श्रद्धाञ्जली अर्पण गर्दछौँ।

संसारभरि श्रमिक आन्दोलनले १३६ वसन्त पार गरिसक्दा पनि, साम्राज्यवादी तथा नवउदारवादी शोषणका कारण विश्वभरका श्रमिकहरूको समस्या अझै जटिल बन्दै गएको छ। प्रविधिको विकासले एकातिर नयाँ अवसरहरू सिर्जना गरे पनि, अर्कोतिर श्रमको शोषणका नयाँ रूपहरू– गिग इकोनोमी, ठेकेदारी प्रथा र अनौपचारिक श्रम प्रणाली लगायत हावी भएका छन्।

जलवायु परिवर्तन र भूराजनीतिक अस्थिरताले श्रमिक वर्गको जीवन र जीविकामाथि थप सङ्कट थोपरेको छ। असमानताको खाडल झन् गहिरिँदै गएको छ, र श्रमिकहरू आधारभूत अधिकार– उचित ज्याला, सुरक्षित कार्य वातावरण, सामाजिक सुरक्षा र सामूहिक सौदाबाजीको अधिकार– का लागि निरन्तर सङ्घर्ष गरिरहन बाध्य छन्।

नेपालको श्रम बजार पनि यस विश्वव्यापी शोषणचक्रबाट अछुतो छैन। वैदेशिक रोजगारीले युवा जनशक्ति पलायन गराएको छ, सामाजिक विखण्डन बढाएको छ र श्रमिकहरू चरम शोषणको शिकार भएका छन्। स्वदेशमा रोजगारीका अवसर सीमित छन्, र भएका पनि प्रायः अनौपचारिक क्षेत्रमा छन्, जहाँ श्रमिकहरू न्यूनतम मानव अधिकारबाट समेत वञ्चित छन्।

श्रम ऐन २०७४ ले केही अधिकारहरू सुनिश्चित गरे पनि, दलाल तथा प्रतिक्रियावादी शक्तिहरूको आडमा रोजगारदाताहरूले त्यसको ठाडो उल्लङ्घन गरिरहेका छन्। नियमित काममा करारमा श्रमिक लगाउने, बैंकिङ प्रणालीबाट ज्याला नदिने, ट्रेड युनियन अधिकार कुण्ठित गर्ने, सार्वजनिक बिदा र सुविधा नदिने, न्यूनतम ज्याला पनि कार्यान्वयन नगर्ने र सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आनाकानी गर्ने प्रवृत्ति व्याप्त छ।

बैंक तथा वित्तीय संस्थामा श्रम ऐन लागू नहुनु र होटल-पर्यटन क्षेत्रबाट १० प्रतिशत सेवा शुल्क खारेज गरिनुले श्रमिक वर्गमाथि थप अन्याय गरेको छ। श्रमिक आपूर्ति गर्ने दलालहरूको बिगबिगीले त श्रमलाई दासतामा परिणत गर्ने दुस्साहस गरिरहेको छ।

हामी यो अन्याय र शोषणविरुद्ध निर्णायक सङ्घर्षमा उत्रन सम्पूर्ण श्रमजीवी वर्गलाई आह्वान गर्दछौँ। यो मे दिवसमा, हामी सबैखाले भ्रम र सम्झौतालाई तिलाञ्जली दिँदै वर्ग शत्रुविरुद्ध एकताबद्ध भएर लड्ने प्रण गरौँ। हामीलाई खोसिएको अधिकार पुनः प्राप्त गर्न, सुरक्षित, न्यायपूर्ण र समानतामूलक श्रम बजार निर्माण गर्न र श्रमजीवी वर्गको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक मुक्ति सुनिश्चित गर्न हामी निरन्तर सङ्घर्ष जारी राख्नेछौँ।

हाम्रो स्पष्ट अडान छ:

श्रम ऐनको पूर्ण र प्रभावकारी कार्यान्वयन गरिनुपर्छ। श्रमिकमारा दफाहरू खारेज गरिनुपर्छ र रोजगारदाताहरूको ज्यादती अन्त्य गरिनुपर्छ।
सबै श्रमिकलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनुपर्छ। यसको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गरिनुपर्छ।
श्रमिक आपूर्ति गर्ने दलाल प्रथाको तत्काल अन्त्य गरिनुपर्छ। मुख्य रोजगारदाताले श्रमिकको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ।
न्यूनतम ज्याला वैज्ञानिक र जीवन निर्वाहमुखी हुनुपर्छ। यसको कडाइका साथ कार्यान्वयन गरिनुपर्छ।
बैंक तथा वित्तीय क्षेत्र लगायत सबै श्रम क्षेत्रमा श्रम ऐन पूर्ण रूपमा लागू गरिनुपर्छ। श्रमिकहरूको ट्रेड युनियन अधिकार र सामूहिक सौदाबाजीको अधिकार सुनिश्चित गरिनुपर्छ।
होटल-पर्यटन क्षेत्रमा खारेज गरिएको १० प्रतिशत सेवा शुल्क तत्काल पुनर्स्थापित गरिनुपर्छ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको सुरक्षा र अधिकारको ग्यारेन्टी गरिनुपर्छ। दलालहरूको शोषण अन्त्य गरिनुपर्छ।
घरेलु कामदार, फ्रिलान्सर र ई-कर्मचारी लगायत सबैखाले श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइनुपर्छ। डिजिटल श्रम कानुन बनाई अनलाइन शोषण रोकिनुपर्छ।
कार्यस्थलको सुरक्षा र श्रमिक स्वास्थ्यको ग्यारेन्टी गरिनुपर्छ। व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी छुट्टै ऐन निर्माण गरिनुपर्छ।
श्रम विवाद समाधानका लागि अधिकार सम्पन्न मजदूर आयोगको तत्काल गठन गरिनुपर्छ।

हामी विश्वास गर्दछौँ कि श्रमिक वर्ग केवल श्रम शक्ति मात्र होइन, यो परिवर्तनको संवाहक हो। आफ्नो हकअधिकारका लागि सङ्घर्ष गर्ने चेतना र शक्ति श्रमिक वर्गसँग छ। हामीले आफ्नो एकतालाई अझ बलियो बनाउनुपर्छ र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्दै न्यायपूर्ण समाज निर्माणको दिशामा अगाडि बढ्नुपर्छ।

आउनुहोस्, यो मे दिवसमा हामी सबै क्रान्तिकारी श्रमिकहरू एकताबद्ध भएर सङ्कल्प गरौँ– हामी आफ्नो मुक्ति आफैँ हासिल गर्नेछौँ! हामी शोषणमुक्त, न्यायपूर्ण र समानतामूलक समाज निर्माणको लागि संघर्ष जारी राखौं ।

हामी ट्रेड युनियन अधिकारविरुद्ध गरिने हरेक आक्रमणको प्रतिरोध गर्नेछौँ। हामी श्रमिकवर्गका लागि नीतिगत, कानुनी र राजनीतिक दबाब निरन्तर बनाइरहनेछौँ। जबसम्म राज्य, राजनीतिक दलहरु र निति निर्माण तहमा मजदुरको उपस्थिति प्रभावकारी र निर्णायक हुँदैन हाम्रो संघर्ष जारी रहन्छ ।

 

 

श्रमिक एकता जिन्दावाद ! मे दिवस अमर रहोस् !

जगतबहादुर सिंखडा
अध्यक्ष

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*