कविता: चिसा मुढाहरु-जय कार्की

बर्ग-उदेश्य बिस्मृत हुँदै गएका:
चिसा मुढाहरु हत्तपत्त बल्दैनन्
यता फर्काए पनि उता फर्काए पनि
यत्नहरु त्यसै खेर गईरहेका छन्
आखिर चिसो मुढो न ठहरियो ।
गल लाए पनि बल लाएपनि
घच्घच्याए पनि चिमोटे पनि
त्यसको गैंडे बोक्रा ताछेपनि
चाम्रिएको मुढोले
न ऐया गर्छ न त आत्था भन्छ ।
चिसो मुढो चिसो नै ठहरियो
न त्यसलाई समयको पत्तो छ
न त्यसमा इच्छा शक्ति छ
बन्चरेले जाहाँ ढालेको थियो
जतातिर पछारेको थियो
त्यहीं पछारिएकै छ ।
मुढोलाई
दन्दन्ति बालेर
चिसोबाट कठाँग्रिएकालाई
तातो राप दिने सपना अधुरो नै रहने भो
अब जुक्ति फेर्नुपर्छ
मुढाहरुलाई बलिष्ठ बन्चरे लगाई
चिरचार पारी
सुकाउँनै पर्छ
माया ममता नराखी
टुक्राटुक्रा पारी सुकाएर
दन्दनी बाल्नै पर्छ ।
चिसोबाट कठाँग्रिएकालाई
न्यानो राप दिनैपर्छ ।
चिसो मुढोलाई डढाउँने
जुक्ति झिक्नै पर्छ ।
स्वाँ स्वाँ सास फेर्दै
यत्रतत्र ढलिरहेका सुतुवा
मुढाहरुलाई आगो झोसेर
होसमा ल्याउनै पर्छ,
आगो झोसेर ब्युँझाउनै पर्छ ।
कार्तिक २३ गते २०८० साल
जय कार्की
जोरपाटी काठमाण्डौ
.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*