कविता : झरी-जय कार्की
झम्झम् बर्षिरहेछ असारे झरी
किसानको मन हाँस्यो मुसुक्क
छिपछिपे हिलोमा छुपुछुपु रोपौं धान
आउ हलि दाई, आउ बाउसे भाई
आउ रोपाहार बैनी हो ।
मिलीजुली गरौं खेति किसानी
मानो खाई मुरी उब्जाउनलाई ।
अर्म गरौं, पर्म गरौ, लगाउँ बेठी
अन्न हो हाम्रो प्राण
सबले जानी राखौं
रौपौं रोपौं टन्नै अन्न बाली
राख्नुहुन्न अल्छे बनि बाँझो खेतबारी
नयाँ युग आयो
बिकासको प्रविधि नयाँ नयाँ आयो
पुरानो सोचलाई त्यागी
नयाँ विधि र प्रविधिलाई अँगालौं
जति हुन्छ, जति सकिन्छ
थोरै जमिनबाट पनि धेरै अन्न उब्जाउँ ।
के फल्छ बढी, के चल्छ बजारमा
कुन हो नगदे तरकारी ?
त्यो कुरा नबुझीकन लाउनु हुन्न बाली
खेती गर्दा ख्याल गर्नुपर्छ सँधै विविधतामा
त्यसो गर्दा हत्तपत्त परिँदैन नोक्सानी र घाटामा
नबसौं हामी कसैको मुख ताकी
पर निर्भरतालाई अन्त्य गरी
बनौ आत्मनिर्भर र स्वाभिमानी ।
झम्झम् परिरहेकै छ वर्षे झरी
उत्पादन बढाउँ यही मौकालाई छोपी
..
जय कार्की
असार २५ गते
Be the first to comment