कवि उदय प्रकाशको कविता- “सफदर हाश्मी” -अनुः जय कार्की

……………………..
उनी यतै कतै छन
उनी कतै गएका छैनन
उनी यतै कतै छन
उनको लागि नरुनु ।
उनी बालकहरुको टोलीमा रंगीन बुश्शर्ट
लगाएका बच्चाहरुको वीचमा हराएका छन
उनी मैलो कट्टु लगाएर फोहोरको थुप्रोबाट
हरियो, पहेंलो प्लाष्टिकका वस्तुहरु छानिरहेका छन ।
उनी तिम्रो हातमा चियाको कप थमाइ दिन्छन
खवर पत्रिका थमाउँछन
उनी कुनै मेशिन, कुनै रुख, कुनै पर्खाल
कुनै कितावको पछाडि लुकेर गाउँछन ।
पहाडको तल्लो गाउँ जाने सडकमा उनी हाँस्छन
उनको हातमा गहुँ र मकईको झुत्ता छ ।
बहिनी जव हुन्छिन कुनै जंगल, कुनै अँध्यारोमा एक्लै
अनि उनी साइकलमा अचानक कतैबाट हस्याङ्ग फस्याङ्ग गर्दै आउँछन
र उनको वरीपरि घण्टी बजाउन थाल्छन ।
उनी हावाको जीवन, सूर्यको सास, पानीको बाँसुरी
धरतीको ढुकढुकी हुन
उनी समुन्द्रमा फैलिएको छायाँ हुन
उनी मात्रै हड््डी र मात्र छाला थिएनन
मौसमको अम्लमा गलेर जाने
उनी मात्र रगत थिएनन माटोमा सुकेर जाने
उनी कुनै जागिरे थिएनन्् बर्खास्त भएर जाने
उनी जरा हुन हजारौं वर्ष पुरानो
उनी पानीलाई सोस्न सक्छन
धर्तीभित्र भित्रसम्म पुरै पृथ्वी र पतालसम्म घुमिरहेछन ।
उनी आफनो काममा लागेका छन ।
हत्याराहरु खुशी छन ।
हामीले उसलाई खतम गरिदिउँ भनि
उनी कूनै धनाडयको सपना होइनन
सिक्काहरु र असर्फीको आवाजले गल्ने
उनी यतै कतै छन
उनी यतै कतै छन
कुनै साथीसित गफ गरिरहेका छन
कुनै युवती निन्द्रामा उनको सपना देखिरहेकी छन
उनी कसैबाट लुकेर कसैसित भेट गर्न गएका छन ।
उनको लागि नरुनु
कुनै रेलगाडी आइरहेको छ
टाढैबाट सिठ्ठी लगाउँदै
हेर ती तीन जना– सफदर, पाश र सुकान्त
अनि लोर्का, नजरुल एवं मोलाईसे र नागार्जुन
उनीहरु सबै
आउँने छन
भेषभुषा बदलेर नाटकमा आफनो भूमिका पूरा गर्न
ताली र कोरस बीच
मंचको बल्दै निभ्दै गरेको उज्यालो बीच
फेरी गायव हुनेछन
हो उनलाई खोजी गर्नु पक्कै
हरेक अनुहारलाई गहिरिएर हेर्नु
तर उनको लागि नरुनु
रोएर उनलाई नगुमाउनु
उनी यतै कतै छन
उनी यतै कतै छन
………………….
“हल्ला बोल” कानिष्ठा र आस्थाका धरोहर सफदर हास्मी एक प्रतिभाशाली, प्रगतिवादी, सैद्धान्तिक र राजनीतिक कार्यकर्ता, विशेष गरी सडक नाटकका अभियन्ता थिए ।
एक बहुमुखी व्यक्तित्व, उनी एक नाटककार, एक गीतकार, एक थिएटर निर्देशक, एक डिजाइनर र एक आयोजक पनि थिए ।
यी प्रतिभाशाली कलाकारको हत्या तत्कालीन सत्ताधारी काँग्रेस पार्टी निकट रहेका हत्यारा समूहले उनको हल्ला बोल अभियान अर्थात जनचेतनाको आवाजलाई निमिट्यान्न पार्न सन १९८९ को जनवरी १ मा सडक नाटक प्रदर्शन गरिरहेकै अवस्थामा दिल्लीको बाहिरी इलाका साहिदाबादमा विभत्स आक्रमण गरेका थिए ।
त्यसको भोली पल्ट उनको मृत्यु भएको थियो । ती क्रूर हत्याराहरु सबैंलाई सँजाय त भयो नै । तर, एकजना होनहार जनआवाज तथा गहकिला साँस्कृतिक अभियन्तालाई लक्ष्यमा पुग्नै नदिई हत्याराहरुले अल्पायुमै समाप्त गरेका थिए । तर यी महान जनकलाकारको हल्ला बोल अभियनको भने निरन्तर चलि नै रहेको छ अघि बढिरहेकै छ । चलिरहने नै छ ।
यी महान सडक नाटककार, अभिनेता, अभियन्ता सफदर हाश्मीको जन्म १२ अप्रिल सन १९५४ मा दिल्लीमा भएको थियो भने पिता हनिफ हाश्मी र आमा कमर आजादको सन्तान थिए । उनले बाल्यकाल अलिगढमा बिताएका थिए भने स्कूलको शिक्षा दिल्लीबाट पुरा गरेका थिए र, दिल्ली विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरी केही समयका लागि प्राध्यापनको पेशा पनि गरेका थिए ।
मंसिर १३, २०६८
– कवि उदय प्रकाशले सफदर हाश्मीको हत्याको विरोधमा लेख्नु भएको कविता
मंसिर १३, २०६८

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*