कवि उदय प्रकाशको सफदर हाश्मीबारे एक कविता – अनुः जय कार्की
कवि उदय प्रकाशले सफदर हाश्मीको हत्याको विरोधमा लेख्नु भए को कविता । हाश्मीको हत्या २ जनवरी १९८९ मा कांग्रेसी गुण्डाहरुले गरेका थिए । प्रष्टतः राजनीतिक प्रतिशोध गर्नकालागि हत्या गरिएको थियो । बामपक्षीय राजनीतिलाई रोक्न र आतंक फैलाउँन हत्या गरिएको थियो ।
…………………………………………………………………….
उनी यतै कतै छन्
उनी कतै गएका छैनन्
उनी यतै कतै छन्
उनको लागि नरुनु ।
उनी वालकहरुको टोलीमा रंगीन बुश्शर्ट
लगाएका वच्चाहरुको वीचमा हराएका छन्
उनी मैलो कट्टु लगाएर फोहोरको थुप्रोबाट
हरियो, पहेंलो प्लाष्टिकका वस्तुहरु छानिरहेका छन् ।
उनी तिम्रो हातमा चियाको कप थमाइ दिन्छन्
खवर पत्रिका थमाउँछन्
उनी कुनै मेशिन, कुनै रुख, कुनै पर्खाल
कुनै कितावको पछाडि लुकेर गाउँछन् ।
पहाडको तल्लो गाउँ जाने सडकमा उनी हाँस्छन्
उनको हातमा गहुँ र मकईको झुत्ता छ ।
वहिनी जव हुन्छिन कुनै, जंगल कुनै अँध्यारोमा एक्लै
अनि उनी साइकलमा अचानक कतैबाट हस्याङ्ग फस्याङ्ग गर्दै आउँछन्
र उनको वरीपरि घण्टी बजाउन थाल्छन् ।
उनी हावाको जीवन, सूर्यको सास, पानीको वाँसुरी
धरतीको ढुकढुकी हुन्
उनी समुन्द्रमा फैलिएको छायाँ हुन्
उनी मात्रै हड्डी र मात्र छाला थिएनन्
मौसमको अम्लमा गलेर जाने
उनी मात्र रगत थिएनन् माटोमा सुकेर जाने
उनी कुनै जागिरे थिएनन् वर्खास्त भएर जाने
उनी जरा हुन हजारौं वर्ष पुरानो
उनी पानीलाई सोस्न सक्छन्
धर्तीभित्र भित्रसम्म पुरै पृथ्वी र पतालसम्म घुमिरहेछन् ।
उनी आफ्नो काममा लागेका छन् ।
हत्याराहरु खुशी छन् ।
हामीले उसलाई खतम गरिदिउँ भनि
उनी कुनै धनाडयको सपना होइनन्
सिक्काहरु र असर्फीको आवाजले गल्ने
उनी यतै कतै छन्
उनी यतै कतै छन्
कुनै साथीसित गफ गरिरहेका छन्
कुनै युवती निन्द्रामा उनको सपना देखिरहेकी छ
उनी कसैबाट लुकेर कसैसित भेट गर्न गएका छन् ।
उनको लागि नरुनु
कुनै रेलगाडी आइरहेको छ
टाढैबाट सिठ्ठी लगाउँदै
हेर ती तीन जना– सफदर, पाश र सुकान्त
अनि लोर्का, नजरुल एवं मोलाईसे र नागार्जुन
उनीहरु सबै
हतारिदै आउँने छन्
भेषभुषा बदलेर नाटकमा आफ्नो भूमिका पूरा गर्न
ताली र कोरस बीच
मंचको बल्दै निभ्दै गरेको उज्यालो बीच
फेरी गायव हुनेछन्
हो उनलाई खोजी गर्नु पक्कै
हरेक अनुहारलाई गहिरिएर हेर्नु
तर उनको लागि नरुनु
रोएर उनलाई नगुमाउनु
उनी यतै कतै छन्
उनी यतै कतै छन्
………………..
अनुः जय कार्की
मंसिर १३, २०६८
Be the first to comment