चीनिया मजदुर कवि सु लिझीको कविताहरु

कवि सु लिझी: चीनिया मजदुर कवि/भावानुवादः जय कार्की

 

१). मैले फलामको चन्द्रमा निलेंको छु

मैले फलामको चन्द्रमा निलेंको छु
तिनीहरुले त्यसलाई फलामको किला भन्छन्
मैले यो उद्योगबाट निस्केको फोहोर–मैला,
बेरोजगारीको दस्तावेजहरुलाई निलेको छु ।
मेसिनमाथि झुकेको तन्नेरी युवा
उसको उमेरभन्दा धेरै अघि निधन भयो ।
मैले भिडभाड, होहल्ला र विवशतालाई निलेको छु
मैले निलिसकें म हिड्ने पुललाई,
खिया लागेको जिन्दगीलाई,
अब अरु निल्न सक्तिन ।
जे जे निलेको थिएँ ती सबै मेरो घाँटीबाट निस्केर
मेरो पूर्वजको धरतीमा फैलिरहेको छ
एउटा अपमान कविताको रुपमा ।

२). एउटा पेचकस भुईंमा खसेको छ

एउटा पेचकस भुईंमा खसेको छ
ओभरटाइमको यो रातमा
सिधै भुईंमा उज्यालो पोखिएकोे छ
यसले कसैको ध्यान तानेको छैन
अघिल्लो पटक ठीक यसै गरी
यस्तै रातको समयमा एक जना मजदुर
भुईंमा खस्दा ठहरै भएथ्यो ।

 

३). म फलाम जस्तै कडा जोडजाड मेसिनको नजिक ठिङ्ग उभिएको हुन्छु

म फलाम जस्तै कडा जोडजाड मेसिनको नजिक
ठिङ्ग उभिएको हुन्छु
मेरा दुबै हातहरु हावामा तैरिन्छन्
कैयौं दिन कैयौं रातसम्म
म त्यसरी नै ठिङ्ग उभिएकै हुन्छु
निद्रासित पौंठेजोरी खेल्दै ।

लेखकको परिचय:

यी कविताहरू चीनको फक्सकन कम्पनीमा कार्यरत मजदुर सु लिझीका हुन् । लिझीले ३० सेप्टेम्बर २०१४ का दिन उदारवादी आर्थिक प्रणालीले मजदुरवर्गमा लादेको शोषण, दमन र अत्यचार सहन नसकी २४ वर्षको अल्पायुमा आत्महत्या गर्न बाध्ये भएका थिए । त्यसकारण यो आत्महत्या होइन, यो मुनाफाखोर प्रणालीले एक होनहार युवा श्रमिकको सपना र बाँच्ने इच्छाको घाँटी थिचेर मार्यो भनिन्छ ।
लिझीको यहाँ प्रस्तुत गरेको कविताले संसारभरिका मजदुरको हालत र वेदना बोकेको प्रतित हुन्छ ।
लिझी कविता, निबन्ध, चलचित्र समीक्षा र वर्तमान घटनाहरूमा टिप्पणीहरू सहित साहित्यिक कार्यको उल्लेखनीय काम गरेका थिए । फक्सकन कम्पनीमा उत्पादन लाइनको मजदुर भएर दुई वर्ष काम गरेका थिए । लिझीको ३० वटा रचना स्थानीय पत्रिकामा प्रकाशित भएको थियो शेन्जेन इभिनिङ्ग न्युज उनका कविता लेख रचनाहरु श्रद्धान्जलिस्वरुप प्रकाशन गरेको थियो । उनको बारेमा लिबडटकम अनलाईनमा बिस्तृत चर्चा गरिएको लेखरचनाहरु प्रकाशित गरेको छ ।

भावानुवादः जय कार्की
असोज २९ गते २०८१ साल
जोरपाटी
काठमाण्डौ

श्रोतः सिमरन, मजदूर बिगूल २०१४ बाट

 

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*