- जय कार्की
हँसिया हथौडा अंकित रातो फेटा
शिरमा बाँधेको छ
माओको चिटिक्क परेको ब्याज
बायाँ छातीमा टाँसेको छ ।
जुलुशको अगुवाई गर्दै नारा लाउन चतुर छ
लाल सलामको बज्रमुठी उठाउन खप्पिस छ ।
यो केटोको आनीवानी क्रान्तिकारी
कम्युनिष्टको जस्तै छ
सिद्धान्त र व्यवहारको तालमेलबारे
राम्रो प्रवचन दिन्छ ।
भेला, प्रशिक्षण,अभियान कुनै छुटाउँदैन
नेताको भाषणको कोटेशन कन्ठस्थ सुनाउँछ
संगठन निर्माणको डिङ पनि खुबै हाँक्छ
आन्दोलन र संघर्ष उसको ओठमै झुण्डेको छ
समय र परिस्थिति अनुकूल
नेताहरुको महिमा मण्डन गर्न
अति चतुर छ
यो केटो –
सबैलाई जन्म दिनको शुभकामना दिन
कहिल्यै छुटाउँदैन,
मराउ, पराउमा पनि खुबै अघि सर्छ
यो केटो-
उस्तै परे बर्ग संघर्ष शुरु गर्न खोजिहाल्छ
यसले यस्तो गुड्डी हांक्छ की
यस्ले नलडेको युद्ध छैन
यस्ले नजितेको युद्ध छैन
यसले नेतृत्व नगरेको
जनआन्दोलन
मधेश आन्दोलन
जनजाति आन्दोलन
दलित आन्दोलन
युवा आन्दोलन
महिला अधिकार आन्दोलन
लोपोन्मुख जातिको आन्दोलन
यी सबै आन्दोलनमा लडेको कथा कस्तो लय हाली हाली
भाका फेरी फेरी प्रत्यक्ष प्रशारण सुनाउँछ
मजदुरको जुलुशमा घुसेर
विश्वका मजदुर एक हौं भन्न पनि भ्याको छ रे ।
यसले नेतृत्व बर्गच्यूत हुन लाग्यो भनि
नथर्काएको दिन छैन ।
चेतावनि नदिएको समय छैन
यसले मृतदेखी सबै जीवित नेताको भाषण सुनेको छ
सहीदका सपना साकार पार्ने कुरा गर्छ यो केटो
बेपत्ता र घाइते अपाङ्गप्रतिको अगाध श्रद्धा जनाउँछ
अनि उस्ले
कैयौं मालेमावादी दर्शनका कृति, दस्तावेज पनि पढेको कुरा गर्छ
जनवादी गीत लय हालेर गाउँदै मन्त्रमुग्ध पार्छ यसले
तर कालक्रममा यसको एक दोटा
लुकुवा बैगुनले सबलाई झसङ्ग पार्छ
डोकोले छोपेको तामाको बिस्तारै बिस्तारै मुना हल्केझैं
यसको कथित सक्रियताको रहस्य पत्र पत्र भएर खुल्दै गयो ।
केटो त-
मद्यपान आदति रहेछ
भूमिगत कालमा प्रयोग गरिएको कोड भाषा
इंग्लिस र म्याथमा अब्बल दर्जाको ठहरियो
ठगठाग उसको मूलमन्त्र
संगठन भाडमै जावस
पार्टीलाई जुवाको खालमा हाली
हरामको कमाई कमाउन खप्पिस
यो केटो कम्युनिष्ट आदर्श जस्तै लाग्थ्यो
यो केटो त पार्टी संगठनको धुल्याह परेछ
यो केटो त पार्टीको मुल्याहा रहेछ
रातो देखिने सबै काठ रक्त चन्दन हुँदैन भन्थे
त्यस्तै परेछ यो केटो ।
खै के प्रबृत्ति
खै के प्रबृत्ति
यो केटाले जन्माएको छ अनौठो प्रबृत्ति?
.
जय कार्की
असार २५ गते २०८० साल
Be the first to comment