समाजवादी क्रान्ति र हाम्रो कार्यभाार– अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री एबं अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

नेपाल कम्युनिष्ट पार्टीको स्थापनाकाल देखि नै नेपाली समाजका दुई विशाल पहाड सामन्तवाद र साम्राज्यवादको अन्त्य गरी जनवादी क्रान्तिको कार्यभार पुरा गर्ने लक्ष्य लिईएको थियो । सशस्त्र र शान्तिपूर्ण, बैधानिक र अवैधानिक, खुल्ला र भुमिगत विद्रोह र आन्दोलनको परिणामतः नेपाल जनवादी क्रान्तिको मूल कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको तयारीको चरणमा प्रबेश गरेको छ ।
हाम्रो पार्टीको २०७९ पुस ११–१८ मा सम्पन्न ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनले २१ औं शताब्दीको भूमण्डलीकृत बित्तीय एकाधिकार पुँजीवादको विश्लेषणसहित समाजवादी क्रान्तिको मौलिक कार्यदिशा संश्लेषण गरेको छ । २१ औं शताब्दीमा समाजवादको नेपाली बाटो दस्तावेजमा नेपाली समाजवादी क्रान्तिको बस्तुगत र आत्मगत आधार समाजवादको तयारीका निम्ति कम्युनिष्ट क्रान्तिकारीको कार्यभार र आगामी बाटोबारे महत्वपूर्ण संश्लेषण गरिएको छ । समाजवादी क्रान्तिको कार्यदिशामा पूर्णताको अर्थमा नभएर प्रारम्भिक गोरेटोको रुपमा संश्लेषित उक्त निष्कर्षलाई आगामी विशेष राष्ट्रिय महाधिवेशनबाट थप परिस्कृत र मृर्तिकृत गर्ने सङ्कल्प गरिएको आठौ महाधिवेशनको संश्लेषणले नयाँ उचाईबाट बहसको माग गर्दछ ।

हरेक राजनीतिक क्रान्तिको सफलता र असफलताको अन्तर्यमा विचारधारात्मक राजनीतिक कार्यदिशाको सर्वोपरि भूमिका रहन्छ । सही विचारधारा र कार्यदिशाको जगमा नै हरेक देशको कम्युनिष्ट आन्दोलनले चुनौतीलाई अवसरमा बदल्ने सामथ्र्य राख्छ । तसर्थ, निरन्तर विचारको विकासको प्रक्रियाबाट नै कम्युनिष्ट आन्दोलनका बिद्यमान चुनौतीलाई छिचोल्न सक्छौं र समाजवादको आधार तयार पार्न सक्छौं भने यथार्थमा सिङ्गो पार्टीको एकमत बुझाई आवश्यक छ ।
आजको विश्व परिस्थिति माक्र्स–एंगेल्स, लेलिन–स्टालिन, माओत्सेतुङ तथा २१ औं र २० औं शताब्दीमा विश्वका विभिन्न मुलुकमा सम्पन्न भएका क्रान्तिको बस्तुगत धरातल भन्दा भिन्न रुपमा विकास भएको छ । मुनाफाको लालसासहित अगाडि बढेको औद्योगिक पुँजीवाद आफ्नो विकासका अनगिन्ती घुम्ती र मोड पार गर्दै साम्राज्यवाद, भूमण्डलीकृत साम्राज्यवाद, वित्तीय एकाधिकार पुँजीवादको चरणसम्म आइपुगेको छ । यो यहि रोकिनेवाला पनि छैन । तसर्थ, पुँजीवादको विकासको परिदृश्यमा कम्युनिष्ट एवं समाजवादी शक्तिले समेत विश्व परिस्थितिमा आएको हेरफेर, उत्पादन पद्धतिको चरित्रमा आएको परिवर्तन, भूराजनीतिक अवस्थिति र सन्तुलन, विज्ञान प्रविधिको बहुयायमिक विकाशले उत्पादन सम्बन्ध, सामाजिक संरचना, वर्गचरित्र, वर्गसंघर्षमा आएको परिवर्तन, राजनीतिक परिस्थति र शक्ति सन्तुलन एवं समाजवादको लक्ष्यजस्ता पक्षलाई विचार गरेर आफ्नै देशको मौलिक र विशिष्टतासहितको राजनीतिक कार्यदिशाको छनोट गर्नु आजको अनिवार्य आवश्यकता हो ।
जतिवेला माक्र्स–एंगेल्स कम्युनिष्ट घोषणापत्र लेख्दै हुनुहुन्थ्यो, त्यतिवेलाको विश्व परिस्थिति भर्खर सामन्तवादको अन्त्य र पुँजीवादको प्रारम्भिक विकासको अवधि थियो । तात्कालिन परिस्थितिमा माक्र्स–एंगेल्सले सामन्तवाद भन्दा औद्योगिक पुँजीवाद प्रगतिशील भएको निष्कर्ष निकाल्दै तर पुँजीवादी ब्यवस्था मुनाफाको असमिति लालसामा केन्द्रित भएकाले त्यसको पतन अनिवार्य भएको संश्लेषण गर्नुभएको थियो । त्यही प्रस्तावनामा छेकेर मुख्यतः युरोप र अन्य विकसित मुलुकमा मजदुर आन्दोलन संगठित मात्र भएनन् समाजवादको वहसले पनि तीव्रता लिंदै गयो । पहिलो र दोस्रो अन्तर्राष्ट्रियमा चलेको बहसले समाजवादी धारा र संशोधनवादी धाराबीच स्पष्ट मार्गचित्र कोर्न र बैज्ञानिक समाजवादको ब्यबस्थित मार्गचित्र विकासका निम्ति ऐतिहासिक योगदान ग¥यो ।

औद्योगिक उत्पादनमा केन्द्रित रहेको अतिरिक्त मूल्यको शोषण र विभेदकारी ब्यबस्था हुँदाहुँदै पनि उत्पादनशील चरित्रको भएको कारण पुँजीवाद एक हदसम्म प्रगतिशील नै थियो । तर मुनाफाको होडमा अधिक उत्पादनको लालसाले पुँजीवाद राष्ट्रिय सीमा नाघेर विश्वव्यायीकरणको दिशामा अग्रसर रह्यो । त्यसले पुँजीवादको प्रगतिशील चरित्रमा ह्रास मात्र आएन, अपितु राष्ट्रिय शोषणको चरित्रमा अन्तर्राष्ट्रियकरण पनि हँुदै गयो । २० औं शताब्दीको प्रारम्भसम्म आइपुग्दा औद्योगिक पुँजीवाद भूमण्डलीकृत सम्राज्यवादमा परिणत हुँदै गयो । त्यहि विश्लेषणको आधारमा लेलिनले अन्तरसाम्राज्यवादी अन्तरविरोधका बीच राजीनितक, आर्थिक दृष्टिले पिछडिएको एउटा मुलुकमा पनि साम्राज्यवाद सम्भव छ भन्ने तथ्य सैद्धान्तिक रुपमा मात्र अगाडि सार्नु भएन, सन् १९१७ मा महान समाजवादी अक्टोवर क्रान्तिमार्फत आफ्नो सैद्धान्तिक प्रस्तावनाको ब्यबहारिक औचित्यसमेत प्रमाणित गर्नुभयो । सशस्त्र विद्रोहको कार्यदिशामा आधारित रुसी समाजवादी क्रान्ति विश्वक्रान्तिको नयाँ मोडेलको रुपमा समेत स्थापित रह्यो ।
पहिलो विश्वयुद्धको समाप्तीपछि दार्शनिक, सैद्धान्तिक र भौतिक शक्तिका दृष्टिले समाजवादी धारा बलशाही बन्दै गयो । त्यही पृष्ठभूमिमा स्थापित चिनियाँ कम्युनिष्ट पार्टीले औद्योगिक पुँजीवादीको विकास नभईसकेको अर्धसामन्ती र अर्धऔपनिवेशिक चरित्र भएको मुलुकमा गाउँले शहर घेर्ने रणनीतिमा आधारित दीर्घकालिन जनयुद्धको माध्यमबाट क्रान्ति सम्पन्न गर्न सकिने निष्कर्ष अगाडि सा¥यो । बीसौं शताब्दीको तेस्रो दशकदेखि शुरु भएको विश्व आर्थिक मन्दीको समेत पुष्ठभूमिमा पुँजीवादी शक्तिहरुले संकटमोचनको नयाँ सुत्र अगाडि सारे, जसले भूमण्डलीकृत साम्राज्यवादलाई बित्तीय साम्राज्यवादमा रुपान्तरीत ग¥यो । कमरेड माओत्सेतुङको नेतृत्वमा सामन्तवाद र साम्राज्यवादको गठजोड रहेको तेस्रो मुलुकमा मजदुर–किसानको एकतामा आधारित दीर्घकालिन जनयुद्धको बाटोमा क्रान्ति सम्पन्न गर्ने कार्यदिशा संश्लेषण गरियो । सन् १९४९ मा सम्पन्न चिनियाँ नयाँ जनवादी क्रान्ति त्यसैको उत्कर्ष थियो ।
बीसौं शताब्दीको महान् क्रान्ति र भयानक प्रतिक्रान्तिको सामना गर्नुप¥यो । सोभियत संघको विघटनपछि पुँजीवादी शक्तिहरु बहुध्रुवीय विश्वको अन्त्य र पुँजीवादी ध्रुव निर्विकल्प भएको निष्कर्षमा मात्र पुगेनन्, त्यही निष्कर्षमा आधारित भएर एकल विश्वब्यवस्थाको प्रयास अगाडि बढाउने कोशिससमेत गरे । तर २१ औं शताब्दीको तेस्रो दशकसम्म आइपुग्दा विश्वब्यबस्थामा गुणात्मक हेरफेर भएको छ । पुँजीवादी विश्लेषकहरु नै एकल ध्रुवीय विश्व ब्यवस्था असम्भव रहेको निष्कर्षमा मात्र पुगेका छैनन्, अपितु बहुध्रुवीय विश्वले नै पुँजीवादी अति उत्पादन र हिंसाका कारण पर्यावरण र विश्व मानव जातिको नै भविश्यमाथि परेको संकट समाधान दिनसक्ने बताइरहेका छन् ।
गत कार्तिकमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आफ्नो नेपाल भ्रमणका क्रममा विकसित मुलुकहरुको औद्योगिक उत्पादन र विश्वब्यापी द्दन्द्दका कारण नेपाल लगायत हिमालय देशहरुले भयानक प्राकृतिक प्रकोपहरुको सामना गर्नुपरेकोमा जोड दिँदै नेपालको संघीय संसदलाई सम्बोधन गर्दै एकध्रुवीय विश्व समाधान नभई संकटको कारक भएकोले बहुध्रुवीय विश्वको अनिवार्यतामाथि आफ्नो गहन विचार प्रस्तुत गरेका थिए । उल्लेखित सन्दर्भले समेत २० औं शताब्दीको विश्वब्यबस्था र वर्तमान परिस्थिति र शक्ति सन्तुलनमा गुणात्मक परिवर्तन भएको तथ्य प्रमाणित हुन्छ ।
नेपाली जनताको सात दशक लामो संघर्ष र वलिदानीपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । क्रान्तिका उपलब्धिको संश्लेषणसहित २०७२ सालमा जारी संविधानले समाजवादउन्मुख राज्य निर्माणको परिकल्पना मात्र गरेको छैन, अपितु समाजवादको आधार निर्माणमा केन्द्रित रहेर आम जनतामा सरोकारका विषयलाई मौलिक हकका रुपमा परिभाषित गर्दै समाजवाद निर्माणको ढोका खोलिदिएको छ । यहाँ प्रश्न संविधानतः प्राप्त अधिकारप्रतिको समान बुझाई, कार्यान्वयनको तत्परता र प्रगतिशील विषेशतासहित रुपान्तरणको हो । यसका निम्ति कम्युनिष्ट एवं वामपन्थी शक्तिले एकतावद्ध पहल लिनुपर्ने हुन्छ । यस सन्दर्भमा हाम्रो पार्टीले साम्राज्यवाद विरोधी शक्तिविरुद्ध वामपन्थी तथा लोकतान्त्रिक शक्तिबीच सहकार्य र बामपन्थी शक्तिबीचको एकतामा निरन्तर जोड दिँदै आएको प्रष्ट नै छ ।
महान जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको बलमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान प्राप्त गरेका छौ । परिवर्तनकारी संघर्षकै बलमा गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय स्थापित भएको छ र समाजवादउन्मुख राज्य निर्माणको संकल्प संविधानको प्रस्तावनामा नै लेखिएको छ । यो सामन्य विषय होइन ।
यद्यपि, राजनीतिक ब्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरुप जनताको जीवनमा परिवर्तन ल्याउने कार्यभारका निम्ति अझै ठुलो मेहनत र संघर्ष गर्नुपर्ने स्थिति हाम्रो सामु छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानले परिकल्पना गरेअनुरुपका संघीय कानून निर्माण गरि परिवर्तनलाई संस्थागत गर्ने प्रक्रिया पूर्ण भइसकेको छैन । यहि संक्रमणकालको फाइदा उठाएर देशलाई फेरि प्रतिगामी दिशामा धकेल्न पुनर्उत्थानवादी शक्ति विभिन्न ढङ्गले चलखेल गर्न खोज्दैछन् । तसर्थ, संविधानको प्रगतिशील कार्यान्वयनमार्फत् परिवर्तनका मुद्धा संस्थागत र सुदृढ गर्नुपर्ने कार्यभारलाई हामीले गम्भिरतापूर्वक लिनुपर्दछ ।
हाम्रो संविधानको मूलतः तीन खम्बा छन् एक, गणतन्त्र, दुई संघीयता र तीन धर्मनिरपेक्षता । यी तीन खम्बामध्ये कुनै एकमाथि प्रहार हुँदा त्यसको प्रभाव सिङ्गो ब्यबस्थामाथि नै पर्न जान्छ तसर्थ संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने कुनैपनि प्रकारका षड्यन्त्र परिवर्तनकारी शक्तिका निम्ति मान्य हुँदैनन् । यसमा हामी सबै चनाखो हुनै पर्दछ । यिनै प्राप्त उपलब्धीमा टेकेर संविधानको प्रगतिशील कार्यान्वयनमा जोड दिँदै अगाडि बढेर मात्र समाजवादको आधार तयार पार्न सकिन्छ भन्ने तथ्यमा समेत हाम्रो समान बुझाई आवश्यक छ ।
“ठोस परिस्थितिको ठोस विश्लेषण” माक्र्सवादको सबैभन्दा ठुलो प्रस्तावना र पुँजी हो । माक्र्सवाद मानव जातिमाथि हुनै सबैप्रकारका शोषण, विभेद र उत्पीडनका विरुद्धको दर्शन हो । चाहे वर्गीय होस, जातीय होस, क्षेत्रीय होस, वा अन्य कुनै पनि प्रकारको उत्पीडन । माक्र्सवादले ती सबै उत्पीडनको विरोध र मानव मुक्तिको वकालत गर्दछ । तसर्थ, कुनैपनि देशको ठोस परिस्थितिका आधारमा कम्युनिष्ट पार्टी र परिवर्तनकारी शक्तिले लिने नीति र राजनीतिक कार्यदिशा पनि सम्बन्धित देश, काल वा परिस्थितिमा निर्भर रहन्छ । नेपालको सन्दर्भमा हाम्रो उत्पीडनको स्वरुप वर्गीय मात्र होइन, जातीय, क्षेत्रीय, लैङ्गिक र सांस्कृतिक उत्पीडन पनि छ । यस्तो मुलुकमा कुनैपनि कम्युनिष्ट पार्टीले बर्गीय मुद्धाका साथै जातीय, क्षेत्रीय, लैङ्गिक र सांस्कृतिक मुक्तिको प्रश्नलाई सँगसँगै उठाउँछ र उठाउनु पर्दछ । यो नै साचो अर्थमा माक्र्सवादको सही बुझाई र सही प्रयोग पनि हो । तसर्थ, यो दार्शनिक एवं सैद्धान्तिक मान्यतामा सिङ्गोे पार्टी र सम्पूर्ण परिवर्तनकारी शक्ति एकीकृत हुनै पर्दछ ।
हाम्रो पार्टी विधान सम्मेलन हुँदै विशेष राष्ट्रिय महाधिवेशनको पूर्वसन्यामा छ, जहाँ विचार, राजनीति, कार्यदिशा र संगठनमा केन्द्रित रहेर २१ औं शताब्दीको कम्युनिष्ट पार्टी र समाजवादी कार्यदिशाकेन्द्रित बहस हुनेछ । उक्त बहसले कार्यदिशाको बुझाईमा रहेको अस्पष्टता, त्यसको थप ब्याख्या र परिमार्जनसहितको विकास प्रक्रियामा गुणात्मक योगदान पु¥याउने हाम्रो विश्वास छ । विशेष महाधिवेशनलाई केन्द्रमा राखेर अगाडि बढाइएको यस प्रकृतिको छलफलले हजारौं टाउकाको केन्द्रिकरणभित्र नै सही विचार र कार्यदिशाको भविष्य अन्तर्निहित रहन्छ भन्ने तथ्यलाई फेरि एकपटक प्रमाणित गर्नेछ ।
महान जनयुद्धको २१ औं बार्षिकोत्सवको अवसरमा हाम्रो पर्टी ऐतिहासिक प्रथम विधान सम्मेलनमा जुटिरहेको छ । प्रथम विधान सम्मेलनका केही महत्वपूर्ण कार्यभार छन् । विगत ३० वर्षदेखि विचार र नीतिका दृष्टिले सिङ्गोदेश हाम्रो वरिपरि संकेन्द्रित छ । तर, जनमत र संगठनात्मक जीवनका दृष्टिले माओवादी आन्दोलनले क्षयीकरणको सामना गर्नु परिरह्यो । हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भएयता सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गरिएका कामकारवाहीले पार्टी पुननिर्माणका निम्ति महत्वपूर्ण आधार तयार पारेको छ । गत भदौदेखि पुससम्म संचालित “जनतासंग माओवादीः विशेष रुपान्तर अभियान”ले पार्टी पुननिर्माणको संगठनात्मक जग बसालेको छ । यही धरातलमा उभिएर पार्टीलाई बिधि र पद्धतिका आधारमा सञचालन गर्दै क्रान्तिकारी शक्तिलाई संगठित र एकतावद्ध गर्ने कार्यभार प्रथम विधान अधिवेशनसामु छ ।
वैज्ञानिक र व्यवस्थित पार्टीले मात्र आफुलाई आत्मगत रुपमा संगठित र सुदृढ गर्दै विद्यमान राजनीतिक चुनौतीलाई सम्भावनामा रुपान्तरण गर्न सक्छ । यसका निम्ति पार्टीको संगठनात्मक जीवनमा देखापरेको अकर्मण्यता, अराजकता, विधिहिनताको स्थिति अन्त्य गर्दै ब्यबस्थित पार्टी निर्माणमा अग्रसर हुनुपर्दछ । विधान अधिवेशनमा सम्पूर्ण कमरेडहरु ब्यबस्थित पार्टी निर्माणको ध्येयलाई केन्द्रमा राखेर उद्देश्यमूलक बहसमा केन्द्रित हुनु आवश्यक छ । यसबाट मात्रै अधिवेशनको निर्दिष्ट कार्यभार पूरा गर्न सकिन्छ ।
नेपाली समाजको रुपान्तरणका निम्ति सञ्चालित महान् जनयुद्धको २९ औं बार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको विधान अधिवेशनले पार्टीको संगठनात्मक जीवनलाई ब्यवस्थित र सुदृढ तुल्याउँदै समाजवादी क्रान्तिको ब्यबस्थित तयारी गर्ने विशेष महाधिवेशनको तयारीका निम्ति महत्वपूर्ण आधार खडा गर्नुपर्दछ । मेरो गहिरो विश्वास छ प्रथम विधान अधिवेशनले उल्लेखित कार्यभार पूरा गर्दै कम्युनिष्ट आन्दोलन र सिङ्गो राष्ट्रको नेतृत्व गर्ने विचार, पार्टी, नीति र नेतृत्व निर्माणमा ऐतिहासिक योगदान गर्नेछ ।

- होटल मजदुर आन्दोलनको “दर्पण” पुस्तकबाट

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*