चुनावीे मौसमले गर्मिएको मौका छोपेर
एउटा सुरक्षित दुलोबाट फुत्तफुत्त निस्केर
अर्को आरामको दुलोमा सर्पहरु लुत्तलुत्त पस्दैछन् ।
सर्पहरु यत्ति सलबलाई रहेका छन कि
हुलका हुल बाँधेर एउटा दुलोबाट
अर्को दुलो दैनिक जसो चहार्दै छन ।
सर्पहरु अचेल खाँटी क्रान्तिकारी हुन थालेका छन्
सर्पहरु घोर प्रजातन्त्रवादी र राष्ट्रवादी हुन थालेका छन्
सर्पहरु अचेल अब्बली एमसीसी बिरोधी भएका छन्
सर्पहरु आफुलाई हाताहाती बिक्री गर्न
थरीथरीका बिष बमन गरिरहेका छन् ।
सर्पलाई दुध पिलाउँने जत्थाले
यत्तिमात्र हेक्का राखेको भए
आज उनिहरुले टाउकोमा हात राखी
खुईया गर्नुपर्ने थिएन ।
सर्पहरुले पहिला आफु आश्रित आश्रयको धज्जी उडाउँदै
नयाँ दुलोको बखान गर्न थालेका छन्
पुरानो आश्रय र अभिभावकप्रति दुर्वाच्यको तुफान खडा गरी,
झड्केलाहरुको हातबाट खादा र अबिर थापेर
सर्पदम्स नाचमा मस्तराम हुन थालेका छन् ।
यी सर्पहरु हरेउ जातका पनि हुन्
हरियो घाँसमा ढलीममली गर्नुसम्म गरेका थिए
घाँसमै लुकेर
घाँसकै आडा लिएर
सोझा र निम्छरालाई
डस्नुसम्म डसेका थिए लुट्नुसम्म लुटेका थिए
Be the first to comment