फूलको कविता शब्दको रमिता-प्रगतिशील कवि पूर्ण विराम

फूलको कविता शब्दको रमिता
फूलको कविता शब्दको रमिता
अँध्यारोमा रोइरहेका छन् फूलहरू
बगैँचामा लामो फित्ता भएको जुत्ता घुमिरहेको छ
यसपालि एउटा माउसूलीले अर्को माउसूलीको सलाम खायो
यसपालि कुकुरले कुकुरलाई नै चाटेर नाम कमायो
हामीहरूको मृत्युमा दुःख फुकेजस्तो गर्न
शब्दको रमिता बोकेर सदैव एउटा नराम्रो काग उभिरहन्छ
कुन -कुन घरमा के -कस्ता फूलहरू फुलेका छन्
कुन – कुन घरमा क – कसका बच्चाहरू
के कस्ता भुरुङमा भुलेका छन्
यसपालि एउटा गिद्ध प्रेमी अभिनेताले
घर- घरमा एउटी नर्तकी पठाएर खानतलासी गरेको छ
बाहिरबाट मेरो देशलाई मुर्दावाद ! नभन
भित्र नछामिकनै सेतो तन्ना ओढेको छ भन्दैमा
जिन्दावाद र जिन्दावाद ! पनि नभन
यसपालि धेरै चुलाहरू आगो नपाएर मुर्मुरिएका छन्
यसपालि धेरै चुराहरू अर्को देशको लडाईंमा फुटेका छन्
जीवनलाई साँझको रूपमा भोगिरहेको आँखालाई सन्चो छैन
सेता फुलहरू च्यापेर ओथारो बसेको कुखुरालाई पनि सन्चो छैन
यसपालि एउटा सिंहले अर्को सिंहसँग
अझ बढी अत्याचार कसरी गर्ने सिक्यो
यसपालि एउटा बगरेले अर्को बगरेको भन्दा धारिलो चुपी झिक्यो
मेरो मनलाई तावा बनाएर आफ्नो रोटी नपकाऊ
पीठोमा कत्ति कीराहरू छन् त्यो मलाई राम्रोसँग थाहा छ
हिजो आज ऋतुहरू मृत्युको गन्ध फैलाइरहेका छन्
सिमानामा बेहोस हुने फूलहरू झांगिएका छन्
यसपालि बाढीले खोला बगाएन मान्छेहरु बगायो
यसपालि बाली मरेन बरु बालीले लुकेर मान्छेहरू मार्यो
भन्छन् नाङ्गो मान्छेलाई कपडा दिने धुनमा आगो बाल्नु हुँदैन
कपडाको लागि यसपालि छातीमा आगो बालेर
आफ्नो मृत्युको गते सम्झे कसो होला ?
कस्तो हुन्छ दिन मृत्यु नजिकै उभिएको बेला
आफ्नो आँखाले हेरिदिए कसो होला ?
यो शताब्दीमा कुकुरहरूले फैलाएका कमजोर स्याँठ छल्नका लागि
केही कविताहरू ओढेर म मुर्दा हुन लागिरहेको छु
आगो बालेर मलाई नजलाउनू कविता प्रेमीहरू
मेरो मासुमा आँखा गाड्ने गिद्ध मेरो आँगनमा अवस्थित छ
यसपालि एउटा झोलाबाट इतिहासलाई नपुंशक बनाएर
बेपत्तासँग एउटा परपराउँदो अनुहारले जथाभावीसँग टिम्बुर बाँड्यो
टिम्बुर खाएर मुर्दाहरूले तीखो बोलीभित्र
टिम्बुर बाँड्नेकै तारिफ गरे
घाम नझुल्केको कुरामा दुखित भएर
यसपालि एउटा अरनिकोले देश छोड्यो
कविताको लागि खप्नुपर्ने सङ्कट बिर्सेर
यसपालि एउटा कविले कविता नै लेख्न छोड्यो
बाहिर फूलहरू निख्लाम छन्
भोको प्रदेशमा फूल चपाउने
जिब्रा र दाँतहरू शब्दको रमिता बोकेर घुमिरहेका छन्
यसपालि भोक लाग्दा स्वर सुकेका फूलहरूले जगात भन्न सकेनन्
यसपालि ती फूलहरूका बारेमा कविहरूले पनि कविता लेख्न सकेनन्
को कहाँ सुतिरहेको छ ? को कुन चारपाटे पल्टिरहेको छ ?
राति मसाल बोकेर हिँड्नेहरू किन मुर्दा भइरहेका छन्
यसपालि एउटा शङ्कामाथि अर्को आशङ्का थपिएको छ
पिरामिड अझै कोर्राको इतिहास भोगिरहेको छ
घाँस अझै कुश बनेर कालो तीलसँग मिसिएको छ
बाहिर खोपाएर के गर्नु ? मनमा अझै बिफर फैलिएको छ
सर्पलाई टुक्रा- टुक्रा पार्न सक्ने न्याउरीमुसा
भूगोलबाट हराएको छैन जसले भन्ला
कहिले घामको जुलुसलाई कहिले पानीको जुलुसलाई
आफ्नो तीखो सङ्गीन देखाएर सिपाही लम्केको छैन कसले भन्ला
मलाई अचानो नबनाऊ र कर्मपात्रो नबनाऊ
मलाई कविताको सहरमा सस्तो कवि नबनाऊ
बाहिर घाम लाग्दैन म सेतो पट्टी बाँध्न सक्दिन
बाहिर रगतको वर्षा पनि थामिदैन म शान्तिको कविता पनि लेख्दिन
कसैले कसैलाई मन र पेट दिए पनि
आफ्नो विचारमा परिवर्तन र भोको पेटको अवस्था जाहेर गर्न सक्दैन
यसपालि एउटा अर्दलीले अर्को अर्दलीलाई नमस्ते गर्यो
केवल नमस्ते गर्यो कुनै नौलो कुरा गरेन
हाकिमले पानी मागेको बेला आफैंले सारेर खानुस्
यसपालि यस्तो कुरा कुनै अर्दलीले गरेन
केही फूलहरू बैठक कोठाको फूलदानीमा सजिएका छन्
मन नलागे पनि फूलका आँखाहरुले गाजल लाउनुपर्छ
यसपालि कति फूलहरू कालो ओडारभित्र बलेको
एउटा बत्तीमा पुतली डढे जस्तै डढे र
बैठक कोठा जीवनको लागि कारागार सिद्ध भयो
शब्दको छडी हातमा लिएर शब्दको रमिता देखाउने
यसपालि कसैले पनि आँट गरेन
म यो ओडारलाई सलाम भन्न सक्दिन
बरु कुनै डोरीमा आफूलाई झुण्ड्याएर
आफ्नो हत्यारा आफैं हुने श्रेष्ठ चेष्टा गर्न सक्छु
मलाई ऊ जन्मेको रद्दी कविता नसुनाउनु
उसले कहिल्यै पनि निषेधको जवाफ निषेधको रूपमा दिएन
सदैव अराजकता फैलायो उसले कहिल्यै रातो गुलाफ इतिहासलाई दिएन
यसपालि सडकमा बसेर गोल्फुकी खान लाग्दा
बतासले गोल्फुकी उडाएको कथा पनि छ
यसपालि कोठामा बसेर कविता लेख्न लाग्दा
बत्ती निभेर कविता अधूरो भएको व्यथा पनि छ
यस प्रकारको कथालाई शब्दमा उनेर
यसपालि कुनै कथाकारले कथा लेखेन
यसपालि मेरो अधूरो कवितालाई
किन अधूरो भयो कसैले प्रश्न गरेन
औंला दिएपछि औंला खाएर बसोस् माछा
कुनै दिन कविता बल्छी भएको आरोप म खप्न सक्छु
अहिलेलाई असलाहरू निलेर बसोस् माछा
कुनै दिन माछा मरेको बहानामा म छुट्टी मनाउन सक्छु
अर्को साल फूलहरू चीललाई सलाम नगर
चिलले बोकेको इतिहासको थोत्रो हावा वरिपरि आफूलाई नझुकाऊ
यो बस्ती चिलको कारणले नै गन्हाइरहेको छ
यस्तो गन्हाउने प्रवृत्ति बोकेको बस्तीलाई
आफ्नो नाक टोक्न नदेऊ
कुनै सहर मखमली लुगाको आगमनमा आफ्नो टोपी फुकालेर निहुरिन्छ
कुनै गाउँ आफू नाङ्गो भएरै पनि सुलसुलेको अगाडि नाङ्गो छैन भनिरहन्छ
यसपालि कुनै कविले फूलको कविता लेख्यो
कविता मात्रै लेख्यो कुनै नौलो कुरा लेखेन
यसपालि कुनै फूल रोयो, रोयो मात्रै कुनै विद्रोह गरेन
यसपालि छाती कुल्चेर दशैं मनायो जुत्ताले
यसपालि मन भत्काएर दशैं मनायो जुकाले
यस्तो अपराध सधैँ- सधैँ भइरहेको छ
यसपालि सालको पात टिप्यो
टिप्यो मात्रै कसैले थालको लागि
थाल कस्तो हुन्छ थाहा पाएन
यसपालि ढोका बनायो ढोकेले
ढोकाबाट कसरी अन्याय छिर्छ थाहा पाएन
यसपालि फूलहरू आकाशले चट्याङ पार्छ नसुनाऊ
चट्याङ पार्छ केवल हामीलाई मार्छ कुनै नौलो कुरा हुन्छ नबताऊ
यसपालि एउटा पुरोहितले आफ्नो जजमानलाई मन्त्र सुनायो
यसपालि एउटा माग्नेले शब्दको रमिता बोकेर हात फैलायो
अझै पनि म फूलको कविता लेखेर भन्दैछु –
शब्दको रमिता बिल्कुलै बन्द गर्नुपर्छ
पुरोहित र जजमानको सम्बन्ध बिल्कुलै विच्छेद गर्नुपर्छ
यसपालि एउटा चमेरोले अँध्यारोमा गीत गायो
गीत मात्रै गायो कुनै बिहानीको चाँजो मिलाएन
यसपालि कपाल खौरेर कसैले सेतो टोपी लायो
सेतो टोपी मात्र लायो तर व्यवहार सेतो पारेन ।

प्रगतिशील कवि पूर्ण विराम

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*