साँखिने डुंगा-जय कार्की

………….
घर त मेरो याहाँ होइन नौडाँडा पारी,
जुग जाने पिरती लाउने भए,
मायालु देउ मलाई सगुन पान–सुपारी
सिमसिम पानी पर्ने रमाइलो त्यो गाउँ
लुम्ले नै हो ।
अमर पिरती गाँस्ने नौडाँडा
त्यो रमाइलो मैदानी गाउँ हो ।
म त आएँ मुगलिनको त्रिशुली–त्रिबेनी कटेर
गैछन् माया घुम्नलाई सारङकोट
केबलकार चढेर ।
फर्क माया लौ झट्टै पाराग्लाइडिङ सरर चढेर,
बसेको छु म त फेवातालको पामे बजारमा
तिमीलाई पर्खेर ।
साटौं पिरती अन्नपूर्ण हिमालको काखैमा बसी
साराङकोट र फेवाताललाई राखौं
पिरतीको साक्षी ।
माझी दाईको साँखिने डुंगा चढी,
ताल बाराहीको फन्को मारौंला ।
थकाई लागे सुखदुःखका बात गर्दै
चिप्लेढूँगा–पिपलबोटको सितलमा बसौंला ।
हाँसीखुशी जाउँला हामी पुमदीक़ोट,
मनै हर्ने बुद्ध सान्ति दिप स्तुपा घुम्नलाई ।
थकाई लागे त्यो ठाडो उकाली पुमदीघुमदी चढ्दा,
दिउँला सहारा हातमा हात समाई एक अर्कालाई ।
यतै बसौं मायालु अब सानो घरजम गरेर,
नजाउँ कतै शुन्दर शहर पोखरा छोडेर ।
नजाउँ कतै माछापुछ्रे र अन्नपूर्णको आशिर्वाद त्यागेर,
जानु हुन्न रमलाइलो फेवा र कास्कीको काख छाडेर ।
मरी लानु के छ र यो जीवनमा ?
बसौं अब आवाजविहीनहरुको आवाज बनेर।
गर्जिउँ अब श्रमिकको बुलन्द आवाज बनेर।
गर्जिउँ अब श्रमिकको
बुलन्द आवाज बनेर ।
…..
जय कार्की
-चैत्र २८ गते २०७९ साल

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*